१६ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीभित्र सभासद छनोटको विषयलाई लिएर अध्यक्ष प्रचण्डसँग बरिष्ठ नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तीव्ररुपमा आक्रोशित बन्नुभएको छ । यसै विषयलाई लिएर बैठकमै नजानुभएका डा. बाबुराम भट्टराई र अध्यक्ष प्रचण्डवीच टेलिफोनमै केहीबेर चर्काचर्कीसमेत पर्यो ।
‘मापदण्ड एकातिर छ, तर मापदण्ड विपरीत कसले यस्तो सूची कसले बनायो ?’ टोपबहादुर रायमाझीले बैठकस्थलाट सानेपा पुर्याएको सूची हेर्दै डा. भट्टराईले प्रचण्डलाई फोनमा यस्तो प्रश्न सोध्दा प्रचण्डको जवाफ थियो, ‘कुन सूची ? त्यस्तो सूची कसले बनाया, मलाई त थाहै छैन ।’
प्रचण्डले सूचीबारे अनभित्रता प्रकट गरेपछि डा. भट्टराईले सोध्नुभयो, ‘यो पार्टीको अध्यक्ष को हो ?’ प्रचण्डले जवाफ दिनुभयो, ‘मै हुँ अध्यक्ष, मैले नै चलाएको हु पार्टी ।’ स्रोतका अनुसार त्यसपछि भट्टराईले आक्रोशित हुँदै प्रचण्डलाई भन्नुभयो, ‘उसोभए यस्तो सूचीबारे तपाईले अनभित्र छु भन्न मिल्दैन, मापदण्डलाई एकातिर थन्क्याएर हामीलाई पेल्न खोजेको हो भने आफूखुशी गर्नोस् हामी बैठकमा आउँदैनौं ।’
बाबुराम पक्षको असन्तुष्टि
सभासद छनोटमा प्रचण्डपक्षले मापदण्डविपरीत कार्य गरेको बाबुराम पक्षको गुनासो छ । ‘मापदण्ड एउटा भयो, व्यवहार अर्को भयो, प्रचण्डले सबैलाई पेलेर जान खोजेको देखियो’ सभासद छनोट प्रक्रियामा असन्तुष्ट एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने, ‘जितेको जिल्लामा नपार्ने भनिएको थियो, तर रुकुमलगायतका केही जिल्लामा आफ्ना मान्छेलाई पारिएको छ, कुनै जिल्ला खाली नराख्ने भनिएको थियो, अधिकांश जिल्ला खाली राखिएको छ ।
भट्टराईनिकट स्रोत भन्छन्, आफ्ना सभासद् परेनन् भन्ने यो कुनै सामान्य असन्तुष्टि मात्रै होइन, पार्टीलाई कस्तो बनाउने भन्ने प्रश्न हो । यस्तै तालले व्यक्तिगत ढंगले पार्टी हाँक्न खोज्ने हो भने प्रचण्डको काम गराईमाथि गम्भीर प्रश्न उठ्न सक्ने देखिएको छ ।
नारायणकाजी पक्षको असन्तुष्टि
एमाओवादीका अर्का बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि सोमबारको कार्यालय बैठकमा उपस्थित हुनुभएन । यसबारे जिज्ञासा राख्दा श्रेष्ठनिकट स्रोतले भन्यो, ‘कार्यालयबाट फोन आउँदा पनि उहाँ उपस्थित नहुनुभएको भन्ने प्रचार गलत हो, उहाँलाई प्रचण्ड पक्षले बैठकमै बोलाएन ।’
श्रेष्ठ पक्षधर एक नेताले अनलाइनखबरसँग भने, ‘उदाहरणका लागि काभ्रेका धावा लामा केन्द्रीय सदस्य पनि हुन्, पहिले सभासद वा मन्त्री बनेका पनि होइनन्, उनलाई बनाइएन । महोत्तरीमा कांग्रेसलाई टिकट दिने बेलामा प्रत्यक्षमा उठ्न नदिइएका लालेन्द्र मण्डल र कानूनविद् रामनारायाण विडारीबाहेक अरुलाई पारिएन ।’
नारायणकाजी श्रेष्ठले पनि डा. भट्टराईले जस्तै प्रचण्ड पक्षबाट मापदण्डविपरीत काम गरेको आरोप लगाउनुभएको स्रोतको भनाइ छ । ‘उनीहरुले दिने र हामीले लिने जस्तो भयो, यस्तो बेलामा पनि सबैलाई मिलाएर लानुपर्नेमा पेल्न खोज्ने ?’ नारायणकाजीको भनाइ उधृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो ।
अब के होला ?
डा. भट्टराई र श्रेष्ठको उपस्थितिविनै सोमबार निर्वाचन आयोगमा नामावली बुझाइएपछि मंगलबार शीर्ष नेताहरुवीच यसबारे छलफल हुने बताइएको छ । तर, आफ्नो पक्षका तीनजनामात्रै सभासद हुने हो भने प्रचण्डकै पछि किन लाग्नु, आफ्नो अलग्र्गै समूह बनाए पनि त्यति सभासद त जितिन्छ भन्ने विश्लेषण भट्टराई पक्षका केही नेताले गर्न थालेको एक केन्द्रीय सदस्यले बताए । उनले भने, ‘पार्टीमा देखिएको यो विवाद सामान्य पा पदीय झगडा होइन, यो पद्धतिसँग गाँसिएको गम्भीर विवाद हो ।’ स्रोतका अनुसार प्रचण्डले एकतर्फीरुपमा पेलेर जान लागेको भन्दै नारायणकाजी पक्षका नेताहरुले पनि अलग्गै छलफल शुरु गरेका छन् ।
जसले दबायो माओवादी, उसैले पायो भागी
एकीकृत नेकपा माओवादीले पूर्वप्रहरी प्रमुख रविन्द्रप्रताप शाहलाई समानुपातिकतर्फको सभासद बनाएको छ । ०६८ सालदेखि ०६९ सालसम्म प्रहरी प्रमुख रहनुभएका शाह माओवादी जनयुद्धकालमा डीआइजी रहनुभएका शाहले त्यसबेला एओवादी तह लगाउन धेरै ठूलो भूमिका खेल्नुभएको थियो । शाहकै यातनाका कारण माओवादी कार्यकर्ता रवि कार्की पागलजस्तै बनेको र पछि मरेको एमाओवादी नेताहरु बताउँछन् ।
‘एमालेले सभासद बनाएकी राज्यलक्ष्मी गोल्छाले जनयुद्धमा दमन गरेकी थिएनन्, शाह त गोल्छा भन्दा परका मान्छे हुन्’ एक एमाओवादी नेताले अनलाइनखबरसँग भने, ‘शाहले बेपत्ता बनाएका कार्यकर्ताहरुको हामी सूची खोजिरहेका छौं ।’
दोस्रो संविधानसभा चुनावमा एमाओवादी नेतृ कल्पना धमलाले चुनावमा खट्न धादिङ बोलाउँदा समानुपातितर्फका उम्मेद्वार शाहले हप्काएको चर्चा यतिबेला एमाओवादीभित्र व्यापक छ ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता