मोबाइल रेकर्डबाट एसएलसी तयारी

बारा : प्रवेशिका (एसएलसी) परीक्षाको तयारीमा जुटेकी डुमरवानाकी दृष्टिविहीन संगीता अधिकारी अचेल एकैछिन पनि मोबाइल फोन छोड्दिनन्। प्रवेशिका परीक्षा नजिक आइसक्दा पनि ब्रेललिपि पुस्तक नपाइएपछि उनी मोबाइल रेकर्ड सुनेरै परीक्षाको तयारी गरिरहेकी छन्। डुमरवानास्थित नेपाल राष्ट्रिय उच्चमाविकी छात्रा अधिकारीमात्र होइन, चैत ६ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षाको तयारीमा रहेका यहाँका अरू दृष्टिविहीन पनि ब्रेललिपिका पुस्तक उपलब्ध नभएपछि यस्तै उपाय खोज्न बाध्य छन्। अधिकारीले एेच्छिक विषय अर्थशास्त्र र लेखाको ब्रेललिपि पुस्तक पाएकी छैनन्।

मोबाइल रेकर्ड सुन्दै संगीता अधिकारी
 'पुस्तक नपाएपछि कक्षाका साथीलाई उनीहरूको पुस्तक पढ्न लगाएर मोबाइलमा रेकर्ड गर्ने गरेकी छु', अधिकारीले भनिन्, 'त्यही रेकर्ड सुनेर परीक्षाको तयारी भइरहेको छ।' पुस्तक नहुँदा पढ्न कठिन भइरहेको पनि उनले बताइन्। मोबाइलमा गरिएको रेकर्ड र साथीलाई पढ्न लगाएर लेखेका भरमा गरिएको तयारी पर्याप्त नहुने उनको दुखेसो छ। दृष्टिविहीन अधिकारीलाई सहयोग गर्दै आएकी विद्यालयकी छात्रा सलिना थापाले ब्रेललिपिका पुस्तक नहुँदा उनलाई समस्या परिरहेको बताइन्। 

सलिनाले भनिन्, 'त्यसैले पुस्तक पढेर मोबाइलमा रेकर्ड गरिदिने गरेका छौं।' डुमरवानास्थित जनता उच्चमाविका दृष्टिविहीन छात्र उमेश चौधरीले पनि मोबाइललाई नै पुस्तक बनाएर परीक्षाको तयारी गरिरहेका छन्। उनलाई पनि साथीहरूले मोबाइलमा पुस्तक रेकर्ड गरिदिएका छन्। 'अघिल्लो वर्षका छात्रछात्राले पनि यसरी नै तयारी गरेका हुन्', चौधरीले भने, 'हामीसँग पनि विकल्प छैन। रेकर्डबाटै तयारी भइरहेको छ।' आफूहरूको समस्याबारे सम्बन्धित निकायबाट वास्ता नभएको चौधरीले बताए। उक्त उमाविमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीले पनि ब्रेललिपि पाएका छैनन्। कक्षा १२ मा अध्ययनरत बैकुण्ठ पौडेलले पाठ्यक्रमअनुसारका कुनै पनि पुस्तक आफूहरूले नपाएको बताए। मोबाइल र सीडीमा गरिएको रेकर्डको भरमा परीक्षाको तयारी गरिरहेको उनले बताए। नेत्रहीन संघ बाराका अध्यक्ष कृष्ण तिमिल्सिनाले शिक्षा विभागले समयमै पुस्तक उपलब्ध गराउने विषयमा चासो नदेखाउँदा यस्तो समस्या आएको अन्नपूर्णपोस्टमा खबर छ । 

नेपाल राष्ट्रिय उच्चमाविका शिक्षकसमेत रहेका तिमिल्सिनाले सम्बन्धित निकायमा पटकपटक ब्रेललिपिका पुस्तकका लागि आग्रह गर्दा पनि बेवास्ता भएको गुनासो गरे। 'परीक्षा आउँदैछ। पुस्तक चाहिन्छ भन्ने सबैलाई थाहा छ', उनले भने, 'तर परीक्षार्थीले पुस्तक नपाउने समस्या हरेक वर्ष दोहोरिने गरेको छ।' शिक्षा विभागले गम्भीर भएर दृष्टिविहीन विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने उनले बताए।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता