समाजसेवा भित्रको छद्म पाटो

समाज सेवा भन्ने वित्तिकै समाजको सेवा वा सामाजिक कार्य भन्ने बुझिन्छ । हरेक सामाजिक काममा समाजका रहेका व्यक्तिको उपस्थिति रहन्छ । सिंगो समाज सही दिशामा अगाडि हिँडाउनका लागि जिम्मेवार सामाजिक व्यत्विको जरुरत पर्दछ । एउटा असल सामाजिक व्यक्तित्वले नेतृत्व प्रदान गरेको समाज स्वच्छ, भ्रष्टाचारमुक्त र विकासका हिसावले समेत धेरै अगाडि बढेको हुन्छ । पछिल्लो समयमा सामाजिक सेवामा लगाव राख्ने व्यक्तिहरु, समाजको हरेक कार्यमा आफूलाई उभ्याउन खोज्नेहरु सामाजिक अगुवाका रुपमा आफूलाई स्थापित गराउन तँछाडमछाड गरिरहेको पाइन्छ । राजनीतिक दलका कार्ड फ्याँकेर होस् वा कुनै न कुनै संगठन, संजाल वा समूह गठन गरेर किन नहोस् सामाजिक सेवामा लागेकाहरुको भिड नै बढेको छ यतिबेला । के साँच्चै समाज सेवाका लागि समर्पित छ त प्रत्येक भिड ? के साँच्चै सामाजिक मूल्य, मान्यता र चरित्र बोकेकाहरुले ओगटेका छन् त सामाजिक नेतृत्व ? यो पाटो भने प्रायः छद्मरुपमै रहने गरेको छ । समाजमा हरेक प्रायः मानिसहरु धेरथोर सामाजिक हुन्छन् र आफूलाई सामाजिक कार्यमा सरिक गराउन चाहन्छन् । आफ्नो पारिवारिक अवस्था, सरकारी जागिर लगायतका बाध्यताले पनि कतिपय मानिसहरु समाज सेवामा लाग्ने उच्च मनोकांक्षा भएपनि हरेक सामाजिक कार्यमा आफूलाई समाहित गराउन सकिरहेका हुँदैनन् । समाज सेवामा लागिरहेका हरेक व्यक्तिहरुले साँच्चै समाज सेवा गरिरहेका छन् कि छैनन् ? उनीहरुको सामाजिक चरित्र छ कि छैन ? समाजमा मिलेर र समाजलाई अघि बढाउने दिशामा उनीहरुको सकारात्मक सोच हो कि होइन ? र उनीहरुको देखाउने दाँत एउटा र चपाउने दाँत र्को  छ कि छैन ? यो विषय पछिल्लो समयका युवाहरुमाझ चर्चाको विषय हुने गरेको छ । दुईचार जना युवा हुँदा होस् वा चिया गफ किन नहुन् ? सामाजिक नेतृत्व गररहेकाहरले खेलेको भूमिका र उनीहरुले देखाएको चरित्र यतिबेला वहसको विषय बन्न थालेको छ । यतिबेला सबै समाजका व्यक्तित्वहरु पुरै निरक्षर छैनन्, पुरै अन्धभक्त र पुरै समाजप्रति अनभिज्ञ छैनन् । हिजो बाउबाजेको पालामा आँखा चिम्लेर ल्याप्चे लगाउने जमानाको पुरै अन्त्य भइसकेकाले छद्म रुपमा समाजसेवाभित्र बेइमानी गर्नेहरु क्रमशः नबाहिरिई सुखै छैन । सामाजिक क्षेत्रभित्रको बढ्दो राजनीतिकरणका कारण पनि त्यस्ता कामचोहरुले धेरै अवसर पाएका हुन सक्छन् । आप्m्नो पार्टीप्रति आस्था राखेकै आधारमा अयोग्यलाई पनि योग्य देख्ने पार्टीगत सिष्टमकै कारण सामाजिक क्षेत्रभित्र थप विकृति बढेको हो । गाउँ विकास समितिका हरेक विकास निर्माण कार्यहरु हुन् वा सामाजिक तथा परोपकारी कार्य किन नहुन् ? आफ्नो फेवरको मान्छेलाई भाइटल पोष्ट दिनैपर्ने, आफ्ना नातागोता र क्षमतै नभएका मान्छेलाई पनि सामाजिक क्षेत्रको अगुवाई बनाउनैपर्ने जुन परिपाटीको विकास भएको छ यसले उनीहरुमा काम देखाउने भन्दा पनि नाम देखाउने प्रतिस्पर्धा चर्को रुपमा हावी भएको छ । सामाजिक अगुवा हुनका लागि म योग्य छ कि छैन ? सामाजिक क्षेत्रमा लाग्ने मान्छेले पहिला आफैले आफैलाई कसी लगाउनु जरुरी छ । प्रत्येक सामाजिक व्यक्तिमा ‘म’को ठाउँमा ‘हामी’ भन्ने संकल्प छ कि छैन ? न्यायका आधारमा गुण र दोष केलाउने चश्मा छ कि छैन ? सामाजिक पदको दुरुपयोग नगरी आर्थिक पादर्शीताका मामलामा फराकिलो सोच छ कि छैन ? यसप्रति सामाजिक अगुवाहरु सचेत बन्नैपर्छ । यसतर्फ अबबा नागरिकहरु सचेत बन्दै गइरहेका छन् । सामाजिक पद धारण गर्दैमा सबै मान्छेहरुमा सामाजिक भावना छ भन्ने कुरा रहँदैन । यो पटक पटकका सामाजिक क्षेत्रमा लागेका मानिसहरुको असामाजिक चरित्रहरुबाट प्रष्ट हुँदै आएको छ । गफमा बडो सामाजिक भनाउँदाहरुहरु पनि समयसँगै आफ्नो सामाजिक चरित्र गुमाउँदै गएका छन् । हरेक सामाजिक क्षेत्रका व्यक्तिहरुलाई हेर्ने हो भने सबैमा सबै असामाजिक छन् भन्ने पनि होइन । कतिपय सामाजिक अग्रजहरु जो आफ्नो निजी सम्पत्तिलाई समाजको एउटा अंश सम्झेर लागिरहेका छन् उनीहरु समाजको एउटा असल पाटो हुन् र उनीहरुलाई इतिहासले पनि सम्झने ठाउँ रहनेछ तर गोजीको दुई पैसा खर्च नगरीकन विहानदेखि बेलुकासम्म सामाजिक पैसामा डट्नेहरुको पनि ठूलै लस्कर छ यो समाजमा । सामाजिक पद र सामाजिक व्यक्तित्वको खोल ओडेर सिंगो समाजका आँखामा धुलो छर्कँदै व्यापार गर्नैका लागि र चुस्की लगाउनैका लागि गरिएको समाजसेवा सायद अब धेरै दिन टिक्नुहुन्न । जिल्लाभित्र कतिपय सामाजिक संघसंस्था, व्यापारिक संघसंस्था सबैमा सामाजिक चरित्र भन्दा पनि व्यक्तिगत मनोमानी हावी भइरहेको कुराहरुले व्यापक चर्चा पाउन थालिरहेको छ । सबैको प्रतिनिधित्व हुने त्यस्ता संघसंस्थाहरुले सामाजिक न्यायका आधारमा काम गर्न सकेका छौ कि छैनौं ? हरेक कार्यक्रम तथा अवसरहरुमा सबैको प्रतिधित्व हुन सकेको छ कि छैन ? प्रत्येक संस्थागत कामकाज र क्रियाकलापमा कोटेशन प्रणालीलाई लत्याउँदै कतै नातावाद कृपावादको हावी भएको त छैन ? यी धेरै प्रश्नहरुको उत्तर

खोजिरहेको छ समाज । एकाध मानिसलाई हातमा लिएर सिंगो समाजमालाई अन्यौलमा राख्ने संस्कार समग्र समाजका लागि गम्भीर र सोच्नैपर्ने विषय बनेको छ । हामी चाहन्छौं ‘हात्तीले पुच्छर हल्लाओस् तर पुच्छरले हात्ती हल्लाउनु हुँदैन । यो समाजलाई पाच्य पनि हुँदैन । समाजमा देखिका यस्ता असामान्य प्रवृत्तिहरु, श्रृङ्खलाहरु क्रमशः अबको समाजले साम्य पार्नेछ र आगामी दिनहरुमा सामाजिक क्षेत्रभित्रको छद्म पाटो केलाउँदै सामाजिक संस्कार र चरित्र बोकेका र आफू कतिबेला के बोलेँ भन्ने राम्रो हेक्का र भिजन भएका व्यक्तिहरुलाई जिम्मेवारी दिनेछ । गुट, उपगुटमा विभाजित यो समाज, घृणित राजनीति खेलका लागि प्रयोग थलो बन्नु हुँदैन । समाज जसरी समृद्ध बन्छ, जसरी सामाजिक न्याय प्राप्त हुन्छ, सोही हिसावले अगाडि बढाउनुपर्छ । कतिबेला के बोलें ? राती बोलें कि दिउँसो बोलें भन्ने हेक्का नभएका र आफूलाई कन्ट्रोलनमा राख्न नसक्ने लाज पचेका सामाजिक व्यक्तिहरुबाट पनि समाज अब अघाइसकेको छ भने अदुरदृष्टी भएका र अरुको हातबाट उचालिंदा मात्र बाक्य फुटाउनेहरुले पनि धेरै सिक्न जरुरी छ । समाज हाम्रो हो र हामी भएको समाज परिवर्तनशील, युगसापेक्ष र विकासका हिसावले अग्र हुनुपर्छ भन्ने समाजले चाहेको हुन्छ । आशा गरौं, समाजको यो भावनालाई बुझ्ने र आलोचना खप्न सक्ने तथा आत्माआलोचना गर्न सक्ने इमान्दार समाजिक व्यक्तिहरुलाई अब समाजले चिन्नुपर्छ र अगाडि ल्याउनुपर्छ ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता