बाबा , आमा र छोरा सँगै एसएलसीमा


चैत्र २०, २०७२- सतबरिया (देउखुरी): केही वर्षअघिसम्म उनीहरूमा पढाइप्रति मोह थिएन । घरबार थियो । छोराछोरी भए । छोराछोरी स्कुल भर्ना भए । पढ्दै थिए । घरबारको जिम्मेवारी पनि उत्तिकै बढ्न थालेको थियो ।
आठ वर्षअघि श्यामकुमार झाँक्रीमगर आफ्नै छोराछोरी पढ्ने निम्नमाध्यमिक स्तरको विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष भएका थिए । अहिले पनि उनी त्यही पदमा छन् । तर अहिले विद्यालय माध्यमिक तहसम्म पुगिसकेको छ । सरकारले माध्यमिक तहको विद्यालयमा अध्यक्ष हुनका लागि न्यूनतम एसएलसीको योग्यता तोकेपछि उनी झसंग भए । भर्खरै विद्यालय सुधारको काम अघि बढाइरहेका उनलाई अध्यक्ष हुने मोह अझै छ । अनि उनी दुई वर्षअघि आफू अध्यक्ष भएको विद्यालयमै कक्षा ८ मा भर्ना भए ।
उनी भर्ना भएपछि श्रीमती पिंमाली झाँक्रीमगरले पनि पढ्ने रहर गरिन् । गाउँमा धेरैजसो महिला पढेलेखेका छैनन् । त्यसमाथि पनि छोराछोरी हुर्काइसकेकी मान्छे । चारजना छोराछोरीका बाबुआमा भइसकेका उनीहरू अहिले कान्छो छोरासँगै एसएलसी दिँदैछन्, एउटै परीक्षाकेन्द्रमा । ४८ वर्षका झाँक्री, ३८ वर्षकी उनकी श्रीमती अनि १६ वर्षका उनका छोरा प्रदीप झाँक्री अहिले सँगसँगै एसएलसी दिइरहेका छन् ।
बिहीबार पहिलो दिन स्कुलकै ड्रेसमा सजिएर बाबु, आमा र छोरा सतबरियास्थित राप्ती उच्चमावि उचानिम्बुस्थित परीक्षाकेन्द्रमा परीक्षा दिन जाँदा सबैजना चकित भएका थिए । आफ्नो क्षेत्रको स्कुलको विकासका बारेमा पटकपटक त्यही स्कुलमा छलफल गर्न आउने झाँक्री बिहीबार भने स्कुल ड्रेसमा आएका थिए, श्रीमती र छोरासँगै परीक्षा दिन ।
पहिला त छेउमा बसेका आफ्नै छोराछोरी उमेरका केटोकेटीहरूसँग परीक्षामा बस्दा उनलाई अप्ठ्यारो लाग्यो । त्यसमाथि अंग्रेजी विषयको परीक्षा थियो । तर पछि समालिएर प्रश्न हल गर्नतिर लागे । उनले भने, ‘जे होस्, परीक्षा भनेजस्तो भएको छ, पास त कसो नभइएला र ? ‘ उनकी श्रीमतीले पनि अंग्रेजी विषयको परीक्षा ठीकै गरेकी छन् । नेपाली पनि राम्रो भएको छ ।’
श्रीमती पिंमाली भन्छिन्, ‘यसपालि त ग्रेडिङ बनाको छ रे, कोही पनि फेल नहुने । त्यही भएर झनै एसएलसी दिन मन लाग्यो । पढेर जागिर खाने त हैन तर पनि उमेरले नछेक्दो रहेछ । पढ्न मन लागिरह्यो अनि भर्ना भएँ ।’
भारतसँग जोडिएको दाङको दक्षिणी सिमाना राजपुर ९ भौवा नाकामा बसोबास गर्ने झाँक्री भन्छन्, ‘पढ्नलाई उमेर चाहिँदैन । सामाजिक काममा पनि लागिरहेको छु तर अघि बढ्नका लागि पढाइ पनि चाहिने रहेछ । त्यसैले पढ्न त करै लाग्यो ।’ उनी अध्यक्ष भएको भौवास्थित शिवशक्ति मावि नाका क्षेत्रकै एकमात्र माविस्तरको विद्यालय हो ।
एक त नाका क्षेत्र । बर्सौदेखि यो ठाउँमा नेपालीहरू भारतीय ज्यादती उत्तिकै सहँदै आएका छन् । त्यसमाथि पढेलेखेका युवा एकदमै कम छन् । भएका पनि बिदेसिएका छन् । कतिपय ठाउँमा त एसएलसी गरेकाहरू पनि मुस्किलले भेटिन्छन् । ‘अब त धेरै चेतना बढेको छ । हामीजस्ता बूढाबूढी भइसकेकाहरूलाई त पढाइको मोह लाग्यो । अब आफ्ना छोराछोरी नपढाउने बाबुआमा कमै छन् यतातिर’, झाँक्रीले भने ।
विकासका हिसाबले सबैभन्दा ठगिएको ठाउँ पनि यही नै हो । अहिलेसम्म यहाँ न त गतिलो बाटो छ । सञ्चारसमेत यहाँ छैन । धेरैजसो मानिस भारतीय मोबाइल प्रयोग गर्छन्, त्यो पनि भनेको बेला लाग्दैन । खानेपानी, स्वास्थ्यलगायत अत्यावश्यक सेवा पनि यो ठाउँमा छैन । पूर्वपश्चिम ८३ किलोमिटर क्षेत्रफलमा फैलिएको यो नाका क्षेत्रमा एउटा मात्रै माविस्तरको विद्यालय छ । साभार =annapurnapos

, ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता