अब मोहन बैद्यहरू झन बलियो हुन्छन्। -प्रा.डा.गंगाबहादुर थापा, राजनीतिशास्त्री,त्रि.वि

नेपालका राजनीतिक विश्लेषकहरू पछिल्लो समय फेल  खाईरहेका छन्। धेरैको विश्लेषण विपरीत २०७० को संविधानसभा निर्वाचनको परिणाम अप्रत्याशित रुपमा आयो, यस्तो  किन भयो होला? 
२०६४ सालको संविधानसभा निर्वाचनमा पनि यसरी नै प्रत्याशित नतिजा आएको थियो नि। त्यतिबेला एमाओवादीलाई तेस्रो पार्टीका रुपमा अनुमान गरेका थिए। अझ धेरैले त बढीमा २० सीट ल्याउने आंकलन गरेका थिए। त्यसको ठीक विपरीत नतिजा आयो। सबैभन्दा ठूलो पार्टी मात्रै भएन धेरै मतान्तर र सीट अन्तर पनि बढी  देखियो। अहिले पनि ठ्याक्कै त्यही भयो । धेरैले एमाओवादीलाई सीट संख्या घटाएर भएपनि पहिलो पार्टी हुन्छ होला भन्ने आंकलनलाई फेल खुवाईदियो। यसरी हेर्दा हामी राजनीतिको विश्लेषण गर्ने मानिसहरू स्थानीयस्तरमा नबुझि उनीहरूको आकांक्षा, चाहना, भोगाईहरूलाई नबुझीकन बोलिरहेका हुन्छौं कि जस्तो लाग्यो। अझ हामी प्रायोजित रुपमा पनि बोलिरहेका हुन्छौं कि भन्ने पनि देखियो।

० तपाईले एमाओवादीको यो हदसम्मको कम सीट ल्याउला भन्ने अनुमान गर्नुभएको थियो?
–सोचेकै थिएन। पहिलो निर्वाचनमा पनि मैंले त्यस्तो परिणाम सोचेको थिइन। अहिले पनि सोचेको थिइन। यो पटकको नतिजाले हामीलाई अलिक गम्भीर भएर राजनीतिक विश्लेषण गर्न दबाब दिएको छ। अर्थात हामीले राजनीतिक विश्लेषण गर्न जानेका पनि रहेनछौं। जनताको मनोभावना नै नबुझी सहरिया विश्लेष्ण गर्ने गरेका रहेछौं भन्नुपर्ने भयो। जनताले वास्तवमा आपराधिक क्रियाकलाप, असहिष्णु वानीव्यहोरा, अराजकता, असभ्यपनलाई साँच्चिकै स्वीकार गर्दैनन् भन्ने प्रमाणका रुपमा पनि अहिलको निर्वाचन परिणामले देखाएको छ। जनताले त्यो कुरालाई मतदानबाट अस्वीकृत गरे भनेर पनि भन्नुपर्छ। त्यसकारण अहिले जसरी जनताले मतदान गरे धेरै राम्राे गरे। जनता त हामीले सोचेभन्दा बढी विवेक प्रयोग गर्दा रहेछन्।

० अहिलेको मतदानबाट आएको मुख्य सन्देश राजनीतिक परिवर्तन भन्दा बढी के हुन सक्छ?
–यसलाई राजनीतिकसंगै जोड्न सकिन्छ र जोड्दा राम्राे होला। नेपाल दुईवटा पार्टी सिष्टमबाट अगाडि जानुपर्छ भन्ने एउटा सन्देश दिएका छन्। एउटा राईटिष्ट अर्को लेफ्टिस्ट पार्टीका रुपमा। अर्थातमा बीचमा रहने भुरेटाकुरे र अवसरको खोजीमा लागिरहने राजनीतिक दल हुनुहुदैन भन्ने मुख्य सन्देश हो। त्यसैमा जोडिने भनेको क्षेत्रीय दलहरू पनि नेपालमा आवश्यक छैन भन्ने अर्को सन्देश हो। जसरी मधेशीको नाममा क्षेत्रीय दलहरू थिए उनीहरूलाई त्यहीँका जनताले अस्वीकृत गरिदिए। विस्थापित गराउनतिर लागे। अन्ततोगत्वा यसको मुख्य सन्देश भनेको राजनीतिक स्थिरता खोजेको हो।

० तर, एमाओवादीले परिवर्तनकारीलाई नियोजित रुपमा पराजय गराउने काम भयो भन्यो, यो कुरालाई कसरी लिनु भएको छ  
–होइन। अहिलेको मतपरिणामले एमाओवादीका व्यवहार र उसको राजनीतिक दर्शन पनि जनताले राम्रोसंग हेरे जस्तो लाग्छ। उसले ल्याएका राजनीतिक एजेण्डा समाजलाई भड्काउने खालका थिए। विभाजन गर्ने थिए।त्यसबाट जनता मुक्ति चाहन्छन। परिवर्तनका नाममा जनताले हाम्रो समाजको विखण्डन चाहेका छैनन्। यसरी भन्दा जनताले विस्तारै परिवर्तन चाहेको देखियो। एकै रातमा परिवर्तन गर्ने एमाओवादीको नारा र रवैयालाई नरुचाएको रुपमा हेनुपर्छ। समाजिक परिवर्तन गर्न बर्षौं लाग्छ। तर एमाओवादीले रातारात परिवर्तनका नाममा समाजमा विग्रह ल्याउने काम गर्यो । त्यसले गर्दा जनताले समाजिक संम्बन्धको धागो चुँडिन दिनुहुदैन भनेर परिवर्तन विस्तारै गर्नुपर्छ भन्ने सन्देश दिएका छन्।

० एमाओवादीकै कुरा गर्दा खहरे खोलाजस्तो भयो, ह्वात्तै आयो, स्वात्तै सुकिहाल्यो, यसो हुनुमा मूलमै समस्या हो त? 
–मुख्य कुरा चाहिं एमाओवादीको मूलमै समस्या छ। अर्थात विचारधारामै समस्या छ। अहिलेको विश्व परिवेशवमा उसले लिएको शासन व्यवस्था जनताले रुचाउन संभव छैन। त्यो कुरा एमाओवादीले बुझ्न सकेको छैन। त्यहीँबाट सुरु भएको ओरालो लाग्ने क्रम उसले बीचबीचमा लिएका अडान र राजनीतिक नारा र मुद्दा पनि हुन्। उसको संगठनमा भएको कमजोरी, विभाजन, जीवनशैलीलगायतका कारणहरू पनि हुन्, जसलाई उनीहरूले समस्याका रुपमा हेरेरनन्/देखेनन्। जनताले यो कुरा सहन सकेन। अहिले एमाओवादी जनताबाट पुरै टाढिएको छ। जनसम्बन्ध छैन। सहरबासी भएका छन्। यस्तो प्रवृत्तिलाई घटिया सर्वहारा भनिन्छ। एमाओवादीमा त्यो देखियो। त्यसले जनतालाई स्वभाविक रुपमा चिढ्याउने काम गर्छ ।

० यिनै कुरालाई पराजयको प्रमुख कारण मान्ने कि? अरु पनि कारण देख्नु हुन्छ? 
–अरु पनि थप्रै कारण छन्। प्रमुख कारण मध्येकै, उनीहरूले आफ्नै मान्छेलाई साथमा राख्न पनि सकेनन्। पार्टी विभाजन भयो। जसले युद्धमा साथ दिएर आएको थियो त्यो व्यक्तिले साथ दिएन/पाएन। तर, चैतेहरूको घेराबन्दीमा बसेर नेतृत्वले निर्णय लिन थाल्यो। अस्तव्यस्त भएको संगठन, नेतृत्वको विलासिता र कचिगंलले एमाओवादीका कार्यकर्ता स्वभाविक रुपमा रुष्ट थिए। त्यो कुरा हवाईजहाजमा उडेर गरिने चुनाव प्रचारबाट बुझ्न सकिदैनथ्यो। हिजो बडा महारानी ऐश्वर्य (पम्फादेवी)को भड्किलो जीवनशैलीको नेेपाली महिलाहरूले विरोध गरेकै हुन्। गिरिजापुत्री सुजाताको विरोध गरेकै हुन्। अनि अहिले प्रचण्ड परिवारको भड्किलो जीवनशैलीलाई किन स्वीकार्छ नेपाली समाजले? त्यो संभव थिएन। त्यही कारण काठमाडौं उपत्ययकाबाट एमाओवादी पूरै विस्थापित भयो।

० उसको राजनीतिक मुद्दाको पराजयको कारण हो कि होइन? 
–यो मुख्य कुरा हो, मध्यम वर्गका लागि। युवा पुस्ता र सहरबासी मध्यवर्गका लागि एमाओवादीले वितृष्णा सिर्जना गर्ने नारा बोक्यो। समाजको तल्लो वर्गका कुरा पनि छोड्यो। क्लासको राजनीतिबाट काष्टको राजनीतिमा गयो। यो नै उसको हारको सबैभन्दा ठूलो कारण हो । जातीय, क्षेत्रीय र धार्मिक नारा उचालेर समाजलाई विवादमा ल्यायो। विभाजनको डिलमा पुर्यायो। त्यसबाट मानिसहरू मुक्ति चाहन्थे। समाजमा मिलेर बस्न चाहन्थे। त्यो कुरा एमाओवादीले बुझ्न सकेन । नेपालमा कुनै जातिमाथि कसैले नामेट बनाउन चाहेको छैन, गर्न सक्दैन। नेपालीको बानी पनि छैन। त्यसो हुन्थ्यो भने नेपालमा १२१ भन्दा बढी जातजाति र १२८ भन्दा बढी भाषाभाषी कसरी अहिलेसम्म मिलेर रहन संभव थियो? केही विभेद भएको छ। अवसर पुगेको छैन। त्यसको अर्थ राज्य दिनुपर्छ भन्ने त होइन नि। त्यसका लागि दण्डका रुपमा पनि अहिलेको परिणामलाई हेर्न सकिन्छ । उसले राष्ट्रियताको मुद्दामा गम्भीर अपराध गर्यो। नेपालको सीमा विवाद जनमत संग्रह गर्ने भन्यो। विमानस्थल बेच्न खोज्यो। यसलाई जनताले बुझेका छन्। भारतसँग जसरी दलाली गर्दै पाखण्ड देखायो त्यसको परिणाम पनि हो। कांग्रेस, एमालेले जति राष्ट्रघात गरियो भनियो त्यो भन्दा गम्भीर राष्ट्रघात गर्यो्।

 ० तराईका दलहरू नै विस्थापित हुने अवस्था सिर्जना हुने गरी तपाईले भनेजस्तो सैद्धान्तिकीकरण गरेर मतदान गरेका होलान र?
–राजनीतिशास्त्रमा जनताले सिद्धान्त हेर्दैन, आफ्नो दैनिक जीवन र सरोकारको विषय हेर्छ भनिन्छ। र, अहिले त्यही हेरेको हो। एमाओवादी र तराईका दलहरू यो बीचमा सरकारमा बस्ने र समाजलाई विखण्डन गराउने काम बाहेक के गरे? जनजातिलाई सडक कब्जा गर भनेर प्रचण्डले उचालेकै हुन् नि। त्यही कारणले संविधान बन्न  सकेन। मधेशी दलहरूले तराईबाट पहाडियालाई लखेटे। यी दुई वटा कुरालाई हेर्दा पनि जनताले सुरक्षा पाएनन्। त्यही सुरक्षाको ग्यारेन्टीका लागि जनताले यी दुवै दल उपयुक्त छैनन् भन्ने ठाने।

० साथको थपिएको वितृष्णाको मत पनि हो?
–पहिला पनि एमाओवादी र मधेशी दललाई जनताले लोयल भएर मत हालेका होइनन्। त्रासको बीचमा आश गरेर मत हालेका थिए। अहिले त्यो त्रासबाट मुक्ति पाउन मत हालेका हुन्।

० एमाओवादीले जातीय विभेदको अन्त्यको कुरा गरेको छ। त्यसलाई कसरी गलत भन्न मिल्छ र? 
–जातीय विभेदको अन्त्य गर्ने कुरामा सबै सहमत छन्। उनीहरूलाई अवसर सिर्जना गरिदिनुपर्छ। तर, यहाँ त समाज नै विखण्डन गर्ने कुरा आयो। संघीयताको कुरामा राजनीतिक दलले प्रष्ट कुरा राख्न सकेनन्। उनीहरू एकैचोटी नाममा गए। र, जातीय राज्यको कुरा गर्न थाले। संघीयता भनेको स्थानीयस्तरमा अधिकार प्रत्यायोजन गर्ने प्रणाली हो भन्ने कुरा नै जनतालाई बुझाएनन्। उनीहरूले त सीधै राज्य जातीय हुने कि नहुने भनेर विवाद गरे। त्यसकारण यो लिडरसीपको क्षमताको फेल हो।

० एमाओवादीले अहिले भनेजस्तै संविधानसभामा गएन भने के हुन्छ?
–केही हुदैन।  एमाओवादी संविधानसभामा नगएर कहाँ जान्छ? त्यसको विकल्प पनि हुनुपर्योस नि। ऊ फेरि जंगल जान सक्छ? आन्दोलन गर्न सक्छ? केही गर्न सक्दैन। जनमतलाई स्वीकार गर्नुको विकल्प छैन। राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिले पनि एमाओवादी यहाँभन्दा बाहिर जान सक्दैन। अहिले पनि त करिब १०० सीटको हाराहारीमा सविधानसभामा जान सक्छ। त्यो पनि ठूलो उपस्थिति हो। अहिलेको प्रचण्डको अभिव्यक्ति भनेको हीनता, हतास निकम्मा शैलीको हो। यसरी राजनेता भइँदैन। यसले त ऊ लोकतन्त्रप्रति प्रतिबद्ध छैन भन्ने देखाइदियो।

० त्यसो हो भने मोहन वैद्यहरू ठीक हुन त?
–अब बैद्यहरू झन बलिलो हुन्छन्। भारतले एमाओवादीलाई साइजमा ल्याउन चाहेको थियो। त्यो सफल भयो। वैद्यहरूलाई संविधानसभाबाहिर राख्ने काम भारतले नै गरेको हो। विगतमा कांग्रेसका महन्थ ठाकुरहरूलाई निकालेको भारतले नै हो। एमालेलाई पनि फुटाएकै हो। त्यसकारण एमाओवादी फूट पनि भारतबाट अलग गरेर हेर्न मिल्दैन। प्रचण्डको पाखण्डीलाई भारतले क्यास गरेको हो। नत्र पछिल्लो पटक त वैद्यहरूले माग नै के रोखका थिए र संविधानसभामा सहभागी हुनलाई।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता