काठमाडौं, २४ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले १०४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । विश्वभर प्रत्येक वर्ष मार्च ८ मा मनाइँदै आएको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा प्रधानमन्त्री कोइरालाले आज शुभकामना सन्देश दिँदै जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाहरू देश विकासको मेरुदण्ड हुन्, विकासको सहयात्रीका रूपमा प्रत्येक क्षेत्रमा महिलाको समान सहभागिता अत्यन्त जरुरी रहेको बताउनुभएको छ ।
सरकारी नीति, कार्यक्रम र कार्ययोजनामा महिलाको अधिकतम सहभागितालाई सुनिश्चित गर्न उच्च प्राथमिकता दिइएको उल्लेख गर्दै उहाँले रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्था गरिएको बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाले सन् २०१० देखि महिलाविरुद्धको हिंसाको विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले पाँचवर्षे ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९’ कार्यान्वयनमा ल्याई केन्द्र तथा स्थानीयस्तरमा विभिन्न संयन्त्रमार्फत आवश्यक सेवा प्रवाह भइरहेको उल्लेख गर्नुभयो ।
उहाँले मानवअधिकार र महिलाअधिकारका अन्तर्राष्ट्रिय महासन्धि खासगरी संयुक्त राष्ट्रसङ्घीय राजनीतिक तथा नागरिक एवम् आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अनुबन्ध, १९६६ तथा महिलाविरुद्धका सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि, १९७९ को नेपाल पक्षराष्ट्र बनिसकेको उल्लेख गर्दै नेपाल सरकार महिलाकेन्द्रित नीति, कानुन, योजना, संरचना तथा कार्यक्रम निर्माण गरी उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग गरी महिलाको जीवनस्तरमाथि उठाएर सन्तुलित, समुन्नत र सुखी समाज निर्माण गर्न प्रयासरत रहेको बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “नेपाल सरकारका उपयुक्त प्रयास हुँदाहुँदै पनि पुरुषको तुलनामा गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य महिलाको पहुँच न्यून रहेको छ ।” उहाँले रोजगारी तथा राजनीतिमा पनि महिलाको पहुँच र सहभागिता पुरुषको दाँजोमा न्यून छ भन्दै सरकारका ती प्रयासलाई अझ सशक्त पार्न यस क्षेत्रमा कार्यरत सबै सरकारी, गैरसरकारी, निजी क्षेत्र तथा नागरिक समाजलाई आआफ्नो स्थानबाट योगदान पु-याउन आह्वान गर्नुभयो ।
आजको यस अवसरमा महिलालाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृति विकास गर्ने प्रण गराँै भन्दै प्रधानमन्त्री कोइरालाले महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न सरकारले अख्तियार गरेको शून्य सहनशीलताको नीति तथा महिला सशक्तीकरण गर्ने अभियानमा एक भएर लाग्न सम्पूर्ण देशवासी, दिदीबहिनी तथा दाजुभाइलाई आग्रह गर्नुभएको छ ।
महिलाहरू देश विकासको मेरुदण्ड हुन् : प्रधानमन्त्री


0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता