बास्कोटाले भने- घरको छतमा तरकारी लगाएर पनि आत्मनिर्भर बन्न सकिन्छ -
१८ बैशाख, काठमाडौं । प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाले घरको छतमा तरकारी खेती गरेर पनि आत्मनिर्भर बन्न सकिने बताएका छन् । बधुबार राजधानीका केही घरहरुमा रहेका रुफ टप गार्डेन तथा कम्पोष्ट मल कारखानाको निरिक्षणपश्चात उनले सो कुरा बताएका हुन् ।
सचिव बास्कोटाको टोली निरिक्षणको क्रममा सबैभन्दा पहिला कालीकास्थानस्थित साहित्यकार पवन आलोक र गृहणी रेखा कडेलको रुफ टप गार्डेनमा पुगेको थियो । त्यहाँ करिव ७०० स्क्वायर फिटको सानो कौशीमा जुनार, कागती, खुर्सानी, गोलभेडा, फूल, करेला, घ्यू कुमारी, तितेपाती, वन-पिपल, अम्वा, आँप, अनार, निगालो, लसुन, साँग, सिमी, सुन्तला, उखु गमलामा लगाएको भेटिएको उनले बताए ।
चार फिट अग्लो जुनारको वोटमा १४ दाना फलेको, ३ फिट अग्लो कागतीको वोटमा १०० दाना फलेको, अकवरे खुर्सानी वोटभरी लटरम्मै फलेको कुरा गृहणी रेखा कडेलले टोलीलाई बताएकी थिइन् । उनकाअनुसार हरियो तरकारी आफुलाई पुगेर पनि छिमेकीलाई बाँड्ने गरिएको छ । गमला, चामलको वोरा, आटाको सानो वोरा, फालिएका टिनका वट्टा सबैको प्रयोग गरेर तयार गरिएको करेसा वारीमा चारैतिर फूल फूलेको देख्दा आफु निकै प्रभावित भएको सचिव वास्कोटाले बताए ।
‘टाउको दुखेको, पोलेको बेलामा तितेपानी प्रयोग गर्ने गरेको छु, विहान वेलुकी वर-पिपलको पात देउतालाई चढाउँछु, इन्द्रकमल फूलको वासना घर भरी फैलिएको छ, जमिन नभएर के भो त ? सबै तरकारी फलाएकै छु’ जगदिश घिमिरेले ‘जागरिली वुहारी’ को पदवी दिएको कुरा रेखा कडेलले टोलीलाई वताइन् । उनको आकाशे बंगैचालमा गुलाफ, रंगिन कृष्णमली, इजरायलको खुर्सानी, लट्टेको साग लगायत थुप्रै वोट विरुवा रहेका थिए ।
त्यसपछि अनुगमन टोली शेयर वजारका लगानीकर्ता दिलिप श्रेष्ठको छतमा पुगेको थियो । उनको छतमा दुवो, लसुन, प्याज, किवीको वोट, लट्टेको साग, गोलभेडा, तनेवोडी, भिण्डी, छ्यापी, ध्यू सीमी, काक्रो, गाजर, खुर्सानी, अंगुर, फर्सी, धनिया, जिम्वू, पुदिना, भण्टा, लौका, अम्वा, कागतीका रुख र विरुवाहरु देख्दा सचिव वास्कोटाले चकित भएका थिए ।
अनुगमन टोलीमा रहेका काठमाडौं महानगरपालिकाका कार्यकारी लक्ष्मण अर्यालले रुफ टफ गार्डेनका लागि ६ सय ५० जनालाई तालीम दिई सकेको, यसैवर्ष थप ५ सय जनालाई तालीम दिने तयारीमा रहेको बताए । फोहोर मैला प्राविधिक केन्द्रका कार्यकारी प्रमुख डा. सुमित्रा अमात्यले फोहोर व्यवस्थापन गरी प्राङ्गारिक मल उत्पादनमा केन्द्रले सघाउने बताइन् ।
सचिव वास्कोटाले रुफ टप गोर्डेनको अवधारणासँग सबै परिचित हुनुपर्ने धारणा व्यक्त गरे । फुर्सदको समयको उपयोगवाट हरियो तरकारी र फलफूलमा आत्मनिर्भर हुन मद्दत पुग्ने उनको धारणा थियो । ‘सामान्य खर्चमा भान्छाबाट निस्किएका फोहोर र पानीवाट करेसावारी संचालन गर्न सकिने रहेछ’ उनले भने- ‘छतको हरियालीले परिवार मै सुख र सम्वृद्धि ल्याउने देखियो, अब रुफ टप गार्डेनको अवधारणालाई राज्यकै नीतिमा समावेश गरेर अगाडी बढ्नुपर्छ ।’
अनुगमन टोलीले चोभारस्थित नेप्सेम्याकले संचालन गरेको कम्पोष्ट मल उत्पादन केन्द्र लगायतको अनुगमनमा पुगेको थियो । त्यसपछि टोलीले सैंवूको वायोकम नेपालको कम्पोष्ट मल कारखाना निरीक्षण गर्यो । सोही अवसरमा सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले फोहोरलाई मोहर बनाउने काममा उद्यमीलाई सघाउन सरकार तयार रहेको प्रतिक्रिया व्यक्त गरे ।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता