कमिशन माग्दै पशुपतिमा पूजा हड्ताल


 
११ बैशाख, काठमाडौं । पशुपतिनाथ मन्दिरका भट्टले कमिसन बढाउनुपर्ने माग गर्दै दुई सातादेखि विशेष पूजा बन्द गरेका छन्। मन्दिरमा हुने विशेष पूजामा २० प्रतिशत कमिसन वृद्धि गर्नुपर्ने भट्टहरूको माग छ। उनीहरूले सरकारले उपलब्ध गराउँदै आएको तलबभत्तामा कर काट्न नहुने माग समेत राखेका छन्। पशुपति क्षेत्र विकास कोषले २०६८ साउनदेखि पुरानो बक्यौता र नयाँ तलबको कर काट्दै आएकोनागरिकदैनिकमा खबर छ।
पशुपतिनाथ मन्दिरमा विभिन्न अवसरमा ११ सयदेखि ९ लाख रुपैयाँसम्मको रसिद काटेर विशेष पूजा गराउनसक्ने व्यवस्था छ। विशेष पूजामा चढाइने भेटी र दक्षिणाको साढे ७ प्रतिशत रकम भट्टहरूले २०६२ देखि पाउँदै आएका छन्।
भक्तजनले भने भट्टहरूले आन्दोलन गरेर भगवानप्रतिको आस्थामा खेलबाड गरेको बताएका छन्। मन्दिरमा जन्मदिन, विवाहको वार्षिकोत्सव, जंकु, विशेष तिथिलगायतमा विशेष पूजा गराउन नपाएको उनीहरूले गुनासो गरेका छन्।
विवाह उत्सवको अवसरमा १ हजार १ सयको विशेष पूजा गराउन आएका कृष्ण श्रेष्ठले पूजा गराउन नपाउँदा दुःख लागेको बताए। ‘विवाह गरेको १९ वर्ष पुगेको अवसरमा भगवान पशुपतिनाथमा क्षमताअनुसार ११ सयको विशेष पूजा गराउन आएको थिएँ, तर भट्टहरूले पूजा गराउनै मानेनन्,’ उनले नागरिकसँग दुखेसो पोखे।
श्रेष्ठले भट्टहरूले नियमविपरीत पूजा बन्द गर्दा पशुपति क्षेत्र विकास कोष मूकदर्शक बन्न नहुने बताए। ‘सरकारले उनीहरूलाई तलबभत्ता दिएकै छ,’ उनले भने, ‘पशुपति क्षेत्र विकास कोष किन मूकदर्शक बनेको होला!’
कोषका सदस्यसचिव गोविन्द टन्डनले भट्टहरूले एक्कासि २० प्रतिशत कमिसन बढाउन माग गर्दा कोष नै अप्ठेरोमा परेको बताए। उनका अनुसार कोषले मन्दिरमा चढ्ने विशेष पूजाको दक्षिणा तथा भेटीलाई पारदर्शी बनाउन ०६८ चैत २६ गते नियमावली बनाएर भट्टहरूलाई तलबलगायत सुविधाको व्यवस्था गरेको थियो।
तत्कालीन सदस्यसचिव सुशील नाहाटाले व्यक्तिगत रूपमा निर्णय गरेर विशेष पूजाको कमिसन साढे ७ प्रतिशतबाट वृद्धि गरेर १५ प्रतिशत पुर्याएका थिए। तर, उनको निर्णय पशुपति विकाष कोष सञ्चालक परिषदले पास गरेन, जसका कारण भट्टहरूले साढे ७ प्रतिशत नै कमिसन पाउँदै आएका छन्।
‘भट्टहरूले पुरानो बाँकी कमिसन पनि माग गरेका छन्,’ सदस्यसचिव टन्डनले नागरिकसँग भने, ‘सरकारले कानुनबमोजिम पाँच महिनादेखि तलबभत्तामा ३५ प्रतिशत कर काट्न थालेपछि भट्टहरू आक्रोशित बन्नुभयो र विशेष पूजा नै रोकिदिनुभयो।
सदस्यसचिव टंडनका अनुसार ०६८ अघिसम्म भट्टहरूले फर्माइसी पूजा भनेर आफूखुसी पूजा गर्थे। त्यतिबेला कति पूजा भयो, कति दक्षिणा–भेटी चढ्यो भन्ने लेखाजोखा हुँदैनथ्यो।
पशुपति क्षेत्र विकास कोषले भेटी र दक्षिणा पारदर्शी बनाउन २०५० सालमै ऐन बनाएर ल्याएको थियो।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता