सन्तान मानसिकता

तपाईंका कति सन्तान छन्?', विवाहित महिलालाई गरिने केही प्रश्नमध्ये यो एउटा प्रश्न हो। यदि कुनै विवाहित महिलाको सन्तान छैन भने उनलाई यसरी हेरिन्छ मानौं उनको जिन्दगीको कुनै सार छैन। उनको जिन्दगी व्यर्थ भयो। सरकारका स्वास्थ्य मन्त्रालयका कार्यक्रमहरू पनि प्राय: मातृत्वसँग जोडिएकामात्रै छन्। महिला स्वास्थ्यका लागि ल्याइएका कार्यक्रम पनि आमाकै वरिपरि हुन्छन्।

अनि विभिन्न कलाकारले आमा बनेपछिमात्रै मेरो नारीत्व पूर्ण भएको छ, बच्चा आएपछि मात्रै मेरो जीवनमा पूर्णता आएको छ भनेर भन्छन्, मानौं आमा नबन्ने महिला त महिला नै होइनन्, उनको अस्तित्व नै छैन। आमा बन्नु प्राकृतिक कुरो हो तर के साँच्चि नै सन्तान पाएपछि मात्रै महिला पूर्ण हुन्छिन् त? उनको अर्को अस्तित्व छैन? त्यसो हो भने त मदर टेरेसालाई किन मानसम्मान दिनु? उनी त सन्तानविहीन भएर बाँचिन्।

सीएनएन हिरो भएकी पुष्पा बस्नेतका आफ्ना सन्तान छैनन्, के उनी पूर्ण नारी हुन्नन् त? हाम्रा धार्मिक ग्रन्थमा पनि त लक्ष्मीका सन्तान, सरस्वतीका छोराछोरी भनेर कतै सुनिएको छैन। सन्तोषी माताका सन्तान वा कालिकास्थान र भद्रकालीका पनि सन्तान छन् भने धार्मिक ग्रन्थमा उल्लेख गरिएको छैन अनि किन त जो नारीहरू सन्तान छैनन् तिनलाई अनेक तरिकाले अवहेलित गर्ने बानी? कसैको बच्चा नहुनुका पछाडि थुप्रै कारण हुन सक्छन्।

महिलाको स्वास्थ्य, राम्रो नहुनु वा पाठेघरमा कुनै समस्या हुनु एक कारण हो भने पतिको कारणले पनि सन्तान नहुन सक्छ। कतिपय अवस्थामा त पुरुष वा स्त्रीमा कुनै पनि समस्या नभएर पनि सन्तान हुँदैनन्। त्यसो भन्दैमा तिनको सम्पूर्ण दाम्पत्य जीवन नै खत्तम भयो भन्ने त पक्कै होइन।

तर सन्तान नहुनुका पछाडि मानौं महिला एउटी अपराधी हुन्झैं गरेर व्यवहार गरिन्छ। ज्ञान, सम्मान, नोकरी, सामाजिक क्रियाकलाप जस्तो भए पनि, जति भए पनि के गर्नु यिनका सन्तान छैनन्। कति दु:खी रहिछे भनेर उनलाई होच्याउँछन्, सन्तान नभएका कतिजना महिला त आफू गर्भवती भएको तर गर्भपतन भएको भनेर बारबार झूठो पनि बोल्छन्।

गर्भ बोक्न नसकेकी महिला भनेर कसैले गिल्ला नगरून् भनेर नै झूठो बोलेका हुन्। कतिपय सन्तान नभएका महिलालाई चाहिँ जति धन कमाए पनि के गर्नु, मर्ने बेलामा मुखमा पानी हाल्ने सन्तान छैन भनेर खिसी गरेको पनि सुनेका छौं। यसका पछाडि महिलाको सम्पूर्ण अस्तित्व नै सन्तान नपाए खत्तम हुन्छ भन्ने खराब सामाजिक मानसिकताले काम गरेको छ।

छोरा नभए महिलालाई होच्याउने चलन गाउँघरमा अझै छ। सहरतिर यसमा केही मात्रामा परिवर्तन आएको छ र छोराछोरी दुवैलाई उत्तिकै महत्त्व दिन थालेका छन्। तर, सुदूरपश्चिमका गाउँमा चाहिँ सन्तान भनेका अझै छोरा नै हुन्।

म सुदूरपश्चिम जाँदा कतिजनाले तमरा (तिम्रा) कति सन्तान छन् भनेर सोध्दा दुई छोरी छन् भनेर भन्छु। अनि उनीहरू सहानुभूतिपूर्वक आँखाले हेरेर, प्रेमपूर्वक मेरो हात समातेर भन्छन्, कठै तमरा चेला छैनन्? (हरे, तिम्रा छोरा छैनन्)।

अनि कतिजनाले भन्छन्- समय छ, अझ सन्तान पाउन त सकिहाल्छौ नि। उनीहरूको कुरा सुनेर हाँसो र दिक्क दुवै लाग्छ। सन्तान नहुने महिला र छोरीमात्रै भएका महिलालाई दु:खी, विचरा, कठै भन्ने हाम्रो सामाजिक संस्कारले धेरै महिला दु:खी भएर बस्छन्।

कुनै दम्पतीको सन्तान हुनु खुसीको कुरा हो। यसले परिवारलाई बढाउँछ तर सन्तान नहुनुचाहिँ सम्पूर्ण जीवन नै खत्तम हुनु हो भन्ने भावनाले काम गर्नुका पछाडिचाहिँ महिलाको शरीरलाई पाठेघरमात्रै भन्नु हो। यसैले गर्दा कति महिलालाई मानसिक रूपमा समस्या भएका घटनाहरू पनि धेरै छन्।

पहिले छोरा नहुँदा महिलाहरू अपहेलित हुन्थे र नेपालको कानुनले पनि दस वर्षसम्म महिलाको सन्तान (छोरा) भएन भने पुरुषले कानुनी रूपमा अर्को विवाह गर्ने कानुनी अधिकार पाएको थियो। तर, त्यो बेलामा महिलाको कारणले मात्र सन्तान हुँदैन भन्ने अवैज्ञानिक मान्यताले काम गरेको थियो। अहिले कानुनी रूपमा केही परिवर्तन आएको छ।

तर, महिलालाई छोरी भएर दोषी मान्ने चलन अझै छ। अझै पनि डाक्टरहरूले महिलालाई 'छोरी नहुनु त तिम्रो दोष होइन, यो त पुरुषको दोष हो' भनेर सम्झाउँछन् मानौं छोरी हुनु नै कोही 'दोषी' हुनु हो चाहे महिला हुन् वा पुरुष, छोरी भएकोमा दोषी मान्ने हामी कस्ता स्वास्थ्यकर्मी !

१० वर्षअघि सुदूरपश्चिमको एक स्वास्थ्य शिविरमा जाँदा एकजना पुरुष तीनवटी श्रीमती लिएर आएका थिए। उनका दुई श्रीमतीबाट सन्तान भएका थिएनन्, तेस्री श्रीमतीबाट चाहिँ छोरी भएकी थिइन्। उनी आफ्ना दुई श्रीमतीमा समस्या के रहेछ भनेर जँचाउन ल्याएका थिए। आठ वर्षभित्र उनले तीन विवाह गरेका थिए र बल्ल तेस्री श्रीमतीबाट छोरी भयो। 'अब यी दुईजनाको पनि जाँच गराएर यिनबाट सन्तान पाउने रहर छ', ५५-५६ वर्षीय ती पुरुषले भनेका थिए।

'तपाईंको पनि जाँच गर्नुपर्छ', एक स्त्रीरोग विशेषज्ञले भनिन्। त्यसपछि उनले ममा खराबी भएको भए तेस्री श्रीमती (२१ वर्षीया) बाट कसरी सन्तान हुन्थ्यो त भने। ठीकै छ, उहाँहरूको पनि जाँच गरौंला तर तपाईंको वीर्यको जाँच गरौं भनेर डक्टरले भनेपछि उनी तयार भए।

त्यही शिविरमा उनको वीर्य जाँच गरियो र थाहा भयो- उनको वीर्यमा शुक्रकीट नै रहेनछ। पहिलेका दुई श्रीमतीले किन बच्चा नपाएको भन्ने स्पष्ट भयो। २१ वर्षीया युवतीको सायद अरूसँग सम्बन्ध भएर सन्तान भएको होला भन्ने चर्चा हामीले गर्‍यौँ तर गुपचुप राख्यौं।

ती पुरुषलाई शुक्रकीट हुँदै नभएको भने उनको दाम्पत्य जीवनमा असर पर्ने र २१ वर्षीया श्रीमतीसँगको सम्बन्ध बिग्रने हुनाले हामीले केही कुरा लुकायौं र ती पुरुषलाई भिन्दै कोठामा ल्याएर छलफल गर्‍यौँ। श्रीमान् र तीनवटै श्रीमती राखेर अब अन्य सन्तान हुनेछैन भनेर बुझाइयो।

त्यो बेला हामीले पुरुष र महिला कसैलाई पनि असर नपर्ने एउटा कठिन समस्या समाधान गर्‍यौँ तर पछिसम्म पनि मनमा थुप्रै प्रश्न आइरहे। शिक्षक श्रीमान्ले सन्तान नहुनुमा महिलाको मात्र समस्या हुनसक्ने कुरा बुझेका र पुरुषहरूलाई जाँच गराउनु त अपमान नै ठान्ने हुनाले एकपछि अर्को विवाह गरे। तीनवटी विवाह गरे केवल सन्तान पाउनका लागि। सायद हामीले उनलाई भविष्यमा उनको सन्तान हुँदैन भन्ने कुरा श्रीमतीसहित राखेर नभनेको भए छोरा पाउन उनी पक्कै पनि फेरि अर्को विवाह गर्थे होलान्।

यसबाट के देखिन्छ भने महिलाको आफ्नो अस्तित्वचाँहि केही छैन। सन्तान र त्यो पनि छोरा भएमात्रै उनको जीवन सफल हुन्छ। के महिला केवल भाँडोमात्र हुन् त बच्चा जनमाउन? अझ धार्मिक गुरुहरूको वचन सुन्ने हो भने छोरा नजन्माई मरेमा नर्क गइन्छ। तर, अब परिवर्तन हुने बेला भएन? के छोरा नपाईकन वा कुनै पनि सन्तान नपाउने महिलालाई अपमान गरेरै बसिरहने हो त? वा छोरीमात्र भएकाहरू छोरा भएनन् भनेर वेदनामा पिल्सिइरहने हो त?

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता