पढनै पर्ने कथा

जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन् | तिनको हात समात्दै मैले भनें: "तिमिसित एउटा कुरा गर्नु छ् |"    तिनी बसिन् र चुपचाप खान थालिन् | मैले तिनको आँखामा उदासीपन महसुस गरें | अचानक मेरो वाक्य बन्द भयो | तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ, त्यो भन्नु जरुरी थियो - म तिनीसँग सम्बन्ध बिच्छेद गर्न गैरहेको थिएँ | मैले आफ्नो कुरा संयमताका साथ राखेँ | मेरो कुराबाट तिनी बिस्मयचकित् भईनन्, बरु नम्र भएर सोधिन् - "किन?" मैले तिनको प्रश्नलाई टार्न खोजेँ | तिनी रिसाइन्  र चप्स्टिक हुर्याएर मलाई 'नामर्द' भन्दै चिच्याइन् | त्यस रात हामी दुवैबिच कुराकानी भएन,तिनी रोइरहेकी थिइन् | हाम्रो बैबाहिक सम्बन्धमा के त्यस्तो खोट देखापर्‍यो भन्ने कुरा तिनले जान्न चाहनु स्वभाविकै थियो | तर मसंग तिनलाई दिने सन्तोषजनक जवाफ थिएन | जेन भन्ने केटीले मेरो हृदय जितिसकेकी थिई र मैले मेरो श्रीमतीलाई माया गर्न छोडिसकेको थिएँ | तिनीप्रति दया जागेर आयो |

गह्रुँगो अपराध बोधकासाथ मैले एउटा सम्बन्ध्-बिच्छेद-पत्र तयार पारेँ । जस अनुसार हाम्रो घर, गाडी र मेरो कम्पनीको ३०% शेयरमा तिनलाई हकदार बनाएँ | तिनले त्यो सम्झौता-पत्रमा एक नजर पनि नदिई र च्यातच्युत पारीन् | दश-दश बर्षसम्म एउटै छानामुनी बसेकी ती महिला अब अजनवी भैसकेकी थिईन् |यस घरमा आएर तिनको आफ्नो समय, शीप, शक्ति र यौवन बित्थामा खेर गएकोमा म अत्यन्तै दुखित भएँ| तर मैले जे निर्णय गरेँ, त्यसबाट पनि बिमुख हुन म चहिरहेको थिइन, कारण म जेनलाई असाध्यै माया गर्थेँ | अन्तत मैले अपेक्षा गरे अनुरुप तिनी डाँको छोडेर रुन थालिन् | साँच्चै भन्ने हो भने तिनको रुवाइले मलाई केही सान्त्वना दिलायो | अनि धरै दिनदेखि मनमा सँगालिराखेको सम्बन्ध्-बिच्छेद गर्ने बिचार अहिले आएर ठोस् र स्पष्ट भएजस्तो लाग्यो | 

अर्को दिन जब म राती अबेर घर पुगेँ, तिनी टेबलमाथि केही लेखिरहेकी थिइन | मैले बेलुकीको खाना खाएको थिइन, तर त्यसदिन जेनसंग गजब रमाइलो दिन बिताएको र उतै खाएकोले गर्दा म थकित थिएँ र सिधै ओछ्यानमा गएर पल्टेँ | जब म बिउँझे, तिनी अझै लेख्दै थिइन् | मैले वास्ता गरिन बरू अर्कोतर्फ फर्केर फेरी सुतेँ | भोलिपल्ट तिनले सम्बन्ध्-बिच्छेदका शर्तहरु मेरो सामु तेर्स्याइन- "सम्बन्ध-बिच्छेद गर्नुअघि १ महिनाको अग्रिम सुचना दिनुपर्ने" बाहेक तिनले म बाट कुनै हकदावी गरिनन् | "त्यो एक महिनाभित्र हामी दुवैले सकेसम्म सँधैको जस्तो पारिवारिक माहौल कायम गराउनु पर्ने" तिनको अनुरोध थियो, कारण १ महिनापछि हाम्रो छोराको जांच थियो र हाम्रो तनावपूर्ण सम्बन्धले उसलाई नराम्रो असर नपरोस भन्ने तिनको चाहना थियो | यो बाहेक तिनको एउटा अर्को अनौठो शर्त थियो: हाम्रो बिहे भएको बेला कसरी मैले तिनलाई बोकेर सुहागरात मनाउने कोठामा लगेको थिएँ, त्यो सँस्मरण गर्न भनिएको थियो| अनि त्यो एक महिनाभरी बिहेताकाझैँ तिनलाई शयन कक्षबाट घरको बाहिरी ढोकासम्म बोकेर लानुपर्ने तिनको अनुरोध थियो| म छक्क। कतै पागल त भइनन् ?!  एकछिन त म अकमक्क परेँ | हाम्रा अन्तिम दिनहरु राम्ररी बितोस् भन्नाका खातिर मैले तिनको अनौठो प्रस्ताव स्वीकार गरेँ | मैले जेनलाई मेरी श्रीमतीको शर्तहरुबारे बताउँदा तिनी जोडले हांसेर तिरस्कार गर्दै भनेकी थिइन: जस्तोसुकै चलाखी अपनाए पनि त्यल्ले सम्बन्ध्-बिच्छेद नगरी धरै पाउँदिन |

हाम्रो सम्बन्ध्-बिच्छेदको कुरो भएदेखी श्रीमती र म बिच शारिरीक सम्बन्ध भएको थिएन | उनको अनुरोध बमोजिम पहिलो दिन जब मैले तिनलाई बोकेँ, हामी दुवैलाई कस्तो कस्तो अप्ठ्यारो महसुस भयो | "ड्याडीले मम्मीलाइ बोक्नु भयो" भनेर छोरो हाम्रो पछाडि ताली पिटदै रमाउँदै थियो | छोराले त्यसो भन्दा मैले नजानिँदो पीडा महसुस गरेँ | श्रीमतीलाई बोकेर शयन्-कक्षदेखी बैठक कोठा हुँदै मुलढोकासम्म करीब १० मिटर म हिँडे हुँला | मैले तिनलाई बोकिरहेको बेलामा तिनले आँखा बन्द गरेर मधुर स्वरमा भनिन: "हाम्रो सम्बन्ध-बिच्छेदबारे छोरालाई नभन्नु है |" मैले दुखी भएर स्वीकृती सूचक टाउको हल्लाएँ | तिनी काममा जान बस बिसौनितिर लागिन् म एक्लै गाडी हाँकेर अफिस गएँ | दोस्रो दिनको बोकाइमा हामी दुवैले केही सजिलो अनुभव गर्यौँ, तिनले टाउको मेरो छातीमाथि राखिन, तिनको ब्लाउजबाट मिठो अत्तरको सुगन्ध आइरहेको थियो| तिनको मुहारलाई राम्ररी नियालेर हेरेँ, तिनी अब पहिले जस्तो जवान थिइनन,निधार र आँखाका छेउछाउ हल्का चाउरीहरु देखेँ, केश पनि कहीं कहीँ फुलेको थियो| वैवाहिक  जीवनले यही घर सम्हाल्दा सम्हाल्दैका टन्टाले तिनलाई यस्तो तुल्याएको थियो | म आँफैले पो तिनलाई वास्ता नगरेको निकै भएछ |


चौथो दिन जब मैले तिनलाई बोकेँ, एक किसिमको आत्मियता मैले महसुस गरेँ | यिनी तिनै महिला थिइन,जसले बिगत दश बर्षादेखी मलाई साथ दिँदै आएकी थिइन | पाँचौ र छैठौँ दिन पनि त्यो आत्मियता झन झन प्रगाढ हुँदै गएको मैले पाएँ | जती जती समय बित्दै गयो, तिनलाई बोक्न झन झन सजिलो हुँदै गयो | शायद प्रत्येक दिनको बोकाइले म बलियो पो हुँदै गएँ की ! एक दिनको बिहान तिनी लुगा छान्दै थिइन, चार पाँच चोटि लुगा फेरिसकेपछि लामो सुस्केरा हालेर भनिन: "मेरा सबै लुगाहरु खुकुलो भैसके, कुनैपनि जीउमा मिल्दैन |" मैले ध्यान दिएर तिनलाई हेरेँ, कस्तो दुब्ली भई छे, त्यसैले पो होला मलाई बोक्न सजिलो भएको ! आफ्नो मनभित्र अथाह् पीडा, ब्यथालाई लुकाएर तिनी बाँचेकी रहिछिन् भन्ने कुराले मलाई अत्यधिक पीडाबोध भयो | एकाएक अर्धचेतनमा मैले तिनको शिर छोएँ | त्यति नै बेला छोरो करायो: "मम्मीलाई बोकेर बाहिर लाने बेला भएन र?"  उसको बाबुले आमालाई बोक्ने काम दिनचर्या जस्तो ठानिसकेको थियो | मेरी श्रीमतीले छोरोलाई नजिक आउन साउती गरिन् र बेस्कन अंगालो हालिन् | आफ्नो अडानमा बिचलन नआओस् भन्ना खातिर मैले टाउको अन्तै मोडेँ | शयन-कक्ष, बैठक कोठा, हल हुँदै म श्रीमतीलाई बोकेर पाइला चाल्दै थिएँ, तिनको हातहरु मेरो घाँटीमा आरामसंग बेरिएका थिए, हाम्रो विवाह् अवसरमाझैँ मैले तिनको शरीरलाई बेस्मारी च्यापेको थिएँ |  

तिनको हलुँगो वजन देखेर म चिन्तित थिएँ | अन्तिम दिन जब मैले तिनलाई बोकेँ, किन किन मैले पाइला चाल्न सकिरहेको थिइन | छोरो स्कुल गैसकेको थियो | मैले तिनलाई बेस्मारी च्यापेर भनेँ: "हामी दुई बीचको आत्मीय सम्बन्धमा कमी भएको त मलाई हेक्कै भएन |" म काममा हिँडे, अफिस पुगेपछी गाडीमा चाबी नै नलगाई सरासर उक्लेँ | केही बेरको ढिलाइले मेरो मन परिवर्तन होला भन्ने मलाई डर थियो | माथ्लो  तल्लामा उक्लेपछी जेनले ढोका खोली दिइन् | आफु सम्बन्ध-बिच्छेद नगर्ने निर्णयमा पुगेको कुरा जेनलाई बताएँ | जेनले छक्क परेर मतिर हेरिन् र मेरो निधार छामिन् | "तिमीलाई जरो आएको छ ?" तिनले सोधिन् | निधारबाट तिनको हात हटाउँदै मैले फेरी दोहोर्‍याएँ: "म सम्बन्ध-बिच्छेद नगर्ने भएँ, हाम्रो वैवाहिक जीवन यसरी रसहीन हुनाको कारण हामीले एकार्कालाई माया नगरेर भएको होइन रहेछ, जिन्दगीका झिना मसिना कुराहरुलाई महत्वहीन ठानेकाले नै यस्तो भएको रहेछ | विहेको अवसरमा मेरी श्रीमतीलाई मैले बोकेर घरभित्र भित्र्याए झै जिन्दगीको अन्तिम क्षणसम्म पनि त्यही भावना राख्नु पर्ने रहेछ भनेर म अहिले महसुस गर्दैछु |" जेन जुरुक्क उठिन्, बेस्कन मेरो गाला चडकाएर ढोका ड्याम्म थुनेर डाँको छोडेर रुन थालिन् | म गाडी चढेर घरतर्फ लागेँ | बाटोमा फुल पसलमा रोकिएर एउटा फुलको गुच्छा किन्न लाग्दा फुल पसल्नीले सोधी: "कार्डमा के लेखिदिउँ?" कार्ड तिनको हातबाट लिएर मैले मुस्काएर लेखेँ - "जीवनको अन्तिम घडीसम्म प्रत्येक बिहान म तिमीलाई बोक्नेछु!!!"

हातमा फुल, मुहारमा मुस्कान लिएर हतार हतार म घर पुगेँ | दगुर्दै भर्‍याङ उक्लेँ | यसरी हतारिएको त मेरी श्रीमतीलाई मृतावस्थामा फेला पार्नु पो रहेछ | म जेनको प्रेममा यसरी डुबुल्किएको थिएँ कि मेरी श्रीमती महिनौँ देखी क्यान्सरको बिरामी भएको कुरो समेत मैले थाहा पाउन सकिन रहेछु | आफ्नो मृत्‍यु चाँडै नै हुँदैछ भन्ने कुरा तिनलाई थाहा रहेछ | हाम्रो सम्बन्ध्-बिच्छेद भैगएको भए त्यसको नकारात्मक असर छोरामा नपरोस् र छोराको नजरमा म दोषी नदेखियोस् भनेर मलाई बचाउन तिनले त्यसो गरेकी रहेछिन् । फलस्वरुप छोराको नजरमा म मायालु लोग्ने हुन पुगेँ | जीवनका झिना-मसिना कुराहरु नै वैवाहिक सम्बन्धलाई टिकाउने खम्बाहरु हुन्, न की भब्य महल, गाडी, जग्गा-जमीन र पैसा --यी चिजहरुले त केही टेवा दिने मात्र हो, मुख्य कडी यी होइनन्!!!!

तसर्थ आफ्नो ब्यस्त दिनचर्याबाट केही समय निकालेर आफ्नो जीवनसाथीसंग आत्मीयता गाँसौ र जिन्दगीका झिना-मसिना ठानिएका कुराहरुलाई अंगालेर त हेरौँ ! यिनै महत्वहीन ठानिएका कुराहरुले नै वैवाहिक जीवन भत्किनबाट जोगाउँछ| सफलताको झिना मसिना कारक तत्वहरुलाई पहिचान गर्न नसक्दा र तिनलाई जीवनमा अपनाउँन नसक्दा नै मानिसहरुले असफलता बेहोर्छ |

(घर सुन्दर छ भने नै समाज पनि सुन्दर बन्छ भन्ने कुरालाई हृदयंगम  गरी यो कथा पाठकहरु समक्ष प्रस्तुत गरेको छु | यो मेरो कथा होइन, एउटा अज्ञात लेखकले समाजलाई माया गरी लेखेको कथा हो,फिक्सन पनि हुन सक्छ, सत्यकथामा आधारित पनि हुनसक्छ, जे भएपनि कथा मार्मिक छ, हामी बाँचेकै जिन्दगीको बर्णन छ | फेसबुक मार्फत प्रचार प्रसार गर्न अनुरोध गरिएको थियो | मौलिक कथा अंग्रेजीमा थियो ।  मैले नेपालीमा  अनुवाद गर्ने जमर्को गरेको छु | कतिपय हरफहरुमा शब्दानुवाद् नगरी भावानुवाद् गरिएको छ्| मेरो यो अनुवादले कुनै नेपालीको भत्किन लागेको घरलाई टेको दिन समर्थ होला? था'छैन । पाठकहरुको प्रतिकृयाको अपेक्षा राख्दै.....)

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता