एउटा अनुकरणीय कार्य

क्षत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन । मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।'मुनामदन'मा अभिव्यक्त महाकवि देवकोटाका यी भावहरू मन नपराउने नेपाली कमै होलान् । त्यसैले त जातपात र छुवाछूतको कुरा चल्दा यिनै पंक्तिहरू उदाहरणका रूपमा प्रस्तुत हुने गर्छन् । यति मात्र होइन, कवि देवकोटालाई हामी त्यागी एवं आदर्श चरित्रका रूपमा पनि मान्ने गर्छाैँ । उनको भौतिक अवसानको लामो समयपछि हामीमाझ अर्का एक त्यागी र आदर्श पात्रको उपस्थिति देखिएको छ । ती पात्र हुन्, डा. गोविन्द के.सी. । चिकित्सा क्षेत्रमा व्याप्त अनियमितता र भ्रष्टाचार विरुद्ध पटक-पटक अनशन बसेर सरोकारवालाहरूलाई घचघच्याउने उनको कार्य जति प्रशंसनीय छ, त्यति नै अनुकरणीय कार्य उनले आफ्नो बाह्र दिनको अनशन तोड्ने क्रममा गरेका छन् । समाजले उपेक्षाको दृष्टिले हेर्ने पेसा अर्थात् जुत्ता सिलाएर गुजारा गर्ने सामान्य व्यक्तिका हातको जुस खाएर अनशन तोड्दै उनले पेसागत मर्यादा र महत्त्वको जसरी सम्मान गरेका छन्, त्यो वास्तवमै अनुकरणीय छ ।
जुनसुकै कामको पनि आफ्नै महत्त्व हुन्छ, यदि त्यो इमानदारीका साथ गरिन्छ भने, हरेक पेसा महत्त्वपूर्ण हुन्छ । कामका आधारमा मान्छे ठूलो-सानो हुँदैन र पनि हामीकहाँ काम वा पेसाका आधारमा मानिसलाई छुत-अछूतमा सीमाङ्कन गर्नेमात्र नभई त्यसैका आधारमा हेप्ने परिपाटी छ । यो परिपाटी राम्रो होइन भन्ने कुराको प्रमाण डा. के.सी.ले प्रस्तुत गरे । यसबाट प्रेरणा लिएर हामीले कामको सम्मान गर्न सिक्नुपर्छ । प्रायः अनशन बस्नेहरूले समाज तथा देशका प्रतिष्ठित एवं उच्चपदस्थ व्यक्तिकै हातबाट जुस खाएर अनशन तोड्ने गरेको पाइन्छ, ताकि उनीहरू मिडियाको नजरमा परेर जनमासको हाइहाइका पात्र बन्न सकुन् । आम इच्छा र आकांक्षा यही नै हुन्छ, चाहे त्यो व्यक्त होस् चाहे अव्यक्त ! तर यी व्यक्ति जसले बिना कुनै व्यक्तिगत स्वार्थ पटक-पटक ज्यानको बाजी लगाएर जनस्वास्थ्यको क्षेत्रमा सुधारका लागि सङ्घर्ष गरे, उनले कुनै प्रचारबाजीको आकांक्षा राखेनन्, बरु समाजले उपेक्षाभावले हेर्ने व्यक्ति तथा पेसाको सम्मान गरेका छन् । आफ्नो पेसामा हीनताबोध गर्ने सिमान्तीकृत वर्गलाई आत्मसम्मानपूर्वक बाँच्ने हौसला दिएका छन्, मौनतामै ! जाति, भाषा, धर्म अनि पेसालाई आधार बनाएर राजनीति गर्न पल्केका नेताहरूले अनुकरण गर्न सक्नुपर्छ, सामान्य नागरिकको आत्सम्मानको रक्षा कसरी गर्ने भनेर ! यही समाज हो, जहाँ चिकित्सकहरू बिरामीलाई आफ्नो पढाइको लगानी उठाउने माध्यम बनाइरहेका छन् । स्वास्थ्यसेवालाई सेवाभन्दा व्यापार बनाएर उपचारका नाममा बिरामीको उठिबास लाउन पछि परेका छैनन् । यतिसम्म अमानवीय बन्न पछि परेका छैनन् कि उनीहरू बिरामीको मृगौलाको व्यापार गर्नसमेत हिच्किचाउँदैनन् । अर्कातिर यही समाजमा एउटा वरिष्ठ चिकित्सक आफ्नो तलब जोगाएर झोलामा औषधी बोकेर दुर्गम गाउँ-बस्तीमा पुगेर विपन्न वर्गलाई स्वास्थ्यसेवा पुर्‍याउने गर्छ । कहीँ कतैबाट आर्थिक लाभ नलिने यी व्यक्ति अर्थात् डा. के.सी. कमिसन र भ्रष्टाचारको सञ्जालबाट चिकित्सा क्षेत्रलाई मुक्त पारिनुपर्छ भन्दै पाँचौँ पटकसम्म अनशन बसे । हुन त यिनको अनशन अनि त्यसप्रतिको चौतर्फी समर्थनमाथि शङ्का गर्नेहरू पनि नदेखिएका होइनन् ! डा. के.सी.को अनशन केका लागि ? भन्ने प्रश्न पनि नउठेको होइन । त्यसको जवाफ हालै कान्तिपुरमा प्रकाशित एउटा समाचारले दिएको छैन र ?

समाचार अनुसार ओखलढुङ्गाको सामुदायिक अस्पतालमा उपचारार्थ गएकी २४ वर्षीया महिलाको पाठेघर सफा गर्ने क्रममा पाठेघरभित्र कैँची र कपडा छाडियो । त्यसबाट थप समस्या भएर पुनः उपचारका लागि जाँदा पाँच पटकसम्म पाठेघरमा हात हाल्ने काम गरियो । परिणास्वरूप उनको घाउ संक्रमित भएको छ । त्यो उमेरकी उनको प्रजनन स्वास्थ्यमा त्यस्तो खेलवाड किन गरियो ? लापरबाही वा पेसागत दक्षताको अभाव ? उत्तर जुनसुकै भए पनि यसको सम्बन्ध प्रत्यक्ष वा परोक्ष रूपमा डा.के.सी.को अनशनसँग जोडिएको छैन र ? पैसा खर्च गरेर पढ्दैमा र प्रमाणपत्र प्राप्त गर्दैमा चिकित्साजस्तो संवेदनशील क्षेत्रमा दक्षता हासिल हुन सक्ला/नसक्ला, त्यो आफ्नो ठाउँमा छँदैछ, त्यसभन्दा गम्भीर सवाल स्वास्थ्य क्षेत्रमा व्याप्त कमिसन र भ्रष्टाचारको हो । यस्तो अनियमितता, भ्रष्टाचार अनि कमिसनतन्त्र विरुद्ध उनले उठाएका कुनै पनि माग उनको व्यक्तिगत हितसँग सम्बन्धित देखिँदैनन् । अतः उनको यस निस्वार्थ कर्मलाई राजनीतिको रङ्ग छर्ने प्रयास गर्नुभन्दा यसबाट पे्ररणा ग्रहण गर्नु नै नेतृत्व वर्गको बुद्धिमत्ता ठहरिनेछ ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता