इजरायलबाट देखिएकी दिलशोभा


dilsobha shrestha
काठमाडौ, फाल्गुन २० - एकाएक बुधबार बिहान दिलशोभा श्रेष्ठको यौनदुराचारको आरोपको खबरले विभिन्न अनलाइन पत्रिकाहरुमा ठाउँ पाएको देखेँ । फेसबुकका भित्ताहरु निक्कै तातेका थिए । म छाँगाबाट खसेको जस्तो झसङ्ग भएँ । के यस्तो पनि हुन सक्छ ? भन्ने मनमा धेरै किसिमको प्रश्नहरु उब्जिए । उहाँको दुई वर्ष अगाडिको दिशानिर्देशमा अन्तर्वार्ता हेरेकी थिएँ । उहाँको अन्तर्वार्ता हेर्दै जाँदा निक्कै भावुक भएर उहाँप्रति अति सम्मान, आदर जागेर आयो । ह्‌दयमा उहाँले निक्कै उच्च स्थान पाउनुभयो ।
उहाँको समाजसेवाको भावना अर्थात् उहाँले लामो समयदेखि समाजमा योगदान दिँदै आउनुभएको अति सराहनीय, प्रेरणादायी कार्यको बयान गर्न शब्दमा कुनै स्थान दिएर पनि सकिँदैन । उहाँले समाजमा दिनुभएको योगदानप्रति हामी प्रवासीहरुलाई पनि केही दायित्व र कर्तव्यबोध भयो । हामीले पनि इजरायलबाट रकम सङ्कलन गरी आमाघरलाई हस्तान्तरण गर्यौँ !
आमाघरमा उहाँले सेवा गर्दै आउनुभएको वृद्ध, बालबालिकाहरु ८०, ९० जनाको सङ्ख्यामा एक साधारण नपढेको र उमेरमा पनि ६० वर्षभन्दा माथिनै भइसक्नुभएको उहाँलाई त्यति धेरैको सङ्ख्यामा सेवा दिनु भनेको कुनै मामुली चानचुने कुरा होइन । हामीलाई हाम्रै दुई जनाको परिवार व्यवस्थित गर्न मुस्किल पर्छ । टीकाटिप्पणी गर्नुभन्दा पहिला यसको पनि समाजले मूल्याङ्कन गर्नुपर्छ ।
यौनदुराचारको अति गम्भीर उहाँप्रति लागेको आरोपले दिलशोभाको दिलमा त चोट लाग्यो लाग्यो, उहाँप्रति आदर, सम्मानको भावना जागेका सम्पूर्ण महानुभावहरुको दिलमा पनि यो प्रकरणले निक्कै ठूलो चोट पुर्याएको छ ! दिलशोभा प्रकरणले समस्त समाजलाई नै तरङ्गित पारेको छ ! हरेक परोपकारी मनहरुमा प्रश्न उब्जाइदिएको छ । यदि यो प्रकरण सत्य साबित भइदियो भने समस्त समाजसेवीहरुप्रति हेर्ने दृष्टिकोण कस्तो होला ? प्रसङ्ग दिलशोभाको मात्र नभएर समस्त समाजमा कस्तो किसिमको प्रभाव पर्ला त ?
यौनदुराचार जस्तो अति संवेदनशील, गम्भीर आरोपमा एकतर्फी साधारण कुराकानीको अडियो रेकर्डको आधारमा एक प्रतिष्ठित पत्रिकाले प्राथामिकताका साथ समाचार बनाउनुले परोपकारी पत्रकारितामा कतिको विश्वसनीयता छ छर्लङ्ग देखाएको छ । के कलम छ भन्दैमा कसैको मानसम्मानको ख्यालै नराखी जथाभाबी लेख्ने अधिकार कलमजीवी महानुभावहरुमा छ ? राज्यको चौथो अङ्ग मानिएको पत्रकारितामा दिलशोभा प्रकरणले अग्निपरीक्षा नै लिने देखिन्छ ।
उजुरीको भरमा मापदण्ड नपुगेको भनी मानवअधिकारवादी, बालअधिकारवादी प्रशासनको सहयोगमा सञ्चालिका दिलशोभाको आमाघरबाट ३४ बालबालिका त उद्धार गरेर राम्रै गरे । तर कैयौँ बालश्रमिकहरुको कसले उद्धार गर्ने । अझ कैयौँ रोडमा, खुला आकाशमुनि सुतेका बालबालिकाहरुको कसले उद्धार गर्ने ? कैयौँ कुपोषण लागेका बालबालिकाहरुको कसले उद्धार गर्ने ? के हाम्रो देशमा मापदण्ड पुगेर होला धेरै बालबालिकाहरु सडकमै सुत्छन् ? राज्यले रोजगारी दिन नसकेर मुखमा माड र एकसरो लाज ढाक्नका लागि काखको दुदे बालक छोडेर कैयौँ आमाहरु बिदेसिएका छन्, आमा जिउदै छदा छदै टुहुराको सामना गर्नु परेको दुधे नाबालकहरुको बालअधिकारको मापदण्डको कुरा गर्ने हो कि ? यदि मानवअधिकारवादी राज्यको निकाय प्रशासन त्यति सक्षम छन् भने मुम्बईको कोठीमा बेचिएका नारकीय जिन्दगी बिताइरहेका चेलीहरुको उद्धार गरेर देखाउने हो कि ?
यदि दिलशोभा दोषी छिन् भने उनलाई पनि कानुनले छोड्नेछैन, यदि दिलशोभा दोषी छैनन् भने आरोपी तथा भ्रमित समाचार प्रचारप्रसार गर्नेलाई पनि कानुनको कठघरामा उभ्याउनै पर्छ । सत्यतथ्य कुरा छिटोभन्दा छिटो बाहिर आउनुपर्छ, वास्तविक कुरा दुधको दुध पानीको पानी छर्लङ्ग हुनु जरुरी छ । फेरि पनि समाजमा यस्ता घटना नदोहोरिऊन् ।
- इजरायलबाट

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता