
विश्व प्रशिद्ध रुसी साहित्यकार लियो टाल्सटायले एक ठाउँमा लेखेका छन्- ‘उहिले सुनका पुजारी हुन्थे र तिनीहरुले बोक्ने कमन्डलु चाहिँ काठले बनेको हुन्थ्यो । अचेल पुजारीहरुले कमण्डलु सुनका बनाएका छन्, तर उनीहरु आफूचाँहि काठमा परिणत भएका छन् ।’ बाइबलबाट सापट लिइएको टाल्सटायको यो अभिव्यक्ति यतिबेला नेपालका एमाओवादी (वैद्य माओवादीसमेत) मा ठ्याक्कै लागू हुन थालेको छ । हिजो उनीहरुले लिएको विचार सुनौलो थियो र उनीहरु आफूचाहिँ सामान्य काठबाट बनेका थिए । आज एओवादी र माओवादीका नेता आफूहरु एकाएक सुनौलो बनेका छन् । तर, उनीहरुले लिएको विचार चाहिँ दिनानुदिन कु-काठमा परिणत भएको छ । आज १ सय २० औं माओजयन्तीका अवसरमा एमाओवादी नेता प्रचण्डले माओवादका योगदानहरुबाट सिकिरहने र यसलाई विकसित गर्दै अघि बढ्ने बताउनुभएको छ । चीनमा लकेट, टीशर्ट र सुनका मूर्तिका रुपमा प्रयोग भइरहेका माओ त्सेतुङको नाममा नेपालमा आफ्नो पार्टीको नाम ‘माओवादी’ ब्राण्ड झुन्ड्याउनुबाहेक -शायद यसमा चीनले पेटेन्ट राइट दाबी गरेको छैन) माओका विचार र व्यवहारहरु एमाओवादी/माओवादीले छाडिसकेको छ । प्रचण्डले महान् नेता माओ त्सेतुङबाट सिक्ने भनेको के के गर्ने हो ? माओले आफ्नो छोरालाई कोरियामा लड्न पठाएका थिए । भ्रष्टाचारको चरम विरोधी थिए माओ । बासीभात फालेको आरोपमा आफ्नो सहयोगीलाई अन्न कसरी फल्छ हेर्न जाऊ भन्दै कृषि पेशामा पठाएका थिए माओले । अनुशासनका आठ नियमका प्रतिपादक माओले जनताको सित्तैमा सियो पनि लिनु हुँदैन भनेका थिए । मुद्दा मिलाउने नाममा या पार्टी चलाउने नाममा दीपक मनाङ्गेले जसरी कमिसन उठाइखाने जत्था तयार पारेनन् माओले । घुसखोरी, कमिसनखोरी र भ्रष्टाचारविरुद्ध उनले ‘तीन खराबी विरोधी अभियान’ चलाए । युद्ध लडेका जनसेनाले टोकन मनीका रुपमा सरकारबाट पाएको चेक खोसेर कुम्ल्याउनुपर्छ भन्ने माओका कुनै पनि रचनासंग्रह या रातोकिताबमा लेखिएको थिएन । गर्भवती लडाकूबाट चेक खोस्न निर्देशन दिएनन् माओले । नीति, विचार र राजनीतिक लाइनका आधारमा त माओवादी/एमाओवादीले माओ त्सेतुङको बाटो छाडेकै हुन्, तर संस्कृति र व्यवहारमा पनि उनीहरुले माओलाई बिर्सिएर वीरप्पनको भन्दा पनि अनैतिक संस्कृति अपनाउन पुगे । अझै पनि केही एमाओवादी नेताहरु उनीहरुको नेतृत्वमाथि आलोचना गर्दा सर्वहाराको नेतृत्वमाथि प्रहार गर्न खोजेको भन्ने ठान्छन् । तर, उनीहरु के बुझ्दैनन् भने हिजोको सुनको पुजारी यतिबेला काठमा परिणत भइसकेको छ । माओत्सेतुङको योगदान भनेको नयाँ जनवादी क्रान्ति, दीर्घकालीन जनयुद्ध, छापामार युद्ध, पार्टी शुद्धीकरण, उपनिवेशवाद विरुद्ध सम्झौताहीन राष्ट्रवादी आन्दोलन र तीव्र आर्थिक विकास एवं श्रममा आधारित सादा जीवनशैली, सर्वहारा संस्कृति हो । माओले स्थापित गरेका यिनै विचार र संस्कृतिको जगमा चीनले यतिबेला विश्वमा आफूलाई उत्कृष्ट स्थानामा पुर्याएको हो । जग्गा दलालको जस्तो व्यवहार गरेर माओले चीनलाई यो स्थानमा पुर्याउन सम्भव थिएन । नेपालका माओवादीहरु यतिबेला सबैतिरबाट चर्को आलोचनाको शिकार भइरहेका छन् । अझ निर्वाचनमा पराजय ब्यहोरेपछि एमाओवादी र प्रचण्डलाई गोद्नेहरुको संख्या ह्वात्तै बढेको छ । तर, यति हुँदाहुँदै पनि एमाओवादी नेताहरुमा आफूलाई सुधार्ने र शुद्धीकरण हुने सम्भावना अहिलेसम्म देखिन सकेको छैन । उनीहरुले आफ्नो पराजयको कारण र आगामी गन्तव्य नै ठम्याउन सकेका छैनन् । माओले व्याख्या गरेको भन्दा पहिलेको विश्व परिस्थितिमा कयौं परिवर्तन आएको एमाओवादीको विश्लेषण छ । वैद्य माओवादीले न माओलाई हुबहु अवलम्बन गर्न सकेको छ, न आलोचना नै । किंकर्तव्यविमूढ छ वैद्य माओवादी । एमाओवादी त झनै माओलाई ‘राधे-राधे’ भनिरहने र माओवादको ब्राण्डनेम मात्रै झुन्ड्याउने पक्षमा पुगेको छ । माओका पालाको परिस्थितिमा परिवर्तन आए पनि विलासी राजनीति छाडेर सादगी राजनीति गर्दा मरेका माओले कसैलाई बहुरिएर गाली गर्दैनन् । नेपालजस्तो सानो देशको अर्थतन्त्र, समाज, राजनीति र संस्कृतिमा पर्न सक्ने साम्राँयवादी प्रभावबाट कसरी जोगिने भन्ने प्रश्नमा माओबाट अझै सिक्न सकिन्छ । भ्रष्टाचारको विरोधमा पनि माओका पालाको नीति थोत्रो भयो भन्न मिल्दैन । यत्ति हो, चीनमा जसरी ‘चिङकाङसाङ’ बनाएर फैलने दीर्घकालीन जनयुद्धको कार्यदिशा नेपालमा सम्भव भएन । तर, जनताको हितमा काम गर्न माओवादले कसैलाई रोक्दैन । माओवादले नव दलाल र नव समान्त वर्गमा रुपान्तरण होऊ भनेर कै भनेको छैन । माओबाट नसिक्ने तर उनको भजनमात्रै गाइरहने र माओवाद, माओवाद मात्रै भनिहने हो भने सुनको माओ त्सेतुङको मूर्ति बनाएर पेरिसडाँडा या बुद्धनगरमा राखे हुन्छ । र, त्यतिबेलासम्म प्रत्येक डिसेम्बर २६ मा क्रिसमसजस्तै माओ डे मनाइरहे हुन्छ, जतिबेलासम्म चीनले आफ्नो ब्रान्डमाथि दाबी गर्दैन ।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता