एक सामान्य नेपाली महिलाले ठूलो अन्तर्राष्ट्रिय पुरस्कार जितेकी छिन् =======================================

एक सामान्य नेपाली महिलाले ठूलो अन्तर्राष्ट्रिय पुरस्कार जितेकी छिन्

पर्वत, वैशाख २ आफूले जीवनमा कल्पना नै नगरेको पुरस्कार पाउँदा पर्वतको खानीगाउँ गाउँ विकास समिति ५ की ५१ वर्षीया केशाकुमारी परियारसँग खुसीको सिमा नै छैन ।
विश्वकै प्रतिष्ठित शान्तिका लागि ब्यवसाय (बिजनेस फर पिस) पुरस्कार पाउने घोषणा भएपछि उहाँले जिन्दगीमै नसोचेको सफलता प्राप्त गरेको अनुभव गर्नुभएको छ ।
झण्डै डेढ दशक पहिलेसम्म गाउँमा सबैले ‘दमिनी साँहिली’ भनेर बोलाउँथे, ६ वटा छोरी जन्मेपछि परिवारबाट समेत तिरस्कार बोहोर्नुपर्‍यो । ‘अहिले यो पुरस्कार पाउँदा मैले ‘दमिनी साँहिली’को सम्मान भएको अनुभव गरेकी छु’ परियारले भन्नुभयो, ‘मेरो लागि यस्तो दिन न कहिले आएको थियो, न अब फेरि आउनेछ ।’
कपडा सिलाउने हाते मेसिन किन्दा ‘दमिनी साँहिली’ले सिलाउन जान्दिन भनेपछि अहिले त्यही हातेमेसिनबाट २०५६ सालमा सुरु गरेको सिलाईकटाई ब्यवसायले उहाँलाई यो प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारको बिजेता बनाएको हो ।
‘मैले एउटा मेसिनबाट सुरु गरेको ब्यवसायबाट यो पुरस्कार प्राप्त गर्ने स्थानसम्म पर्‍याउँछ भन्नेसम्म पनि कल्पना गरेकी थिइन,’ उहाँले भन्नुभयो, ‘पुरस्कार पाउने घोषणापछि अब गाउँमा पिछडिएको समुदायका लागि अझै धेरै गर्न सकिन्छ भन्ने विश्वास दिलाएको छ ।’
साना ब्यवसायीहरुको संस्था जिल्ला लघुउद्यमी संघ पर्वत र राष्ट्रिय लघुउद्यमी संघकी समेत अध्यक्ष रहेकी परियारलाई शान्ति र अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता सम्मिलित निर्णायक मण्डलले शान्तिका लागि व्यवसाय पुरस्कार २०१४ ले सम्मानित गर्ने निर्णय गरेको हो ।
उहाँलाई यो पुरस्कार नर्वेको विजनेस फर पिस प्रतिष्ठानले २०७१ जेठ १ गते ओस्लोस्थित नोबेल शान्ति पुरस्कार प्रदान गरिने सिटी हलमा विशेष समारोहबीच प्रदान गर्नेछ । बिजनेस फर पिस अवार्डको निर्णायक मण्डलमा नोबेल पुरस्कार बिजेताहरु छन् ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता