डनलाइ छुटाउन प्रधानमन्त्री कार्यालयबाट फोन

pm_sushil_koirala
Ramesh-kharel
फागुन १ , काठमाडौं । अघिल्लो सरकारकै पालामा पक्राउ परेका डनलाई छुटाउन नयाँ प्रधानमन्त्रीको कार्यालयबाट फोन जान थालेको छ । काठमाडौं प्रहरीले थालेको ‘गुन्डा अपरेसन’का क्रममा पक्राउ परेका बलराम सापकोटा ‘बले’ र तेजेन्द्र गुरुङलगायतलाई छुटाउन प्रधानमन्त्रीकै पिएले प्रहरीलाई फोन गरेका छन् ।
 स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाका पिए लक्ष्मण ढकालले ‘बले’लाई छुटाउन प्रहरी नेतृत्वलाई दबाब दिएका छन् । प्रहरी नेतृत्वले काठमाडौं प्रहरी प्रमुख रमेश खरेललाई ‘बले’लाई छाड्न प्रधानमन्त्री कार्यालयबाटै फोन आएको जानकारी गराएको छ । तर, खरेलले त्यस्तो दबाब नसुन्ने जवाफ दिइसकेका छन् ।
 कांग्रेसका सभासद् तीर्थ लामा भने बलेलाई छुटाउन हनुमानढोका नै पुगेका थिए । ‘मलाई चुनावमा सहयोग गरेको मान्छे हो, छुटाइदिनुपर्‍यो दाइ’ भन्दै उनी हनुमानढोका नै पुगेर दबाब दिएको काठमाडौं परिसरका एक उच्च अधिकारीले बताए । सभासद् लामा र बले काभ्रेका हुन् । तर, खरेलले बले गलत व्यक्ति भएकाले छाड्न नसक्ने भन्दै सभासद् लामाको आग्रहलाई अस्वीकार गरिदिएको स्रोत बताउँछ ।
 त्यस्तै महाराजगन्ज क्षेत्रका व्यवसायीलाई धम्क्याएर असुली गर्दै आएका तेजेन्द्र गुरुङलाई छुटाउन कांग्रेस तथा एमालेका प्रभावशाली नेताले दबाब दिएका छन् । कांग्रेसका नेताहरू प्रकाशमान सिंह र जगदीश्वरनरसिंह केसीले दैनिकजसो प्रहरी अधिकारीलाई फोन गरेर दबाब दिने गरेको स्रोत बताउँछ । बले र तेजेन्द्र दुवैविरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ । जिल्ला प्रशासन कार्यालयमा छिटो अनुसन्धान–प्रतिवेदन बुझाएर छुटाउन नेताहरूले दबाब दिएका हुन् ।
 एसएसपी खरेलले केही व्यक्तिलाई छुटाउन केही व्यक्तिको दबाब आएको स्विकारे तर क–कसले दबाब दिए भन्ने विषयमा भने बोल्न चाहेनन् । बले गत बिहीबार एसएसपी खरेललाई भेट्न जाँदा पक्राउ परेका थिए ।
 ‘क्यासिनो किङ’का नामले चिनिने उनी प्रहरी अधिकारीलाई समेत आर्थिक प्रभावमा पारी क्यासिनोमा करोडौँ कमाउन सफल भएका व्यक्ति हुन् । रातारात करोडपति बनेका उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले समेत छानबिन गरिरहेको छ ।
 तेजेन्द्र गुरुङ डन चक्रे मिलनका भाइ हुन् । महाराजगन्ज क्षेत्रका मेनपावर तथा हाउजिङ व्यवसायीलाई पटक–पटक धम्क्याएर पैसा असुली गरेको आरोपमा उनी गत साता पक्राउ परेका थिए ।
 खरेलले गुन्डागर्दी अपरेसनलाई अभियानकै रूपमा अगाडि बढाएका छन् । चक्रेका अर्का सहयोगी दीपक तालुलाई पनि उनले पक्राउ गरिसकेका छन् । तालुको गाडीबाट प्रहरीले खुकुरीसमेत बरामद गरेको छ । त्यस्तै बानेश्वर क्षेत्रमा गुन्डागर्दी गर्दै आएका पन्चे लामा र रिंकी भनिने रिजन लिम्बू पनि पक्राउ परिसकेका छन् ।
 प्रधानमन्त्री सुशील कोइरालाका पिए लक्ष्मण ढकालले बुधबार राति  भने, ‘चुनावअघि बलेलाई भेटेको हुँ, अहिले भेटेको छैन, प्रहरीलाई दबाब पनि दिएको छैन तर विनाकारण कसैलाई थुन्न पाइँदैन ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता