के हो ‘चिनियाँ सपना’


चेतनाथ आचार्य

सन् १९४९ अक्टोबर १ तारिखमा चिनियाँ महान् नेता माओत्से तुङको नेतृत्वमा नयाँ चीन स्थापना भएपछि चीनले समाजवादी यात्रा सुरु गर्‍यो । सन् १९७८ मा चिनियाँ कम्युनिस्ट पार्टी एघारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले अर्का चिनियाँ महान् नेता तङ स्याओ पेङको कार्यनीति अनुसार सुधार र खुलापनको कार्यक्रम अगाडि सारेपछि ‘चिनियाँ विशेषतायुक्त समाजवादी बजार अर्थनीति’ले विश्वलाई आकर्षित गर्‍यो । समाजवादी चीनको स्थापनापछि ‘चिनियाँ विशेषतायुक्त समाजवादी बजार अर्थनीति’का आधारमा उभिएको समाजवादलाई सफलताको शिखरमा पुर्‍याउनका लागि यतिबेला चर्चामा रहेको छ, ‘चिनियाँ सपना’ अर्थात् चाइनिज ड्रिम ।
सन् २०१२ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको अठारौं महाधिवेशनले सी जिन पिङलाई महासचिवमा चयन गरेपछि नेता सीले पहिलो पटक प्रयोगमा ल्याउनु भएको हो, चिनियाँ सपना । सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव र सन् २०१३ मा चीनको राष्ट्राध्यक्षमा निर्वाचित भएपछि नेता सीले चिनियाँ सपना पदावलीको प्रयोग मात्र गर्नु भएन, त्यसको सविस्तार वर्णन पनि गर्नुभयो । नेता सीका अनुसार बृहत् राष्ट्रिय पुनर्ताजकीकरण, जनताको जीवनस्तरमा व्यापक सुधार, प्रगति, अझै उन्नत समाजको निर्माण र सैनिक सशक्तीकरण नै चिनियाँ सपना हुन् । उहाँले युवा वर्गलाई निरन्तर परिश्रम गर्दै राष्ट्रलाई पुनर्जीवन दिन साहस र अठोट लिएर चिनियाँ सपनालाई साकार बनाउन पनि आग्रह गर्नुभएको छ । चिनियाँ सञ्चार माध्यमहरूका अनुसार चिनियाँ उन्नति, सामूहिक प्रयास, ‘चिनियाँ विशेषतायुक्त समाजवादी बजार अर्थनीति’ र राष्ट्रिय गौरव नै चिनियाँ सपनाका तत्त्वहरू हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिन पिङ वर्तमान चीनका राष्ट्राध्यक्ष पनि हुनुहुन्छ । उहाँले चिनियाँ सपना चीनका भविष्यमा रहेका दुईओटा शतवाषिर्कोत्सवसम्ममा आधारभूत प्रमाण चिह्नका रूपमा विश्वले देख्नेगरी साकार हुनुपर्ने बताउनुभएको छ । सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकोत्सव हो । त्यसैगरी, सन् २०४९ मा नयाँ चीन स्थापना भएको शतवार्षिकोत्सव पर्दछ । नेता सी चिनियाँ कम्युनिस्ट पार्टी र जनगणतन्त्र चीनको नेता भएकै समयमा चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकोत्सव हुनेछ । सन् १९४९ अक्टोबर १ मा नयाँ चीन स्थापना भएपछिको समयमा जन्मिएर पार्टी र राष्ट्रलाई नेतृत्व गर्ने सी जिन पिङ पहिलो नेता हुनुहुन्छ । उहाँले आफू महासचिवमा निर्वाचित भएपछि चिनियाँ कम्युनिस्ट पार्टीको अठारौं महाधिवेशनको समापन समारोहलाई दिनुभएको सम्बोधनमा चिनियाँ सपनाले दुईओटा महत्त्वाकांक्षी लक्ष्य राखेको बताउनुभएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकोत्सव मनाउने समय सन् २०२१ सम्ममा चिनियाँ समाजलाई समान र मध्यमस्तरमा सुसम्पन्न गराउने कार्य चिनियाँ सपनाको पहिलो लक्ष्य हो । त्यसैगरी, आधुनिक चीनलाई नयाँ चीन स्थापनाको शतवार्षिकोत्सव सन् २०४९ सम्ममा पूर्ण विकसित राष्ट्र बनाउने कार्य चिनियाँ सपनाको अर्को लक्ष्य हो ।
चिनियाँ सपनाका यी दुईओटा महात्त्वाकांक्षी लक्ष्य पूरा गर्नका लागि हरेक चिनियाँ युवाले गहन परिश्रम गर्दै पार्टी र सरकारका सबै तहबाट अथक कार्य गर्नुपर्ने कुरामा चिनियाँ नेता सीले आग्रह गर्नुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टी र सरकारले चिनियाँ युवा पुस्तामा व्यावसायिक विकास गर्नका लागि सहयोग गर्ने नीति पनि अगाडि सारेको छ । युवापुस्तामा भएको ज्ञान, बुद्धि, विवेक, सिर्जनशीलता, ऊर्जा, जुझारुपन, सक्रियता र अद्वितीय क्षमतालाई राष्ट्र निर्माणमा लगानी गर्नुपर्ने चिनियाँ नीति नै समग्र चिनियाँमा विकसित साझा चिनियाँ सपना हो ।
चिनियाँ सपनाभित्र चारओटा भाग रहेको विश्लेषकहरूले बताएका छन् । पहिलो भाग हो, सशक्त चीन । चीनलाई आर्थिक, राजनीतिक, कूटनीतिक, वैज्ञानिक र सैनिक शक्तिबाट सशक्त बनाउनु चिनियाँ सपनाको पहिलो भाग हो । चिनियाँ सपनाको दोस्रो भाग हो, सभ्य चीन । चीनलाई समान र न्यायिक, सांस्कृतिक सम्पन्न र उच्च नैतिक रूपले सभ्य बनाउनु चिनियाँ सपनाको दोस्रो भाग हो । त्यसैगरी, चिनियाँ सपनाको तेस्रो भाग सुरम्य चीन । चिनियाँ समाजका विभिन्न वर्ग, तह, जाति, पहिचान आदि क्षेत्रमा मैत्रीभाव विस्तार गरेर सुरम्य चीनको निर्माण गर्नु चिनियाँ सपनाको तेस्रो भाग हो । चिनियाँ सपनाको चौथो तथा अन्तिम भाग हो, सुन्दर चीन । चीनमा स्वस्थ वातावरणको सिर्जना गर्नु र प्रदूषण न्यूनीकरण गर्नु नै चिनियाँ सपना पूरा हुनु हो ।
चीनले खुला अर्थतन्त्र र सुधारिएको समाजवादी व्यवस्था अँगालेको ३५ वर्षमा महत्त्वपूर्ण सफलता प्राप्त गरेको छ । विकसित कहलिएका पश्चिमा पुँजीवादी मुलुकले चरम आर्थिक संकट झेलिरहेको समयमा आङ्खनै विशेषतायुक्त बजार अर्थनीतिले चीनलाई आर्थिक संकट हुनबाट अहिलेसम्म जोगाइराखेको
छ । सुधार तथा खुलापन लागू भएपछिको साढे तीन दशकमा चीनको गार्हस्थ्य अर्थतन्त्र अन्य राष्ट्रको तुलनामा उल्लेख्य वृद्धि भएको छ । सन् १९७९ देखि २०१२ सम्मको अवधिमा चीनको औसत आर्थिक वृद्धिदर ९ दशमलव ८ प्रतिशत रह्यो, जुन बेला विश्वको औसत आर्थिक वृद्धि २ दशमलव ८ प्रतिशत मात्र रहेको थियो ।
विश्व बैंकको तथ्यांकअनुसार, चीनमा प्रतिव्यक्ति आय सन् १९७८ मा १ सय ९० अमेरिकी डलर थियो । सन् २०१२ मा प्रतिव्यक्ति आय ५ हजार ६ सय ८० अमेरिकी डलर पुगेको छ । यो तथ्यांकबाट चीन कम आम्दानी हुने मुलुकबाट मझौलास्तरको आम्दानी हुने मुलुकमा परिणत भइसकेको छ । दोहोरो अंकले वृद्धि भइरहेको चिनियाँ आर्थिक विकासको गति अनुसार सन् २०२० सम्ममा चीनमा प्रतिव्यक्ति आय १० हजार डलर पुग्ने अनुमान गरिएको छ । सहरी क्षेत्र र ग्रामीण क्षेत्रको विकासमा समान गराउनका लागि चीन सरकार प्रयत्नरत छ र ग्रामीण क्षेत्रका चिनियाँ जनताको जीवनस्तर उकास्नका लागि विशेष रणनीति अपनाइएको छ । सन् २०३० सम्ममा ७० प्रतिशत चिनियाँ जनताको जीवनस्तर सहरी क्षेत्रको सुविधासम्पन्न हुने गरी कार्यक्रमहरू तय गरिएको छ । त्यसपछिको चीनको विकास भनेको आधुनिक सर्वसम्पन्न चीन निर्माणको अवस्था हो । त्यसका लागि चीनले विज्ञान र प्रविधिसँगसँगै अर्थतन्त्र र व्यापार, चिनियाँ सभ्यताको पुनः विकास, संस्कृति र सैनिक सुसम्पन्नता र चीनले सबै क्षेत्रका मानव शंसाधनमा सहभागी हुनयोग्य मानिनेछ ।
चिनियाँ सपनालाई साकार बनाउनका लागि १ अर्ब ३७ करोड चिनियाँको सामूहिक प्रयास र परिश्रमको अहं भूमिका रहेको छ । चिनियाँ श्रमलाई विश्वमै सस्तो श्रम मानिन्छ । फलस्वरूप चिनियाँ उत्पादनले विश्वबजार पिटेको छ । बीसौं शताब्दीको अन्त्य र एक्काइसौं शताब्दीको सुरुदेखि चिनियाँ प्रविधिले चीनलाई मात्र होइन, संसारलाई नै सुविधासम्पन्न बनाउँदै छ । विकासका पूर्वाधारअनुसार चीनले सबै जिल्लामा सडक सुविधा उपलब्ध गराएको छ । सहरी क्षेत्रको विकासमा अत्याधुनिक सुविधा र प्रविधि जडान गरेको छ । अमेरिका र युरोपले पहिले नै पूर्वाधार निर्माण गरेकाले उनीहरूलाई आधुनिक प्रविधि जडान गर्न समस्या छ तर चीनले अत्याधुनिक प्रविधिसँग आफूलाई सर्वोच्च बनाउँदै छ ।
विश्वका वैज्ञानिक, अर्थशास्त्री ?
भूगोलविद्हरूले चीनको स्वायत्त प्रदेश तिब्बतमा रेलवे सेवा विस्तार गर्न असम्भव किटानी गरेका थिए । विश्वकै उच्च भाग जहाँ अक्सिजनको कमी र अत्यधिक हिमपातले रेलवे सेवा सञ्चालन गर्न नसकिने उनीहरूको निष्कर्षलाई चीनले चुनौती दिँदै उनीहरूको भविष्यवाणीलाई छोटो समयमै असफल बनाइदियो । अन्तरिक्ष विज्ञानमा पनि चीनको प्रगति नियाल्दा गजबका तथ्यांकहरू फेला परेका छन् । केही समयअगाडि चीनले चन्द्रमामा प्रक्षेपण गरेको ‘छाङअ–३’का लागि छुट्ट्याइएको रकम चीनको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० परिमाणको १० लाख भागमध्येको एक भाग मात्र रहेको छ । सन् २०१२ मा चीनको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० ५ सय १८ खर्ब ९४ अर्ब २० करोड चिनियाँ युआन रहेको थियो ।
अमेरिकाले चन्द्रमाको अन्वेषण ९एपोलो० परियोजनामा २५ अर्ब अमेरिकी डलर लगानी गरेको बताएको थियो । तर, १० वर्षसम्म गरिएको अध्ययनपछि त्यति बेला अमेरिकाले चन्द्रमाको अन्वेषण परियोजनामा तत्कालीन अमेरिकी जीडीपीको २ दशमलव ५ प्रतिशत लगानी गरेको पुष्टि भएपछि अमेरिकी एपोलो परियोजनाको तुलनामा चिनियाँ छाङअ परियोजना धेरै सस्तो र बढी सफल रहेको स्पष्ट भएको छ ।
तसर्थ, चीनको आर्थिक, सामाजिक, वैज्ञानिक, न्यायिक, राजनीतिक, कूटनीतिक, प्राविधिक, वातावरणिकलगायतका क्षेत्रमा उच्च सुधार र प्रगति हासिल गरेर संसारमै उदाहरणीय चीन, उत्तम चीन, विकसित चीन, सर्वोत्कृष्ट चीन र सभ्य चीनको विकास गर्ने लक्ष्यलाई चिनियाँ सपना मान्न सकिन्छ । निचोडमा भन्नुपर्दा चिनियाँ समाजको रूपान्तरण र आर्थिक प्रगतिका लागि चिनियाँ जनताको सामूहिक चेतना नै चिनियाँ सपना हो 

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता