पढाइप्रति घट्दो रुचि

आजभोलि विद्यार्थीहरूमा पढ्ने बानी बढ्नुको साटो घट्दै गएकोमा शिक्षालय, शिक्षक तथा अभिभावक चिन्तित बनेका छन् । विद्यार्थीहरूमा पढाइप्रति चरम वितृष्णा पैदा हुनथालेको छ । देशको निराशाजनक अवस्था, शैक्षिक बेरोजगार, वैदेशिक रोजगारमा पढाइ अनुरुपको काम नपाउने अवस्था तथा विद्युतीय सञ्चारमाध्यमको बढ्दो प्रयोगले गर्दा विद्यालय तथा महाविद्यालय तह दुवै क्षेत्रका विद्यार्थीहरू आफ्नो पाठ्यक्रमको पढाइप्रति त्यति गम्भीर देखिएका छैनन् । एकातर्फ विद्यालय तहका विद्यार्थीहरूले पढ्ने काम भनेको विद्यालयमा मात्र भएको छ, त्यसमा पनि विभिन्न आन्दोलन र शैक्षिक मागहरू पुरा गर्ने निहुँमा विद्यालयमा पनि सरकारले तोके अनुसारको १८० दिन पढाइ पुरा भएको देखिँदैन । 'साँढेको जधाइ र बाछाको मिचाइ'मा त उनीहरू पेलिएकै छन्, त्यसका अतिरिक्त घरमा टेलिभिजन, कम्प्युटर र मोबाइलमा आउने रमाइला खेलहरूले उनीहरूको निदासमेत बिर्साइदिएको छ ।
विद्यालयमा त सिक्न जाने हो, त्यसलाई अध्ययन र चिन्तन गर्ने काम घरमा बसेर हो । तर आजभोलि विद्यार्थीहरूले मुस्किलले गृहकार्य गरे पनि बाँकी समय विद्युतीय सञ्चारमाध्यममा नै रमाउन उनीहरू
मनपराउँछन् । मोबाइल र टेलिभिजनको किरो बन्ने यो बानीलाई हटाउन अहिले अभिभावकलाई हम्मे-हम्मे परेको छ । हरेक विद्यालयको अभिभावक बैठकमा आफ्ना छोराछोरीले अत्यधिक टेलिभिजन हेरेको र त्यसैको कारण पढाइ खस्कँदै गएको कुरा दुःखी हुँदै बताउँछन् ।
एक दशकभन्दा बढी समय विद्यालय तथा महाविद्यालयसम्म शिक्षण गर्दाको अनुभवमा पछिल्लो समयमा मैले विद्यालयका विद्यार्थीहरूबीच चरम निराशा भएको अनुभव गरेँ । आफूभन्दा ठूलो झोलाको भारी बोकेर, सकी-नसकी अंग्रेजी बोलेर, बन्धन लाग्ने टाई लगाएर कक्षाकोठामा बिहान १०-४ बजेसम्म काठका मेचमा एकपाटो भएर बस्दा-बस्दा उनीहरू वाक्क छन् । अनुशासनको नाममा जबर्जस्ती थोपरिने नियमहरूमा बाँधिँदा उनीहरू दिक्क छन् भने शिक्षक केन्दि्रत पठनविधिले कक्षाको वातावरण बालमैत्री हुनसकेको छैन ।
सहरी क्षेत्रमा मन्टेश्वरी शिक्षा पद्धति भनेर पूर्वप्राथमिक तहका केही कक्षाहरूमा परिवर्तन ल्याउन खोजेजस्तो देखिए पनि सम्पूर्ण विद्यालयमा यो लागू हुनसकेको छैन । सहरी इलाकामा मात्र आधुनिक शिक्षा पद्धतिका केही विधिहरूको प्रयोग गरिए पनि ग्रामीण भेगमा परम्परागत शिक्षा पद्धति नै कायम छ, जसबाट विद्यार्थी केन्दि्रत शिक्षण हुनसकेको छैन । कतिबेला विद्यालय छुट्ला र घर जान पाइएला भनेर उनीहरू निसासिएका हुन्छन् र सार्वजनिक बिदा हुने बित्तिकै खुसीले उचालिन्छन् ।
अझ सरकारी विद्यालयहरूमा विद्यार्थीहरूको पढाइमा कसरी रुचि जगाउने भन्ने सन्दर्भमा त न राज्य नै प्रयत्नशील छ, नत अन्य निकाय । शैक्षिक सत्र सुरु भएको तीन महिनासम्म पनि समयमै विद्यालयमा पाठ्यक्रम पुग्दैन, असार लागेपछि बर्खे बिदा हुन्छ, अनि केही समयमै प्रथम त्रैमासिक परीक्षा आइपुग्छ । किताबै नपढी परीक्षा दिनुपर्नेर् बाध्यतामा उनीहरू रहन्छन् । त्यसपछि चाडपर्वका सिलसिलाहरू चल्न थाल्छन् । लामो बिदा हुन्छ, अनि समयमै किताब नपाउँदा पढाइप्रतिको दिलचस्पी त्यसै हराएर जान्छ ।
देशको हरेक क्षेत्रमा राजनीतिले प्रभाव पार्ने गर्छ । त्यसमा पनि शैक्षिक क्षेत्रमा यसको अझै बढी प्रभाव परेको देखिन्छ । दलगत स्वार्थका नाममा गरिने विरोधको पहिलो निसाना पनि विद्यालय नै पर्नेगरेको छ । विद्यालय शान्ति क्षेत्र भनेर मुखले भने पनि बेला न कुबेला विद्यालय बन्द हुने स्थितिले पनि विद्यार्थीहरूको पढाइमा रुचि घट्दै गएको देखिन्छ । पढाइमा रुचि जगाउन पाठ्यक्रमको पनि उत्तिकै भूमिका हुन्छ । आजभोलि पाठ्यक्रम निर्माणमा पनि समावेशीकरणलाई अपनाउनपर्ने भएकोले होला, देश र राष्ट्रियताप्रति समर्पित पाठ्य-सामग्रीभन्दा पनि व्यक्तिका रचनाको प्रभाव बढी देखिन्छ । विद्यालय जीवनमा सिकेको कुरा अमिट भएर दिमागमा बस्ने भएकोले राष्ट्रप्रति गर्व गर्ने खालका रचना समावेश गरिनुपर्छ ।




कक्षा ११ को अनिवार्य नेपालीमा सुरुकै पानामा माधव घिमिरेको 'नेपालै नरहे' कविता पढाउनुपर्दा कविताको मूलभाव सकारात्मक भए पनि शीर्षकले दिने व्यञ्जनार्थले यसलाई पाठ्यक्रमको अलि पछाडि राखेको भए हुन्थ्यो अथवा माधव घिमिरेको अरु कुनै राष्ट्रवादी कविता राखेको भए सहज हुने थियो भन्ने अनुभूति हरेक विषय शिक्षकलाई हुने गर्छ । विद्यार्थीहरूलाई देश र समग्र राष्ट्रप्रति श्रद्धाभाव झल्काउने काम गीत-संगीतबाट पनि गराउन सकिन्छ । तर लोकगायक पशुपति शर्माको 'सरले उता पढाउनी, हाम्ले आँखा जुधाउनी' भन्ने खालको गीतले क्याम्पस पढ्न हैन, प्रेम गर्न आउने हो भन्ने खाले सन्देश दिन्छ । पक्कै पनि विद्यार्थीको पढाइलाई यस्ता गीतले उँभो लगाउँदैन, बरु विद्यार्थीलाई उडन्ते र उच्छृङ्खल बनाउन सहयोग गर्छन् । सुन्दा सामान्य लाग्ने तर दीर्घकालीन विकासमा असर पार्ने यस्ता कैयौं कुरामा समयमै ध्यान पुर्‍याउनु आवश्यक छ ।

, , ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता