भ्रष्टाचार रोक्न दलाललाई निषेध गर्नुस्ः सचिव बास्कोटा उच्चस्तरीय टोलीद्वारा मालपोत र नापी कार्यालयमा निरिक्षण

१२ पुस, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बास्कोटाले भ्रष्टाचार रोक्न दलाल र मध्यस्थकर्तालार्इ कार्यालयमा प्रवेश निषेध गर्न कर्मचारीहरूलार्इ निर्देशन दिनुभएको छ । काठमाडौं र ललितपुरका मालपोत तथा नापी कार्यालयहरुको शुक्रबार आकाष्मिक निरीक्षणका क्रममा सचिव बास्कोटाले सो निर्देशन दिनुभएको हो । निरीक्षणका क्रममा सचिव वास्कोटाले आमजनतामा सुशासनको अनुभूति दिलाउन, राष्ट्रसेवक कर्मचारीले सदाचार पद्धति अवलम्वन गर्न र भ्रष्टाचारविरुद्ध शुन्य सहिष्णुताको नीति अवलम्वन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । ‘कार्यालयमा दलाललाई निषेध गर्नुस्, लेखापढी व्यवसायीलाई तिनको सेवा शुल्क सार्वजनिक गर्न लगाउनुस्’, सचिव बास्कोटाले कर्मचारीहरुलाई निर्देशन दिंदै भन्नुभयो, ‘कुनै पनि पेशाको आवरणमा भ्रष्टाचार बढाउन दलाली गर्नेलाई पक्राउ गरी कारवाही गर्न र क्षतिपूर्तिसहितको नागरिक बडापत्रमा तोकिएको अवधिभित्रै सेवा प्रवाहलाई प्रभावकारी बनाउनुस् ।’ सचिव बास्कोटाको नेतृत्वमा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र र भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिवहरु सम्मिलित टोलीले ती कार्यालयका आकष्मिक निरीक्षण गरेको हो । आकष्मिक निरीक्षणका क्रममा सचिव बास्कोटाले जेहेन्दार विद्यार्थीहरुले लोकसेवा आयोग पास गरी निजामति सेवामा प्रवेश गर्ने हुँदा तिनले दिने सेवा पनि सोही अनुरुप उत्कृष्ट हुनुपर्ने कुरामा जोड दिनुभयो । ‘प्रधानमन्त्रीको कार्यालयबाट भैरहेका सकारात्मक हस्तक्षेपले भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचिमा नेपालको अवस्था गत वर्ष भन्दा धेरै सुधार भएको छ’, सचिव बास्कोटाले भन्नुभयो, ‘डुईङ्ग विजनेशमा पनि नेपालले गत वर्ष भन्दा प्रगति गरेको छ । यी सुधार सरकारको निरन्तर सकृयतापछिका परिणम हुन् ।’ ०७० वैशाख २ गते १८ जिल्लाका २० वटा मालपोत र नापी कार्यालयबाट प्रारम्भ भएको क्षतिपूर्तिसहितको नागरिक बडापत्र थप १५ वटा मालपोत र नापी कार्यालयमा विस्तार गरिएको छ । सुशासन ऐन, ०६४ मा प्रत्येक सरकारी कार्यालयले नागरिक वडापत्र सार्वजनिक गर्नुपर्ने र कुन् कुन् सेवामा क्षतिपूर्ति पाईने हो सो खुलाउनुपर्ने प्रावधान छ । यसै प्रावधान वमोजिम प्रधानमन्त्री कार्यालयको पहलमा हाल अध्यागमन, वैदेशिक रोजगार, यातायात व्यवस्था, मालपोत, नापी, खाद्य प्रविधि तथा गुण नियन्त्रण, वाणिज्य विभाग र कृषि विभागमातहतका एक सय पाँचवटा कार्यालहरुमा क्षतिपूर्ति सहितको नागरिक वडापत्र जारी गरिएको छ । मालपोत र नापीको काम सन्तोषजनक निरीक्षणका क्रममा मालपोत कार्यालय डिल्लीबजारले तोकिएको सीमाभित्रै सेवा प्रवाह गरेको, वैकिङ्ग सेवा दिएको, काठमाडौं महानगरपालिकाका २९ वटा वडा र ११ वटा गाविसमा सेवा प्रवाह गरेको, चालू आ.व.मा १० हजार ७४ जग्गाधनी थपिएको, ११ सय ९५ कित्ताकाट भएको, ५३ करोड ६७ लाख ७२ हजार पाँच सय ८६ राजश्व असुली गरेको र ६ हजार ७ सय ८५ लिखत पास गरेको पाईएको थियो । दैनिक ५ सयले सेवा लिने यस कार्यालयमा टोकनपद्धति लागू गरिएको छ । यसैगरी नापी कार्यालय डिल्लीबजारमा दैनिक तीन सयले सेवा प्राप्त गर्ने गरेका छन् । क्षतिपूर्तिसहितको नागरिक वडापत्र वमोजिम  त्यहाँ पनि काम भइरहेको सचिव बास्कोटाले बताउनुभयो । सचिव बास्कोटा नेतृत्वको टोली ललितपुर मालपोत कार्यालयमा पुग्दा त्यहाँको मालपोत कार्यालयले पनि सन्तोषजनक सेवा प्रवाह गरेको पाईएकोथियो । चालू आवमा सो कार्यालयले २३ करोड४६ लाख ३२ हजार ८ सय ३ रुपैयाँ राजश्व असुली गरेको पाइएको थियो । । सचिव वास्कोटाले छिन्न बाँकी मुद्दाको चाप बढी भएकाले सो कामलाई प्राथमिकता दिन निर्देशन दिनुभयो । ललितपुर नापी कार्यालयले चालू आवमा नक्सा प्रिन्टबाट १३ लाख ६४ हजार, रेखाङ्कनबाट ८७ लाख र फिल्डबुक उतारबाट २२ हजार राजश्व संकलन गरेको छ । निरिक्षणका क्रममा सचिव बास्कोटाले मालपोत र नापी कार्यालयको भौतिक पूर्वाधार राम्रो बनाउनुपर्ने बताउनुभयो |

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता