पाठेघरको शल्यक्रिया गर्दा मिर्गौला झिकियो


FFFधरान : बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानका चिकित्सकले एक किशोरीको पाठेघरको शल्यक्रिया गर्दा मिर्गौला नै झिकिदिएका छन्। सुनसरी पाँचकन्या-५ की १७ वर्षीया दिलकुमारी अधिकारी पाठेघरमा समस्या देखिएपछि उपचारका लागि पुस २२ गते प्रतिष्ठानमा आएकी थिइन्। चिकित्सककै सल्लाहमा तत्काल उनको भिडियो एक्सरे गरियो। पाठेघर र मिर्गौलाका बीचमा ट्युमर देखिएको भन्दै चिकित्सकले छिटो शल्यक्रिया गर्न सुझाउ दिएपछि पुस २३ गते उनको शल्यक्रिया गरिएको थियो।
तर चिकित्सकले ६ दिनपछिमात्र पाठेघरको शल्यक्रिया गर्ने क्रममा मिर्गौला झिक्नुपरेको जानकारी उनका आफन्तलाई दिएका थिए। दिलकुमारीको परिवारका सदस्यले भने चिकित्सकले लापरबाही गरी मिर्गौला झिकेको भन्दै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति माग गरी प्रतिष्ठान र इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका छन्।
दिलकुमारीकी आमा सावित्राले भनिन्, ‘६ दिनसम्म चिकित्सकले आफ्नो गल्ती लुकाए। पछि बाध्य भएर किड्नी झिक्नुपरेको बताए। डाक्टरको लापरबाहीले गर्दा नै यस्तो भएको हो।’
सावित्राका अनुसार गत शनिबार डा. शम्भु नवलले शल्यक्रिया गर्ने क्रममा दिलकुमारीको बायाँपट्टिको मिर्गौला झिकिएको जानकारी दिएका थिए। उनले भनिन्, ‘शल्यक्रियामा चिकित्सकले लापरबाही गर्दा उसको जीवन बरबाद भयो। यो लापरबाहीको पराकाष्ठा हो। छोरीको थप उपचार हुनुपर्छ। अस्पतालले क्षतिपूर्ति दिनुपर्छ।’ शल्यक्रिया गर्ने क्रममा मिर्गौला झिक्नुपर्ने अवस्था कसरी आयो भनेर चिकित्सक तथा अस्पतालले परिवारलाई केही जानकारी गराएका छैनन्।
पीडित पक्षका राजकुमार राईले लापरबाही गरी मिर्गौला निकाल्ने चिकित्सकलाई कडा कारबाही हुनुपर्ने बताए। ‘चिकित्सक आफैंले दिलकुमारीको मिर्गौला झिकिएको जानकारी गराएपछि उपचारमा गम्भीर लापरबाही भएको पुष्टि भएको छ’, उनले भने, ‘तर यति ठूलो गल्ती हुँदा पनि व्यवस्थापन पक्ष भने मौन छ। यो झन् रहस्यमय छ।’
प्रतिष्ठान शल्यक्रिया विभागका शम्भु नवल, बिर्खराज जोशी, अमित देव, एमडी तहमा अध्ययनरत विद्यार्थी (जुनियर रेसिडेन्ट) विनय तिम्सिना र प्रज्ञा साहसहितको टोली उनको शल्यक्रियामा सहभागी थियो।
प्रतिष्ठानका सहायक निर्देशक गुरु खनालले पीडित पक्षसँग सोमबार भएको छलफलमा यसबारे छानबिन प्रक्रिया अगाडि बढाउने मौखिक सहमति भएको जानकारी दिए। ‘दिलकुमारीको शल्यक्रिया गर्दा निस्केको ट्युमर हिस्टो बायोलोजीमा परीक्षण गर्न पठाइएकाले रिपोर्ट आएपछि मात्र धेरै कुरा खुल्छ’, उनले भने।
दिलकुमारीको उपचार गर्दा मिर्गौला झिकिएको प्रमाणित भए जिम्मेवार चिकित्सक लाई कारबाही हुने पनि खनालले बताए। शल्यक्रिया विभागका प्रमुख चन्द्रशेखर अग्रवालले भने चिकित्सकले उपचार गर्ने क्रममा कुनै लापरबाही नगरेको दाबी गरे।
इलाका प्रहरी कार्यालय धरानले घटनाबारे अनुसन्धान थालेको छ। प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले दिलकुमारीको शल्यक्रिया गर्ने क्रममा चिकित्सकले मिर्गौला झिकेको भनी उजुरी आएको र मेडिकल रिपोर्टका आधारमा कारबाही अघि बढाइने बताए। प्रतिष्ठानका उपकुलपति बलभद्रप्रसाद दासले घटनाबारे अनभिज्ञता प्रकट गरे।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता