पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास वैसाख १ मा




पोखराःचैत्र १८, २०७२ पोखराः नयाँ वर्षको पहिलो दिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुने भएको छ ।
नागरिक उड्डयन तथा पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले बिहीबार पोखरामा यो जानकारी सार्वजनिक गरेका हुन् ।
विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको बिहीबार पोखरामा आयोजितक बैठकका बेला स्थानीयहरुमाझ मन्त्रीले प्रधानमन्त्री केपी ओलीबाट शिलान्यास गर्ने गरी समय लिइसकेको बताए ।
चीन सरकारसँग ऋण सम्झौता भइसकेकाले जतिसक्दो छिटो निर्माणका लागि शिलान्यास तयारी गरेको मन्त्री पोखरेलले जानकारी दिए ।
पोखराबाट भारत र चीन लगायत छिमेकी मुलुकहरुसँग सिधा उडान गर्ने गरी विमानस्थल बन्ने भएकाले यसलाई क्षेत्रीय भन्न नमिल्ने धारणा उनले राखे ।
‘म अब तुरुन्तै यो क्षेत्रीय भन्ने शब्द हटाउँछु’, उनले भने, ‘विमानस्थलको नाम पनि स्थानीयले जे राख्न चाहन्छन्, त्यही राख्ने प्रतिबद्धता गर्छु ।’
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ४० वर्षअघि जग्गा अधिग्रहण गरिएको थियो । त्यतिबेला अधिग्रहण गरिएको ३ हजार १ सय ६ रोपनीले नपुगेपछि हालै थप ६ सय २९ रोपनी जग्गा सरकारले लिइसकेको छ ।
पछिल्लोपालि लिइएको जग्गामध्ये ९० प्रतिशतको मुआब्जा वितरण भइसकेको विमानस्थल आयोजना प्रमुख प्रदीप अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला र चिनियाँ समकक्षी ली खछयाङबीच पोखरा विमानस्थल निर्माणका लागि चैत ८ गते ऋण सम्झौता भएको थियो । चीनले यो विमानस्थलका लागि सहुलितपूर्ण ऋण दिँदैछ ।
निर्माण सहयोग उच्चस्तरीय समितिका संयोजक सांसद रवीन्द्र अधिकारीले अहिलेसम्म योगदान पु¥याएका सबैलाई अपनत्व महसुस हुने गरी विमानस्थल शिलान्यास हुने बताए । मुलुकका शीर्ष नेताहरुको सहभागितासमेत शिलान्यास कार्यक्रममा गर्न प्रयास गरिने उनले सुनाए ।
विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी सीएएमसीले पाइसकेको छ । सरकारले ईपीसी मोडेलमा  २१ करोड ५० लाख अमेरिकी डलर(२१ अर्ब रुपैयाँ) मा निर्माण सक्न ठेकेदार कम्पनी सीएएमसीलाई जिम्मा दिएको हो ।
डिजाइनबाहेक गरी ३ वर्षमा विमानस्थल निर्माणको सहमति प्राधिकरणले चिनियाँ कम्पनीसँग गरेको छ । इपिसी मोडलमा निर्माण हुने विमानस्थल पूरा भएपछि नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण हुन्छ । यसमा निर्माण कम्पनीले कुनै पनि बाहनामा मूल्यवृद्धि गर्न पाउँदैन ।
विमानस्थल निर्माणपछि बोइङ ७५७, एयरबस ३२० लगायत जहाज पोखरामा अवतरण हुन सक्नेछन् । यात्रुका रुपमा वार्षिक १० लाख पर्यटक थेग्न सक्नेछ । विक्रम सम्वत २००८ सालदेखि पोखरामा आन्तरिक विमानस्थल सञ्चालनमा छ ।
अहिले सञ्चालन भइरहेको पोखरा विमानस्थलको क्षेत्रफल  १ हजार १ सय ५६ रोपनी छ । १ हजार ४ सय ४७ मिटर लम्बाइ र ३० मिटर चौडाइ धावनमार्ग रहेको विमानस्थलको प्रति घन्टा १ सय २० यात्रीको क्षमता छ ।
आन्तरिक विमानस्थल पोखरा—७ मा पर्छ भने अन्तर्राष्ट्रिय विमानस्थल पोखरा—१४, १५ र १८ मा बन्न लागेको हो । विमानस्थलको धावनमार्ग लगायत संरचना बन्ने ठाउँको माटो परीक्षण चिनियाँ पक्षले गरिसकेको छ ।
अन्नपूर्ण पोस्ट

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता