गम्भीर स्त्रीरोगका बिरामीले समेत पालो कुर्नुपर्छ प्रसूति गृहमा

गम्भीर स्त्रीरोगका बिरामीले समेत पालो कुर्नुपर्छ प्रसूति गृहमा

prasutiकाठमाडौं, १३ फागुन । सर्लाहीकी ४५ वर्षीया मनिया चौधरीलाई विगत छ/सात महिनादेखि पाठेघरको समस्याले सताएको थियो । महिनावारीको समयमा निकै रगत बग्ने र तल्लो पेट दुख्ने भएपछि उनले लालबन्दीको एउटा अस्पतालमा जाँच गराइन् । त्यहाँ उनको उपचार हुन नसकेपछि उनलाई काठमाडौँको प्रसूति गृहमा जान सिफारिस गरियो ।
उनले प्रसूति गृहका चिकित्सकले भनेबमोजिमका सम्पूर्ण जाँच गराइसकेपछि पाठेघर काम नलाग्ने भइसकेको थाह पाइन् । चिकित्सकले छिटोभन्दा छिटो पाठेघरको शल्यक्रिया गर्नुपर्ने बताए पनि कहिले शल्यक्रिया हुने हो भनेर समय भने तोक्न सकेनन् । बारम्बार जाँचका लागि आउनुपर्ने तर समय तोक्न नसक्दा उनको परिवार पनि दिक्क भइसकेको थियो ।
उनका देवर रामजीवन चौधरीले भन्नुभयो– “उताभन्दा राम्रो उपचार काठमाडौँमा हुन्छ भनेर ल्याइयो तर यता भने समय नै दिन गाह्रो मान्यो । हामी गरिब मान्छे, धेरै खर्च गरेर ठूलो निजी अस्पताल जान सक्दैनौँ । तर यहाँ कहिले हुने भन्ने टङु्गो पनि थिएन ।”
यस्तै गर्दागर्दै बल्ल १५/२० दिनपछि उनलाई अस्पताल भर्नाका लागि बोलाइयो ।  भर्ना गरिएको पनि एक हप्ता हुन लाग्दा बल्ल शल्यक्रिया गर्ने समय आयो ।
‘‘सर्लाहीबाट आउँदा जाँदाको खर्चको त के कुरो बस्नैलाई ठूलो समस्या छ । धन्न यहाँ बालाजुमा आफन्त थिए र बस्न पाइएको छ, नत्र त कसरी खर्च धान्न सक्नु र ?’’ देवर चौधरीले सुनाए ।
कारण बुझ्दै जाँदा अस्पतालमा धेरै बिरामीको चापका कारण उनलाई पालो प्रणालीअनुसार बोलाइएको रहेछ । उनको रोग हेर्दा जतिसक्दो चाँडो उपचार पाउनुपर्ने भए पनि बिरामीको चाप निकै भएकाले उनको पालो नआएको स्वास्थ्यकर्मीले बताए । अस्पतालको तथ्याङ्कअनुसार २०६५ सालअघिसम्म पनि दैनिक तीन/चार वटा प्रसूतिबाहेकका अन्य स्त्रीरोगको शल्यक्रिया हुने गरेको थियो भने त्यसयता दैनिक एउटा मात्र शल्यक्रिया हुने गरेको छ । जस्को कारण शल्यक्रिया गर्नुपर्ने स्त्रीरोग भएका महिलाले लामो समय कुर्नुपर्ने बाध्यता छ ।
परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा हाल दैनिक ७० वटासम्म सामान्य प्रसूति गराइने गरेको छ भने करिब २५ वटासम्म शल्यक्रियाद्वारा प्रसूति गराइँदै आएको छ ।
अस्पताल विकास समितिका सदस्य तथा अस्पतालको प्रशासन समेत हेर्दै आइरहनुभएको अमर अमात्य भन्नुहुन्छ– “प्रसूति गृहमा अन्य अस्पतालमा उपचार हुन नसक्ने खालका  महिलालाई उपचारका लागि ल्याउनुपर्नेमा सामान्य प्रसूति गराउन पनि यही ल्याउने गरिएको छ, जस्को कारण अस्पतालमा अन्य रोगका बिरामीले पालो कुनुपर्ने स्थिति छ ।”
विसं २०६५ देखि आमा सुरक्षा कार्यक्रम सञ्चालन भएकाले पनि बिरामीको सङ्ख्या यसरी बढेको उहाँको भनाइ छ । आमा सुरक्षा कार्यक्रमले अस्पतालमा प्रसूति गराएबापत दिइने रु एक हजार भत्ताका कारण यहाँ ल्याएर प्रसूति गराउने बढेका हुन्, उहाँ भन्नुहुन्छ– “प्रसूति गृह, सामान्य प्रसूति गराउन ल्याउने अस्पताल हैन, यहाँ त प्रसूतिमा गम्भीर समस्या भएकालाई ल्याउने ठाउँ हो तर आम मानिसमा के परेको छ भने गम्भीर समस्या पर्दा पनि आउनुपर्ने यही हो भने किन अगाडिदेखि नै यही किन नआउने ? त्यसैले पनि बिरामीको सङ्ख्या बढ्दो छ ।”
प्रसूति गृहजस्तो चाप बढि भएको अस्पतालमा आमा सुरक्षा कार्यक्रम लागू गर्न नहुने तर्क  उहाँले स्वास्थ्य मन्त्रालयको विभिन्न बैठकमा राखिसकेको भए पनि त्यसको कुनै प्रतिक्रिया नआएको  बताउनुभयो । सामान्य प्रसूतिकै लागि यहाँका जनशक्ति प्रयोग भइरहेका छन्, जस्को कारण अन्य स्त्रीरोगका गम्भीर बिरामीले पालो नपाएर रोग पालेर बस्नुपर्ने स्थिति छ । उहाँले भन्नुभयो– “पहिले उपचारका लागि भारतबाट समेत महिला आउने गर्थे, तर अहिले त पालो नपाउने गरेका कारण उनीहरु आउनै छाडेका छन् ।”
प्रसूतिबाहेक अन्य स्त्रीरोग उपचारका लागि तीन महिनासम्म पालो कुर्नुपर्ने उहाँको दाबी छ । अहिले नै तीन महिनाका लागि नाम लेखाइसकेका छन्, अब भन्नुस् गम्भीर प्रकृतिका रोगीले ऋण नै काटेर भए पनि निजी अस्पतालमा जानुको विकल्प केही छ त ? उहाँले आमा सुरक्षा कार्यक्रम लागू गरेकै कारण यो समस्या आएकाले अस्पतालबाट यो हटाउनुपर्ने तर्क राख्नुभयो ।
प्रसूति गृहमा हाल वार्षिक २४/२५ हजारको सङ्ख्यामा प्रसूति गराइँदै आएको छ । सरकारले सङ्ख्यात्मक रुपमा राम्रो प्रसूति सेवा दिइरहेको छ भनेर अरुलाई प्रगति विवरण देखाउनका प्रसूति गृहको प्रयोग गरिरहेको आरोप उहाँको छ ।
कुल ४१५ शय्या रहेको सो अस्पतालमा कहिल्यै पनि शय्या खाली नहुने गरेको अर्का स्वास्थ्यकर्मी सीता ठकुरी बताउनुहुन्छ । आफ्नो कार्यकालको ३० वर्ष भइसक्दा पनि बिरामी घटेको वा शय्या खाली भएको अहिलेसम्म नदेखेको उहाँले बताउनुभयो । दैनिक ८०÷९० जना भर्ना हुन आउने भएकाले पनि कहिल्यै पनि खाली हुँदैन बरु पालो प्रणालीअनुसार कुराउनुपर्ने अवस्था छ

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता