शिक्षामा गुणस्तरीयताको प्रश्न
शिक्षामा गुणस्तरीयताको प्रश्न
सधैं एसएलसीको परीक्षाफल प्रकाशित भएपछि शिक्षाको गुणस्तरीयता बारेमा धेरै चर्चापरिचर्चा सुरु हुन्छ । नतिजासँगै जोडिएका मिश्रति समाचारहरूले हामी सबैलाई सोच्न बाध्य बनाउँछन् । एकातिर सर्वोत्कृष्ठ अंक ल्याउने होड तथा खुसियालीका लहर भने अर्कातिर असफलता र मृत्युका दर्दनाक घटनाक्रमहरू र त्यस सम्बन्धी खबरहरू । यी दुई मानवीय संवेदनाको ध्रुवीकरणभित्र परीक्षा प्रणाली, नतिजामुखी मानसिकता र शैक्षिक गुणस्तरीयतामाथि ठूलो प्रश्न उब्जिएको छ ।
विद्यालयको पहिलो उद्देश्य समाजमा शिक्षित उत्पादनशील व्यक्तित्वको निर्माण गर्नु हो । दोस्रो र अझ महत्त्वपूर्ण पक्ष उनीहरूलाई पूर्ण क्षमतावान तथा आत्मनिर्भर भई सोच्न, सहकार्य र समन्वय गरी जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न सक्षम बनाउनु हो । विद्यालयबाट शैक्षिक सफलता (कक्षोन्नति) मात्रको अपेक्षा गरिंदैन, नत विद्यालयको गुणस्तरीयतालाई विद्यार्थीले प्राप्त गर्ने अंकसँग तुलना गरी शिक्षाको उद्देश्य पुरा भएको अनुमान गर्न सकिन्छ । विद्यालय र विद्यालयबाट प्राप्त गर्ने शिक्षाको परिणामले थप ज्ञान, सीप र क्षमताको आशा राखिएको हुन्छ, हुनुपर्छ । त्यसैले तीन आर/थ्री आर अर्थात् पढाइ, लेखाइ र गणित मात्रले हाम्रो गुणस्तरीयताको उद्देश्य पुरा हुनसक्दैन । विद्यालयले बालबालिकाको अवधारणात्मक ज्ञानमा वृद्धि गराउनुका साथै सामाजिक, संवेगात्मक र थप बौद्धिक क्षमता विकासका अवयवहरूलाई समेट्नुपर्छ । पाठ्यक्रममा आधारित भएर पाठ्यपुस्तक र पाठ्य सामग्रीको प्रयोग अनि सोही अनुरुपको मूल्याङ्कन प्रणालीले एउटा वर्गका बालबालिकालाई त सकारात्मक प्रभाव पार्ला, तर धेरै बालबालिकालाई सहयोग नगरेको प्रमाणित भैसकेको छ ।
के शिक्षाको गुणस्तरीयता विद्यार्थीले ल्याउने अङ्कबाट मात्र मापन हुन्छ ? के शिक्षाको सफलता विद्यालयले लिने औपचारिक परीक्षाबाट मात्र प्राप्त गर्न सकिन्छ ? के हाम्रो विद्यालय शिक्षालाई बिना परीक्षाको बनाउन मिल्दैन ? हाम्रो सन्दर्भमा हेर्दा असम्भव नै लाग्ने कुरा विश्वकै शिक्षामा उत्कृष्ठ मानिएको राष्ट्र फिनल्यान्डमा प्रयोग भैरहेको छ । शिक्षक रिनोल्टा भन्छिन्, 'किन परीक्षा ? हामी बालबालिकालाई सफल र असफलको दर्जा दिने व्यक्ति होइनौं । बालबालिकाको बारेमा यी परीक्षाले भन्ने कुराभन्दा धेरै कुरा हामीलाई थाहा छ । त्यसैले परीक्षाको कुनै अर्थ छैन ।' त्यसैले फिनल्यान्डमा बालबालिकालाई परीक्षाको अनावश्यक तनाव दिनुभन्दा उनीहरूको सिक्ने क्षमता विकासका लागि आवश्यक तयारी गरिन्छ ।
विद्यालय शिक्षाको सफलताको जग औपचारिक कक्षा सुरु हुनुभन्दा धेरै पहिले नै बस्छ । सिकाइ जन्मबाट सुरु हुन्छ, अनि मृत्युपर्यन्त रहन्छ । मनोसामाजिक विज्ञ जोन ली भन्छिन्, 'कुनै पनि बालबालिकाले पढ्न, लेख्न र सम्झन तबसम्म सक्दैन, जबसम्म ऊ मनोसामाजिक रूपमा त्यसको लागि तयार हुँदैन । र यस्तो तयारी विद्यालय आउनु पहिले नै सुरु गर्नुपर्छ ।' बालबालिकाको मनोसामाजिक विकास तथा बौद्धिक क्षमतालाई अझ परिस्कृत बनाउन विभिन्न थप क्रियाकलापहरू गर्नुपर्छ । त्यसैले विद्यालयको औपचारिक शिक्षा सुरु गर्नुभन्दा पहिले खेलको माध्यमबाट पढाइ, लेखाइका साथै सामाजिक तथा संवेगात्मक सीपहरूको विकास गरिन्छ । यो नै औपचारिक शिक्षाको जग हो । त्यसैले विद्यालयको औपचारिक शिक्षा ७ वर्ष उमेर पुगेपछि मात्र सुरु हुन्छ, फिनल्यान्डमा । दिमागी क्षमताको विकासको अवस्थालाई अध्ययन गर्दा मानव मस्तिष्कको सबैभन्दा तीव्र विकास जीवनको पहिलो आठ वर्षसम्म हुन्छ । यस समयमा बालबालिकालाई विद्यालयप्रति सकारात्मक धारणाको विकास गराउँदै क्रमशः सिक्ने क्षमताको विकास गराउनुपर्छ । आत्मविश्वास र बिना कुनै हिचकिचाहट आफू र आफ्नो क्षमतालाई प्रदर्शन गर्न दिइने वातावरणले बालबालिकाहरूमा पढाइप्रतिको लगाव
बढै जान्छ ।
स्नायु विज्ञानले प्रमाणित गरेको छ कि बालबालिकाको सबैभन्दा उत्तम सिकाइ मायालु वातावरणमा मात्र सम्भव छ । आमाबा, आफन्त र शिक्षक/सहजकर्तासँंगको मायालु वातावरण र दरिलो सम्बन्ध नै बालबालिकाको मस्तिष्क विकासका लागि महत्त्वपूर्ण तत्त्व हो । उनीहरू भयरहित वातावरणमा आफूलाई सक्रिय बनाइराख्न चाहन्छन्, जुन म्ास्तिष्क विकासका लागि अति नै आवश्यक हुन्छ । विद्यालय आउनु अघि र विद्यालयमा पाउने वातावरणले बालबालिकाको मस्तिष्क विकासमा संवेदनशील भूमिका खेलेको हुन्छ । बाल विकास विशेषज्ञ मेरी योङ भन्छिन्, 'बालबालिकाहरूमा आफ्ना संवेगहरू नियन्त्रण गर्नसक्ने सीपको विकास गर्ने वातावरण प्रदान गरिएमा यिनीहरूको सिकाइ दिगो हुनुका साथै आत्मनियन्त्रण तथा जिम्मेवारी पुरा गर्नसक्ने सीपको विकास हुन्छ । त्यसैले सकारात्मक र राम्रो अनुभवबाट नै मस्तिष्कलाई क्रियाशील, राम्रो र सक्षम बनाउन सकिन्छ । ज्ातिसक्दो राम्रा अनुभवहरू दिन सकिन्छ, मस्तिष्कको विकास त्यही अनुरुप हुन्छ ।' परीक्षाको तनावले बौद्धिक क्षमतामा त ह्रास आउँछ नै, उनीहरूको संवेगात्मक क्षमतालाई पनि डर र त्रासले क्रमशः घटाउँदै लैजान्छ । फलस्वरुप परिणाम आउनु अघि नै परिणामको सामना गर्ने क्षमताको कमी हुन्छ, जसले गर्दा आत्महत्यासम्म गर्न तयार हुन्छन्, हाम्रा बालबालिका ।
प्रत्येक विद्यार्थी अलग छ, अलग परिवेशबाट आएको छ र सिक्ने र सिकेका कुरा प्रस्तुत गर्ने शैली पनि अलग छ भन्ने कुरालाई पटक्कै ध्यान नदिई सबैलाई परीक्षा नामको एउटै कसीले तौलिँदा गरिएको अन्यायलाई कसरी र कसले लेखाजोखा गर्ने हो, अझै अन्योल देखिन्छ । पाठ्यक्रम र पाठ्य सामग्रीको अभावको रट लगाउन समय खर्चिने तर बाल मनोविज्ञान र बाल मनोभावनालाई बेवास्ता गर्ने परिपाटीले यस्ता समस्यालाई बढाउँदै लैजान्छ । प्रत्येक वर्ष एसएलसीको परिणामलाई विश्लेषण गर्दै विद्यालयलाई राम्रो र नराम्रो भनी स्वस्फुर्त स्तरीकरण गर्ने-गराउने शिक्षाकर्मीहरूले यो एक वर्षको मिहेनतको फल हो भनेर बुझ्नु नै गलत हुनजान्छ । गुणस्तरीय शिक्षा तबमात्र स्थापित हुन्छ, जब बालबालिकामा किताबी ज्ञानको अलावा आत्मनिर्भर, उत्पादनमुखी, सिर्जनशीलता जस्ता सामाजिक सीप विकास तथा भावनात्मक सन्तुलन, संवेगमा नियन्त्रण, सही आचरण, विवेकशील र असल व्यवहारको प्रदर्शन वृद्धि हुनथाल्छ ।
मिना दाहाल काठमाडौं विश्वविद्यालयबाट शिक्षाशास्त्रमा विद्यावारिधि गर्दैछिन्


0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता