केयरगिभरलाई हुने ‘केयर गिभर स्ट्रेस सिन्ड्रोम’ विश्वब्यापी चुनौती बनेर आउदै

चिकित्सा क्षेत्रमा औपचारिक नाम समेत नपाएको ‘केयर गिभर स्ट्रेस’ जटिल समस्या बनेर आएको छ।
care Capturegiber
care Capturegiber
पछिल्लो समय केयर गिभर अर्थात् स्याहार–सुसार गर्ने व्यक्तिहरूमा बढ्दो रूपमा देखिन थालेको ‘केयर गिभर सिन्ड्रोम/स्ट्रेस’ को समस्या चिकित्सकहरूका लागि नौलो चुनौती बनिरहेको छ। अध्ययन–अनुसन्धान शुरू भए पनि यसलाई कसरी घटाउने भन्नेबारे विश्वभर बहस भइरहेको काठमाडौं मेडिकल कलेजकी मनोचिकित्सक डा. रचना शर्मा बताउँछिन्।
डा. शर्माले आफूकहाँ डिप्रेसन, बाइपोलर डिसअर्डर, एन्जाइटी जस्ता समस्या लिएर आउने केयर गिभरहरूको संख्या बढेको अनुभव सुनाइन्। त्यसको कारण पत्ता लगाउन चाहिं समय लाग्ने उनको भनाइ छ। केयर गिभरहरूको समस्या धेरै पटकको निरीक्षण र सोधखोजपछि मात्र थाहा हुने उनले बताइन्।
डा. शर्माका अनुसार, शुरूमा झर्को लाग्नु, निद्रा नलाग्नु, छटपटी हुनु, एकाग्र हुन नसक्नु स्ट्रेसको प्रारम्भिक लक्षण हो। त्यसमाथि विस्तारै अरू मानसिक रोग, उच्च रक्तचाप, मधुमेह जस्ता समस्या पनि थपिन्छन्। “अन्त्यमा सेवा दिने व्यक्ति नै सिकिस्त भई अस्पताल पुग्नुपर्ने हुन्छ”, डा. शर्मा भन्छिन्।
सन् २०११ को ‘जर्नल अफ नेपाल मेडिकल एसोसिएसन’ मा छापिएको, मलेशियाका डा. सइद ताजुद्दिन सइद हसनको ‘ट्रमाटिक ब्रेन इन्जुरीः केयर गिभर्स प्रब्लम्स एन्ड निड्स’ शीर्षकको अनुसन्धान आलेखमा मानसिक समस्या भएका बिरामीलाई सेवा दिनु पीडादायक हुने उल्लेख छ।
उक्त अनुसन्धान आलेखका अनुसार, नेपाल जस्ता अल्पविकसित देशहरूमा सेवा दिने र लिनेबीचको सम्बन्धलाई गम्भीरतापूर्वक लिइँदैन। अर्थात्, सेवा पाइरहेको व्यक्तिले जस्तोसुकै व्यवहार गरे पनि सेवकले चूपचाप सेवा दिनुपर्ने बाध्यता हुन्छ। मलेशिया पुत्र युनिभर्सिटीका डा. हसनले जर्नलमा लेेखेका छन्– ‘कोही सेवक बिरामीसँग रिसाउने, र्झ्किने पनि गर्छन्। यसले गर्दा सेवा दिने र लिनेबीचको सम्बन्ध नराम्ररी बिग्रिने गरेको छ।’
डा. शर्मा चाहिं केयर गिभरभन्दा पारिवारिक स्नेह नै उत्तम हुने बताउँछिन्। “केयर गिभरले पनि एकोहोरो खटिनुहुँदैन”, उनी भन्छिन्, “वेला–वेला छुट्टी लिए स्ट्रेसको सम्भावना घट्छ।”
डा. हसन केयर गिभरले सेवा दिइरहँदा आफूलाई कस्तो महसूस भइरहेको छ भन्नेबारे साथीभाइ र घरका सदस्यलाई सुनाइरहनुपर्नेमा जोड दिन्छन्। उनका अनुसार आफ्नो अनुभव सुनाउने, समयमा खाने, समयमा सुत्ने, योग र व्यायाम गर्ने गर्दा केयर गिभर सिन्ड्रोमबाट जोगिन सकिन्छ। “केयर गिभर सिन्ड्रोमबाट बच्न निरन्तरको स्याहार–सुसार र शारीरिक थकान घटाउने अरू उपाय पनि अपनाउनुपर्छ”, उनी भन्छन्।
अमेरिकी साइकिएट्रिक एसोसिएसनको पछिल्लो ‘डाइग्नोस्टिक एण्ड स्टाटिस्टिकल म्यानुअल अफ मेन्टल डिस्अर्डर’ (मेडिकल लिटरेचर) मा केयर गिभर सिन्ड्रोम परेको छैन। सबै किसिमका मानसिक विशृंखलता नामकरण र वर्गीकरण गर्ने म्यानुअलमा केही उल्लेख नभएकोले केयर गिभर सिन्ड्रोमलाई फिजिसियनहरूले नै हेर्दै आएका छन्। यसकारण पनि केयर गिभर स्ट्रेस भएकाहरूले उचित उपचार नपाइरहेको सन् २००७ मा सीएनएन डटकममा प्रकाशित डा. एन्ड्री लेरोयको लेखमा भनिएको छ। हिमालखबरबाट
२५ बैशाख २०७३

, ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता