काठमाडौं-वीर अस्पताल आकस्मिक विभागको भित्री भागको एउटा अँध्यारो कोठा आइतबार खुलेन। न सधैंझैं जमघट, न हाँसो ठट्टा। आकस्मिक कक्षका चिकित्सक र कर्मचारीले सधैं ‘जम्ने’ त्यो कोठा आइतबार खोलेनन्। त्यो अँध्यारो कोठाको माहोल तताउने चिकित्सक भरत थापाको शनिबार हृदयाघातका कारण भएको निधनले आकस्मिक विभाग मात्रै होइन, अस्पताल नै शोकमा डुब्यो। अधिकांश चिकित्सक र कर्मचारीले उनीसँग जोडिएका क्षण सम्झे र उनलाई ‘मिस’ गरिरहे। ‘सधैं हाँसिरहने भरत यतै भेटिन्छ कि जस्तो लाग्छ,’ आकस्मिक विभागका पूर्व प्रमुख डा. डिपी सिंहले भने, ‘आइतबार कसैले पनि त्यो कोठामा जान खोजेनन्।’ विभागका चिकित्सक र कर्मचारीको मनमा सम्म्झना जति ताजै छ, त्यति नै त्यो कोठाभित्र उनीसँगका अन्तिम अविष्मरणीय क्षण बनेको सानो भोजको सम्झना जुठा प्लेटहरू अझै हटाइएको छैन्। डा. थापाले बिहीबार मात्रै दिएको ‘टि्रट’का प्लेट अझै एउटा कुनामा छ। बिहीबार अस्पतालका सहकर्मी चिकित्सक र कर्मचारीलाई डा. थापाले एउटा ‘टि्रट’ दिए। सात वर्षदेखि सोही विभागमा काम गर्दा उनले साथीभाइलाई कहिल्यै भोज खुवाएनन्। ‘बिहीबार अनौठो भयो, कसैले नभनिकनै भरतले मासु, चिउरा र दही खुवाए,’ डा.सिंहले भने, ‘उसले अवसरसमेत नखुलाई खुवाएपछि हामीले धेरै ठट्टा पनि गर्यौं।’ भरत अस्पतालमा हल्लाखल्ला नगरी बिरामीको सेवामा लाग्ने डाक्टरको रूपमा चिनिन्थे। बिरामीको सेवाबाट मिलेको फुर्सद उनी हाँसेर र हँसाएर बिताउँथे। ‘सहकर्मीहरू उसको हाँसो हेर्न जिस्काउँथे, जति प्रभोक गर्यो त्यति मुस्कुराउँथ्यो,’ डा. सिंह थप्छन्, ‘मानवीयभन्दा माथि गुण थियो, उसमा। आफूलाई चित्त नबुझेको कुराको पनि प्रतिवाद नगर्नु त ईश्वरत्व हो, ऊ जस्तो साधारण र सादगी कलिग मैले भेटेको छैन।’ सहकर्मीका अनुसार साधारण कपडामा अस्पताल आउने डा. थापा खान लाउनका सौखिन थिएनन्। विरामीको सेवा उनको प्राथमिकता थियो। चिकित्सकीय जीवनमा अधिकांश समय गाउँमा बिताएका उनले झन्डै एक दशक आफ्नै गाउँ गोरखाको आँपपिपल अस्पतालमा सेवा गरेका थिए। गोरखा, तनहुँ, स्याङजा जस्ता पश्चिमाञ्चलका पहाडी जिल्लाका बिरामीमाझ लोकप्रिय थिए डा. थापा। वीरमा रहँदा पनि उनलाई दिनहुँजसो ती ठाउँका बिरामी खोज्न आइरहन्थे। बिरामीका कार्ड बोकेर उनी विभिन्न ओपिडी धाउँथे। शुक्रबार पनि गोरखाबाट आएका हात भाँचिएका एक बिरामीको एक्सरे गराउन उनी आफैं रडियोलोजी विभाग आएको रेडियोग्राफर रामचन्द खड्का बताउँछन्। ‘उहाँ बिरामी लिएर आफैं आउनुहुन्थ्यो, शुक्रबार पनि सबै जाँच गराएर पठाउनु भयो,’ उनले भने। २०४३ सालमा चिकित्साशास्त्र अध्ययन संस्थानबाट एचएच, २०४८ मा सोही संस्थाबाट एमबिबिएस, २०५३ मा एमडिजिपी गरेका थिए भरतले। लगतै उनले दुई वर्ष पाटन अस्पतालमा काम गरे। त्यसपछि पाँच वर्ष पाल्पा अस्पतालमा। ‘एमडिजिपी गरेपछि ऊ सहरमा भन्दा गाउँमा उपचार गर्न चाहन्थ्यो,’ आँपपिपल नै स्थायी घर भएका वीरका अर्का वरिष्ठ चिकित्सक डा. यज्ञबहादुर भण्डारीले भने, ‘ऊ जन्मस्थानमै केही गर्छु भनेर आँपपिपल गयो।’ थापाकी आमासमेत पाल्पा मिसन अस्पतालमा स्वास्थ्य कार्यकर्ताका रूपमा कार्यरत थिइन्। ‘सामान्य परिवारमा जन्मिएको ऊ र निकै सरल स्वभावको थियो,’ डा. भण्डारी भन्छन्, ‘महत्वाकांक्षा धेरै नराख्ने र विपन्नको सेवामा रमाउने चिकित्सक थियो ऊ।’ २०५८ सालमा माओवादी द्वन्द्वका कारण अस्पताल चलाइरहेको मिसन फर्किएपछि अस्पताल अलपत्र अवस्थामा पुगेको थियो। अस्पताल सरकारले लिए पनि डाक्टर कोही थिएनन्। मिसन हुँदा १२ चिकित्सक रहने अस्पतालमा डा. थापा एक्लैले ९ वर्षसम्म सम्हाले। ‘गाउँका मानिस डाक्टरलाई भगवान् सम्झिन्छन, सहरीया पैसा दिएर राखेको ज्यालादार’ उनी सेवा गर्न गाउँ रुचाउनुको कारण खुलाउँथे। आँपपिपलमा छँदा उनी घर फर्किंदा बाटोमा समेत बिरामी जाच्दै हिँड्थे। सार्वजनिक विदाका दिन उनी काठमाडौं फर्कन्थे। आँपपिपलबाट बाटोमा पर्ने ठाँटीपोखरी, पालुङटार क्षेत्रका बासिन्दा उनको बाटो ढुकेर बस्थे। कुनै घरमा बिरामी छ भन्ने थाहा पाए, घरमै पुगेर जाँच्थे उनी। बिरामी जाँच्दै हिँड्दा करिब डेढ घन्टाको बाटो काट्न उनलाई तीन–चार घन्टासम्म लाग्थ्यो। चिकित्साबाहेक गीत संगीतप्रति रुची राख्ने उनले पछिल्लो समयमा एउटा एल्बमसमेत निकालेका थिए। जसमा अधिकांश गीत आँपपिपलकै परिवेश र जीवन भोगाइसम्बन्धी गीत छन्। २०६३ सालदेखि वीर अस्पतालमा कार्यरत उनी प्रत्येक महिनाको दोस्रो र चौथो शनिबार तनहुँको तुरतुरे पुगेर विरामी जाँच्थे। शनिबार तुरतुरे नै जाने क्रममा उनको बाटोमा हृदयघातका कारण निधन भयो। चिकित्सकीय जीवनका अधिकांश समय सरकारी सेवामा बिताएका डा. थापा गत असोज २६ गतेदेखि दसौं तहमा बढुवाका लागि योग्य भएका थिए। स्वास्थ्य मन्त्रालयले पनि बढुवाको फाइल तयार गरिसकेको थियो। ‘सैद्धान्तिक रूपमा फाइल बढुवा भइसकेको थियो, तर पत्र बुझ्न पाएनन्,’ डा.सिंहले भने। थापाको श्रद्दान्जली कार्यक्रम काठमाडौंको पुतलीसडक चर्चमा सम्पन्न भयो भने इसाई परम्परा अनुसार अन्तिम संस्कार पनि भयो । डा. थापाका श्रीमती, एक छोरा र एक छोरी छन्। छोराछोरी अमेरिकामा बस्छन्।
अस्ताए डाक्टर भरत थापा


0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता