मृत्युसँग साक्षात्कार

saru-josi


saru-josi
पशुपतिमा एकजोडी दुलहा-दुलहीको लास विवाहकै लुगामा सुतिरहेको थियो । कस्तो नियति, विवाहको भोज सकेर र्फकंदा कार बिजुलीको खम्बामा ठोक्किएर एकसाथ दुवैले देहत्याग गरेछन् । यस दृश्यले म मृत्युबारे सोच्दै भिन्नाभिन्नै मृत्युको अनुभव, भोगाइ र साक्षात्कारलाई एक ठाउँमा राखेर साङ्गोपाङ्ग समीक्षा गर्न पुगेँ ।
कीर्तिपुरमा युनिभर्सिटी पढ्दा मेरी एक साथीकी दिदी, जो असाध्यै सुन्दर थिइन्, उनलाई क्यान्सर भएको थियो । दुई छोराकी आमा ती दिदीलाई जब आफू बाँच्दिन भन्ने थाहा भयो, उनले मृत्युलाई साक्षात्कार गर्न अभूतपूर्व परिपक्वता प्रदर्शन गरिन् । उनलाई आफूबिना श्रीमान र दुई छोराको जिन्दगी कसरी चल्ला भन्ने लागेछ र एक उमेर पुगेकी तर विवाह नभएकी महिला, जो विवाह गर्न इच्छुक थिइन्, सँग श्रीमानको विवाहको कुरा चलाइन् । दिदीले परिवारलाई ती महिला किन उनीहरूको घरमा, उनीहरूको जिन्दगीमा आउन जरुरी छ भनी सम्झाइछिन् । ती दुई छोरा साक्षात् आफ्नी आमाको उपस्थितिमा उनको मृत्यु अनि नयाँ आमाको आगमनलाई सोच्न एवं स्वीकार गर्न तयार भएनन् । पछि विस्तारै क्यान्सरको यथार्थ र आमाको निर्णयलाई स्वीकार्न उनीहरू बाध्य भए । ती दिदीले नवदुलहीलाई आफ्नै हातले गहनाको, लुगाको व्यवस्था गरिन् । उनले श्रीमानको विवाहको लमीको काममात्र गरिनन्, विवाहमा दुलहाले लगाउने लुगा, बस्ने कोठाको व्यवस्थासमेत मिलाइन् । आफ्ना सामान, फोटो, लुगाफाटा विस्तारै कोठाबाट हटाइन्, ताकि नवआगन्तुक दुलहीले पनि आफ्नालागि स्थान पाउन सकुन् । अन्त्यमा आफ्नो मृत्यु हुुँदा चाहिने पिताम्बर, तुलसीदेखि दान गर्ने, पुराण लगाउने सबै सामानको व्यवस्था गरी उनले देहत्याग गरिन् ।
हामी युनिभर्सिटी पढ्दा साथीबाट यी कुराको दैनिकी सधैं सुन्दै रुने गथ्र्यौं । डा. चन्द्रा भद्राको बुबा बित्नुभएको ताका उहाँ यस्तै अनुभव सुनाउनुु हुन्थ्यो । आप्fm्नो अन्तिम अवस्था थाहा पाएपछि मृत्युअघि नै उहाँले चेक काटेर पैसाको चाँजोपाँजो मिलाउनुभएको थियो रे । बुबाले कतिजति मलामी हुन्छन्, १३ दिनसम्म मानिस आउँदा कसरी चाँजोपाँजो मिलाउने, कता पाल टाङ्ने, के-के खानेकुरा बनाउने, कसरी तातो खाना खुवाउने भन्नेसम्म खाका कोरेर जानुभएको रहेछ । उहाँले बारम्बार आफ्ना छोराछोरीलाई 'म संसारको सबैभन्दा भाग्यशाली र खुसी मान्छे भएर मर्दैछु, किनभने मलाई तिमीहरूले सधैं खुसी दिएका छौ' भन्नुहुन्थ्यो रे । आफू बित्नुभन्दा पाँच दिनअघि घरमा भएका सबै छोराछोरीलाई बोलाएर 'अब मेरो जाने दिन आयो, जसरी तिमीहरू अहिलेसम्म मिलेर बसेका छौ, त्यसरी नै मिलेर बस्नु' भन्नुभएछ र टाढा भएका छोरी, बहिनी र भाइसँग टेलिफोनबाट बिदा माग्नुभएको रहेछ । मृत्यु हुने दिन 'आज मलाई जानुपर्छ, अलिक चाँडो तयार पारिदेऊ' भनेर बिहान पाँचै बजे सधैंझैं सफा लुगा लगाउनुभएछ र तयार भएको
दुई घन्टा नबित्दै उहाँ बित्नुभएछ ।
मेरी फुपूकी छोरी श्रद्धा, विवाहको एक वर्षभित्रै बिरामी परिन् । दुलही भएर सजिएर हिँड्ने रहरै नपुगी उनलाई क्यान्सर भयो । उनको अवस्थाले सिर्जना भएको उकुस-मुकुस अझै बाँकी छ, ममा । श्रद्धालाई हरेकपल्ट भेट्दा सकेसम्म उनको साहस बढाउने कोसिस गर्थें । खाने रहर, लाउने रहर, महिलाका लागि काम गर्ने रहर, श्रीमानसँग बस्ने रहर । रहरै-रहर बोकेकी श्रद्धालाई प्रतिदिन मृत्यु नजिक गइरहेको टुलुटुलु हेरिरहेंँ मैले । उनी पनि ठीक भएर अफिस जान्छु भन्ने झुटो आश्वासन आफंैलाई र हामी सबैलाई दिइरहन्थिन् । मर्न सबैले पर्छ, तर उनको अन्त्य अत्यन्तै सम्मानजनक रह्यो । श्रद्धाका श्रीमानले अन्तिम क्षणसम्म आफ्नो सर्ट तानेर श्रद्धाको मुखबाट घाम छेलिदिएकोे, टिस्यु पेपरले क्षण-क्षणमा मुख पुछिदिएको
देख्दा मलाई श्रद्धाले त्यसै श्रीमानको प्रशंसा गरेको होइन रहेछ जस्तो लाग्यो ।
काम छाडिसकेकी श्रद्धालाई लिली थापा र उहाँको संस्थाले रोगबारे थाहा पाउनासाथ पुनः नियुुक्ति पत्र दिएको थियो । श्रद्धाकी दिदी सुरेखा र मेरी फुपूको परिवारलाई 'डुबतेको तिनकेका सहारा'जस्तै भयो यो सहयोग । पछि अफिसले श्रद्धाको नाममा एक छात्रवृत्ति नै स्थापित गर्‍यो । लिलीजीले आफ्नो संस्थामार्फत जे गर्नुभयो, त्यो सदाशयता थियो । तर अन्य अफिसले यस्तो कुरालाई आप्fm्ना कार्ययोजनामा समेट्दा त्यस संस्थाको मानवीय सूचक उपल्लो दर्जामा जाँदो रहेछ भन्ने मनमा लागिरहेको छ ।
जन्म र मृत्यु हाम्रो जीवनको अन्तिम सत्य हो,
तापनि हामी जन्ममा खुसी हुन्छौं र मृत्युमा दुःखी ।
मृत्यु हाम्रालागि अत्यन्त नरुचाइएको विषय हो । हामी
सबै आ-आफ्ना जीवनमा कति व्यस्त छौं भने हामी
बिर्सन्छौं कि मृत्युको सामना सबैले गर्नै पर्नेछ । हामीलेे मृत्युञ्जय पाएका छैनौं वा हामी सधैं यस्तै अवस्थामै रहिरहने छैनौं ।
डा.गणेश गुरुङ एकताका भन्नुहुन्थ्यो- एक जापानिज सधैं राम्रो कफिन बजारमा खोजिरहन्थे रेे । किन, कसका लागि खोजेको भनी सोध्दा उनले आफ्नैलागि राम्रो कफिन किनेर छाडिराख्न चाहन्छु भन्दारहेछन् । मर्नु अघि आफ्नो छनोटको कफिन छान्न चाहन्ाु, म सधैंका लागि सुत्नुपर्ने ठाउँ अरूले किने भने कस्तो किन्छन् भन्ने सुन्दा अलि अचम्म लाग्छ । तर केही देशमा मृत्युलाई स्वीकारिन्छ, सहज सम्झिइन्छ र व्यवस्थापन गरिन्छ । जसरी मानिस सृष्टिमा आउँदा यसलाई हर्षको रूपमा लिइन्छ, त्यसरी नै मानिस मर्दा सहज पर्वका रूपमा लिइनुपर्छ भन्ने विचारकोे विकास हुँदैछ । यस पर्वलाई सम्झनलायक बनाउने फूल, शृङगार, कफिन, कर्मकाण्डको व्यवसाय संस्थागत हुनथालेको छ । हाम्रो पूर्वीय संस्कृतिमा मर्यादित मृत्युको परिकल्पना
गरिएको छ । पश्चिमी संस्कृतिमा जीवनपछि मृत्यु अन्त्य
हो । जबकि मृत्यु हाम्रालागि एक चोलाको अन्त्य हो । र जीवन फेरि-फेरि आइरहन्छ । त्यसैले त सहजसँग भन्ने गर्छौं, 'यस जुनीमा नभेटे पनि अर्को जुनीमा भेटौंला ।'
हामीकहाँ 'डेथ विथडिग्निटी'को प्रयोग भएको पाइन्छ । जस्तै, मर्नुअघि आफैंले दसदान गर्ने, घाट लैजाने, गायत्रीमन्त्र सुनाउनेे । हामी 'कर्म'मा विश्वास गछौर्ं, जहाँ मानिसले कर्ताको रूपमा आफ्नो अर्को जुनीलाई सहज र असहज बनाउन सक्छ भन्ने विश्वास गछौर्ं । 'कर्म' शब्दको प्रयोग त पश्चिमाहरूले पनि गर्न सिकेका छन्, तर उनीहरूको निम्ति कर्म भनेको 'भाग्य वा नियति' हो भने हाम्रानिम्ति कर्म भनेको क्रियाशीलता हो, जसमा हामी स्वयम् आफ्नो भाग्य कोर्ने कर्ता हौं, नकि भगवानले
दिएको नियतिको बहन गर्ने निरीह व्यक्ति ।
हिजोआज कतिपय देशमा मृत्युका विषयमा मनोविज्ञान विषयभित्र 'डेथ एन्ड डाइङ' भनेर पढाइन्छ । दक्षिण कोरियामा त मृत्युको 'मोक सेसन' वा 'रिहर्सल' गरिन्छ, जसमा जिउँदो मान्छेलाई लासजस्तो बनाएर १० मिनेट काठको बाकसभित्र राखिन्छ र अन्त्येष्टि समारोहजस्तै
गरिन्छ । यो रिहर्सलपछि कतिले अचानक मृत्युको मुखमा गएर फर्केको अनि बाँकी जीवन जिउने सोचमा परिवर्तन आएको बताएका छन् । मलाई लाग्छ- यसले मृत्युलाई एक चाडजसरी स्वीकार्ने बनाउन, यसको त्रास कम गराउन मद्दत मिल्छ । सायद नेपालमा पनि व्यक्तिगत रूपमा आँखादान, सम्पत्तिदान, शरीरदान जस्ता भएका फाट्टफुट्ट पहललाई संस्थागत गर्नुपर्छ कि ? किनभने हामी सबै चाहन्छौं- हाम्रो अन्तिम पल त्रासदीपूर्ण नहोस्, सके सुखद, शान्त र सम्मानजनक होस् ।
-

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता