९९ सय रुपैयाँको नुनका लागि दुई हजारको खर्च

images-cms-image-000002702
बाजुरा : बाजुराको दुर्गम गाउँ रुगिन र बिच्छ्याँका बासिन्दालाई ११ किलो नुन लिन एक साता धाउनुपर्ने बाध्यता छ। एघार किलो नुनको मूल्य ९९ रुपैयाँ रहे पनि जाँदआउँदाको बाटोखर्चसमेत गर्दा दुई हजारसम्म खर्च हुने गरेको छ। तीन दिन जान, तीन दिन आउन र एक दिन पूरै डिपोमा लाइनमा बस्नुपर्छ। बिच्छ्याँ -२ का मन थापाले भने, ‘एघार किलो नुन लिन सात दिन लाग्छ। नुनको मूल्यभन्दा धेरै गुना बढी खर्च आवतजावतमा लाग्छ।’
मनले सरकारले अनुदानमा उपलब्ध गराएको आयोडिनयुक्त नुनको एघार किलोको प्याकेट भर्खर मात्र घर भित्र्याएका छन्।
यो समस्या मन थापाको मात्र होइन, बाजुराको उत्तरी क्षेत्रका सबै बासिन्दाको हो यो। उत्तरी क्षेत्रका ११ गाविसका जनतालाई सेवा दिन कोल्टीमा स्थापना भएको नुन डिपोबाट बिच्छ्याँ, गोत्री, साप्पाटा, रुगिन, जुकोटमा नुन लिन आवतजावत गर्न चार दिनदेखि एक साता लाग्छ।
बिच्छ्याँबाट कोल्टी पुग्न तीन दिन र फर्कन तीनदेखि चार दिन लाग्छ। वाई ५ की पानकला बूढाले ९९ रुपैयाँको नुन किन्नका लागि एक हजार ऋण काँढेकी छन्। ‘यति सकसले ल्याएको नुनले २० दिन पनि राम्रोसँग पुग्दैन’, बूढाले भनिन्।
ढुवानी अनुदानको नुन जिल्लाको सदरमुकाम मार्तडी र कोल्टीबाट बिक्रीवितरण भइरहेको छ। नुन प्रतिकेजी नौ रुपैयाँका दरले बिक्री भइरहेको छ। बजारमा किन्दा यो नुन प्रतिकेजी ३५ भन्दा बढी पर्छ। ‘महिनाको एक पटक एक परिवारलाई ११ केजी नुन मात्र पाइन्छ। ‘चार घन्टा भयो लाइनमा बसेको अझै नुन पाएको छैन। नुन लिन पनि साह्रै दु:ख भएर’, लाइनमा बसेका बिच्छ्याँ २ का बृखबहादुर भण्डारीले भने।
सरकारले नुन कम पठाउने भएकाले प्रतिपरिवार महिनाको एक पटक ११ केजीका दरले बिक्री गर्नुपरेको नुन डिपो कोल्टीका दलबहादुर रोकायले बताए। ‘हामीलाई पनि थाहा छ। एक परिवारलाई ११ केजी नुनले त पुग्दैन। तर आउँदा नै कम आउँछ। त्यही पनि विकट गाविसकालाई लिन आउन साह्रै समस्या छ’, रोकायाले भने। केल्टीका लगि यो वर्ष दुई हजार तीन सय किलो नुन आएको छ। एक हजारभन्दा बढी बिक्री भइसकेको छ।
एकातिर सहुलियतको नुन जनताले सहज रूपमा पाउन सकेका छैनन्। अर्कोतिर सदरमुकाम मार्तडी र कोल्टीमा त्यही नुनको कालोबजारी भइरहेको छ। ‘न अनुदानको नुन सरकारले आवश्यकताबमोजिम दिन सकेको छ न त अनुगमन नै गर्न सकेको छ’, नागरिक समाजमा शेर शाहीले बताए।
‘सामान्य गाँसका लागि पनि घन्टौं लाइनमा बस्नुपर्छ। त्यही पनि आवश्यकताअनुसार पाइँदैन। बाजुरावासीको बाँच्न पाउने अधिकारसमेत हनन भएको छ’, नागरिक समाजका शाहीले भने। रुगिन बिच्छ्याँ गाविसका लागि रुगिनको कवाडीमा नुन डिपो राख्नुपर्ने स्थानीयले माग राखे पनि सरकारले वास्ता गरेको छैन। सहायक प्रमुख जिल्ला अधिकारी जयबहादुर हितानले उनीहरूलाई नुन किन्न समस्या भएको बताए। उनले भने, ‘यसका लागि केन्द्रबाटै पहल हुनुपर्छ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता