पोखराबाट बाट लमजुङको करापुटार डडुवा यात्रामा देखियको रमाईलो पलहरु

13102733_1064004447017262_4534229618018682576_n


वैशाख २५, २०७३ पोखरा बाट लमजुङ तिरको यात्रा तालहरुको वाटिका लेखनाथ नगरपालिका। चिरिच्याट्ट शहर। पोखरा बजारदेखि १० किलोमिटर उत्तरपूर्वमा अवस्थित लेखनाथलाई सात तालको बगैंचा सहर भनिन्छ। जहाँ रुपा, बेगनास, खास्टे, गुँदे, न्यूरेनी, मैदी र दिपाङ ताल छन्।
 
केही समय अघि इन्टरनेशनल साइन्स फाउण्डेशनकी लमजुङ संयोजक सुमित्रा बसौलाले पर्यटकीय गाउँ घान्द्रुकको कार्यक्रममा सहभागि हुन प्रस्ताव गर्नु भयो। पोखरा पुगेपछि थाहा भयो कि कार्यक्रम लमजुङको डडुवामा हुने भएछ। ठिकै भयो, करापुटार क्षेत्र रमाइलै छ। साँझ फाउण्डेशनका निर्देशक शशी गुरुङ सहित ७ जना जीपमा हुइँकियौं डडुवातिर। यात्रा संयोजक डडुवाकै युवा अमन गुरुङ। जीप चालक सूर्य थापाले पोखरादेखि नै बत्ति बालेरै गुडाए।
 
झिलिमिली पोखरा छाडेर बोलेरो अघि बढ्यो, पोखराबाट तालचोक, शिशुवा, बेगनास, पचभैया हुँदै लमजुङको करापुटारतिर। पचभैया डाँडामा पुगेर वेगनास छेवैबाट हेर्दा, आम्मै पोखराको दृश्य! वस्ती कस्तो लोभै लाग्दो गरि जगमगाएका। वेगनास तालमा झिलिमिलि छायाँ उसैगरी धपधप बलेको। युरोपका स्वप्नील सहर झैं लाग्ने।
 
हामी तालबेसी खहरे खोला तरेपछि हंसपुरको उकालो हुँदै हंसपुर, रामकोट, थुम्कीको जंगलै जंगल छिचोलेर मादी मादी तरेपछि रामबजार हुँदै राती १० बजे डडुवा पुग्यौं। यात्राको थकान थियो, तर गाउँलेको आतिथ्यले शरिरमा उर्जा भरियो। एकदिनको बसाई पछि बुधबार फेरि पोखरा फर्कियौं।
 
रामबजारमा नास्ता गरेपछि फेरि सुरु भयो पोखरा यात्रा। छेवैमा हुनुहुन्थ्यो, बसौला। उत्साहित हुँदै भन्नु भयो, ‘अस्ति त रातीको यात्रा भएकाले बाटोमा केही देख्नै पाइएन, आज मज्जाले हेर्दै जानुपर्छ।’ मादी तरेर कास्कीको थुम्की गाविस सुरु भएदेखि नै प्रकृतिको अर्कै ‘फ्लेवर’ भेटियो। करिब ३ घण्टामा पोखरा पुग्यौं।
 
उल्लेरीदेखि तालबेसीसम्म सडक बनाउने काम हुँदै रहेछ, त्यसलै हंसपुर गाउँ हुँदै घुमेर आउँदा अलि समय लाग्यो।
 
त्यो त घुमफिर गर्नेहरु हिँड्ने बाटो पो रैछ। विशेषगरि, पोखराबाट हाइकिङ या बाइकिङ गर्न मिल्ने। वेगनासताल–भोर्लेटार २२ किलोमिटर सडकमा। छिट्टो वारपार गर्नु परे तालबेसीबाट हंसपुरको उल्लेरी असाध्यै छोटो बाटो। तालबेसीबाट हंसपुर हुँदै रामकोटतिरको सडक समात्नु पर्छ। हाइकिङ र साइक्लिङका लागि पोखराबाट वेगनास हुँदै करापुटार वा भोर्लेटारसम्म एक दिन। मोटरसाइकल यात्रीका लागि घुम्दैफिर्दै, तस्बिर खिच्दै, चियानास्ता गर्दै जाँदा पनि एकै दिन।
 
तालबेसीबाट उकालो लाग्दै गएपछि छर्लङ्ग आकाश खुलेका दिन पोखरा, फेवाताल, रुपाताल, वेगनासताल र वरपरका दृश्य देखिन्छ। दन्तै लहर जस्ता अन्नपूर्ण र माछापुच्छे्र हिमालले मन चोर्छन। घनाजंगल, बीचबीचमा स–साना वस्ती, टारीखेत र पाखोबारीको सहितको मौलिक वस्ती। चिलाउने, कटुस, सिमल जस्ता रुख विरुवाले ढाकेको जंगलमा स्थानीयहरु घाँस–दाउरा गर्दै गरेका, गाइवस्तु र बाख्रा चराउँदै गरेका दृश्यले तान्छ। माघ–फागुनमा सिमल फुल्दा वनै उज्यालो हुने थुम्कीका पुष्पराज खनालले बताए। चिटिक्क परम्परागत घर, वस्ती नजिकै फलफूल बँगैचा, ठाउँ–ठाउँमा सहरीया गन्ध आउने गाउँले पसलहरु। सेलरोटी, आलुपकौडा, आलुचप, आलु, चना, सिमी र बोडीको तरकारी पाइन्छ त्यहाँ।
 
कच्ची सडक भए पनि सजिलो। हंसपुरबाट हिँड्दा व्यागमा पानी बोक्न भुल्नु हुँदैन, किनकि उकालोमा जहींतही पानी पाईदैन। हंसपुर गाविसको हंसपुर, रामकोट, उल्लेरी, स्याखलुङ हुँदै थुम्की गाविसका थुप्रै वस्ती र जंगली यात्रासँगै प्राकृतिक सौन्दर्यको रसस्वादन गर्दै मादी नदी तरेर लमजुङको रामबजार पुगिन्छ। त्यो रात रामबजारमा विताए भयो, भोर्लेटार बजार घुम्ने र उतै सुस्ताउने भए मिदिमखोला तर्नु पर्छ। तालको माछा छ्याप्छ्याप्ती पाइने भएकाले वेगनास देखि नै पाइन्छ। रामबजार वा भोर्लेटारमा पनि पाइन्छ, मादी र मिदिम खोलाका माछा। स्वाद गजबको।
 
दुई दिनेे प्याकेजमा यात्रा गर्न सकिन्छ। लामो यात्रा गर्नेहरुका लागि पनि गन्तव्य छन्। रामबजारबाट इशानेश्वर, करापु, गिलुङ, घाम्राङ, भोजे हुँदै पसगाउँसम्मको पहाडी वस्ती। रामबजारबाट हिँडेपछि पहिलो रात करापुको डडुवागाउँमा। बिहानको खाना गिलुङको झुमडाँडामा खाएर साल्मेभञ्ज्याङ हुँदै घाम्राङ बस्न पुगिन्छ। त्यसपछि भोजे र पसगाउँसम्मको रमाइलो यात्रा।
 
यो रुटमा प्राकृतिक सौन्दर्यसँगै गुरुङ संस्कृति अवलोकन गर्न पाइन्छ। मनकारी छन् गाउँलेहरु। वेगनास–रामबजार वा भोर्लेटारसम्म रुटलाई गाउँलेले पोखरा आवत–जावत र सामान ढुवानी गर्न मात्रै प्रयोग गर्ने गरेका छन्। विशेषगरि, तालफेदीदेखि हंसपुरको उकालो हुँदै रामकोटतिरको सडकलाई पर्यटकीय महत्वकासाथ स्तरोन्नति, विकास र प्रर्वद्धन गर्न सके पर्यटकको चाप बढाउन सकिन्छ।साभार =नागरिकसमचार 

, ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता