लमजुङ को मन जितेको भुजुङ र घले गाउँको होम स्टे

 चैत्र २०, २०७२- लमजुङ,हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो सम्पदा हाम्रो सान' बेलाबेलामा घन्किने यस्ता नाराले हामी नेपालीको सबैको संस्कृति र सम्पदाप्रति उत्तिकै सम्मान गर्ने चाहना र चासो प्रष्ट हुन्छ । प्राकृतिक र सांस्कृतिक सम्पदा हाम्रा अमूल्य सम्पत्ति हुन् । देशका कुनाकाप्चा, पहाड, तराई र उपत्यकामा छरपष्ट रहेका सम्पदाको पहिचान, संरक्षण र प्रचारप्रसार गरेर हामीले हाम्रा मूर्त र अमूर्त सम्पदाहरूको जीवन्तपनलाई दिगो बनाउनुपर्दछ । 
 
मठमन्दिर, स्तूप, विहार, दरबार, ढुंगेधारा, पाटी, जलद्रोणीजस्ता मूर्त अर्थात्,छुन सकिने सम्पदाहरू र भाषा, धर्म, मन्त्र, परम्परा, चालचलन, संस्कार, मूल्यमान्यता, खानपान, गीत, बाजागाजाका धुन, जाँड, रक्सी, अन्य पेयपदार्थ र खानाको रेसिपी सबै नै अमूर्त अर्थात् देख्न छुन नसकिने सम्पदा हुन् ।गण्डकी अञ्चलमा पर्ने जिल्लाका केही गाउँमा रहेका होम स्टे अर्थात् घरबासको प्रचलन पनि हाम्रा अमूल्य सम्पत्ति र सम्पदा हुन् । प्रचारप्रसार र अधारभूत ग्रामीण सुविधाजनक भौतिक संरचनाको अभावमा होम स्टेले सन्तोषजनक गति लिन सकेको छैन । सन् १९६७ मा होम स्टे बारेको नीति नेपालमा पारित भएपछि आजसम्म ९० वटा होम स्टे औपचारिक रूपमा दर्ता भएका छन् । दर्ता नगरेरै सञ्चालनमा २०÷२५ वटा छन् । 
 
पाल्पा, गुल्मी, संखुवासभा, इलाम, झापा, पोखरा, कास्की, पाटन, भक्तपुर, काठमाडौं, चितवन, काभ्रे, नुवाकोट, मुगु, पर्वत, भैरहवा, कैलाली, बर्दियामा पनि होम स्टे सञ्चालन गरिएको छ । ऐतिहासिक, सांस्कृतिक, साहसिक, सभा–सम्मेलन, मनोरञ्जनात्मक, सहरी र ग्रामीण पर्यटनमध्ये होम स्टे ग्रामीण पर्यटनअन्तर्गत पर्दछ ।
 
देश र विदेशबाट आएका पर्यटकहरू प्राकृतिक वा सांस्कृतिक विविधता भएको कुनै एउटा गाउँमा केही रात बिताउने उद्देश्यले जान्छन् भने त्यसलाई ग्रामीण पर्यटन भनिन्छ । ग्रामीण पर्यटनमा पर्ने होम स्टेमा गाउँकै कुनै एउटा घरमा त्यही घरका सदस्यहरूले खाने खाना खाएर उनीहरूकै घरमा रात बिताइन्छ । मूल घरकै कोठा र अँगेनाबाट सुरु भएको होम स्टे आज त्यही घरकै आँगन वा बारीमा छुट्टै बनाइएको कोठामा सञ्चालन गरिएको देखिन्छ । 
 
होम स्टेको सबैभन्दा रमाइलो पक्ष भनेको गाउँघरमा गरिने दैनिक कार्य अवलोकन गर्नु, आफू पनि त्यसमा सहभागी हुने तर गाउँलेलाई अल्झो, अलमल, डिस्टर्ब नगर्ने हो । होम स्टे विदेशी पर्यटकको रोजाइमा पर्नुको प्रमुख कारण पनि यही हो । नेपालका १६ जिल्लामा व्यक्तिगत र सामूहिकरूपमा होम स्टे सञ्चालनमा भएको तथ्यांक नेपाल पर्यटन बोर्डले प्रकाशित गरेको छ । 
 
तर लमजुङको भुजुंग र घलेगाउँसँगै कास्कीको सिरुबारीको होम स्टेप्रति स्वदेशी र विदेशी पर्यटक बढी आकर्षण भएको देखिन्छ । बेसीसहरबाट हाइकिङ गरेर पनि पुग्न सकिने रमणीय थलो भएकोले पनि यसप्रति आकर्षण छ । क्यानडा, अस्ट्रेलिया, जापान, कोरिया, मलेसिया, श्रीलंका आदि देशमा पनि होम स्टे प्रचलनमा छ । विदेशमा सुत्ने व्यवस्थामात्रै गरिएको होमस्टेका उदाहरण पनि छन् ।
 
नेपालमा औपचारिक रूपमा स्याङ्जाको सिरुबारी (१७ सय मिटर) बाट सुरु भएको होम स्टे आज गण्डकी अञ्चलका विभिन्न ठाउँमा विस्तार भइसकेका छन् । आठ सयदेखि एक हजार रुपैयाँसम्ममा एक रात बास बसेर दुई छाक खाना र खाजा खाएर ग्रामीण जनजीवनसँगै मनमोहक हिमशृंखला र गाउँले रहनसहनको अवलोकन होमस्टेका आकर्षण हुन् । सुन्दर गाउँमा आफ्नो संस्कृति, सम्पदा र प्रकृतिको संरक्षण गर्दै व्यवस्थित ढंगले होम स्टे चलाएकोले सन् २००१ मा पाटा स्वर्ण पदक र प्रशंसापत्र सिरुबारीले पाएको छ ।
 
बेसीसहरबाट उत्तरपश्चिम लागेर बागलुङपानी, कपुर गाउँ र घले गाउँहुँदै भरिलो हराभरा ठूला फाँट भएको भुजुङ गाउँ (१६ सय ९० मि.) पुगिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने गुरुङहरूको ठूलो घनाबस्ती हो भुजुङ । राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाले चासो राखेर यहाँ चेतना फैलाउने र भौतिक विकासका विभिन्न कार्य गरेका छन् । २०५० देखि नै एक्यापले वातावरण संरक्षण गर्दै सरसफाइ र शिक्षाका क्षेत्रमा आधारभूत तालिम भुजुङवासीलाई दिँदै आएको छ । 
 
टोकोसिमा जापान नेपाल मैत्री संघद्वारा कृषिजन्य उत्पादन ओसारपसार गर्न स–साना तीनवटा रोप–वे स्थापना गरेकाले भुजुङका गाउँलेको दैनिक कार्य सजिलो भएको छ । विभिन्न क्लब र आमा समूहले बच्चा हेर्ने डे–केयर सेन्टर, लघुजलविद्युत्बाट सञ्चालित पावरहाउसको व्यवस्थापन, वृक्षरोपण, अनिवार्य शौचालय र स्नान कोठाको व्यवस्था गरेर ग्रामीण परिवेश जोगाउने कार्य गरेका छन् ।
 
ए–क्यापले चियाको बेर्ना उपलब्ध गराएर भिरालो जमिनमा चियाबगान पनि सञ्चालन गराएको छ । चियाको बजार, बुटाको काँटछाँट र मुना टिप्ने तालिमको अभाव भने देखिन्छ । भीर महको लागि विश्वप्रसिद्ध थलो भुजुङमा हिजोआज घरपालुवा मौरीको महले थोरै भए पनि बजार पाएको छ ।
 
हनी हन्टर्स अफ नेपालनामक पुस्तक सुन्दर जीवन्त फोटोहरूको लागि चर्चित छ । विदेशी लेखन इरिक भ्याली र डायना समरको यो पुस्तकमा प्रकाशित १०४ वटा फोटोले लमजुङको मणिलालको मह काट्ने सामूहिक कार्यलाई जीवन्त दर्शाएको छ । आठ÷नौ महिना लमजुङकै मह सिकारीसँग बसेर तयार पारिएको यो पुस्तकले त्यहाँको गुरुङ समुदायको जीवनशैली र जनावरको सिकारबारे पनि प्रकाश पारेको छ । 
होम स्टेलाई दिगो स्तरीय र सुरक्षित बनाउन गुरुङ महिलाको महत्त्वपूर्ण भूमिका छ । घले र भुजुङ गाउँका महिलाले विशेष अभियान सञ्चालन गरेर प्राकृतिक र सांस्कृतिक सम्पदा बचाउन चेतनामूलक विविध कार्यहरू गरेका छन् । 
भेँडाको ऊनको राडी, पाखी र अल्लोको धागोबाट बनेको कपडाका विभिन्न घरेलु सामानको माग पनि निकै छ । भुजुङ गाउँले प्राकृतिक र सांस्कृतिक सम्पदा दुवैसँगै जोगाएर लगेको छ । वैशाख र चैत्र महिनामा मात्रै आयोजना गरिने सतीघाँटु र बाह्रैमहिना देखाउन सकिने बाह्रमासे घाँटु एवं कृष्ण चरित्र नाटकको संरक्षण र प्रचारप्रसार होम स्टे सञ्चालनद्वारा भएको छ ।
 
गुरुङ र मगर जातिमा प्रचलित घाँटु नाच कन्या केटीहरूद्वारा प्रदर्शन गरिन्छ । घाँटु टोलीका गुरुले मन्द तालमा मादल ठोकेपछि विशेष पहिरन, गरगहना र मुकुट स्वरूपको लावाको टोपी लगाएका कन्या केटीहरूले हातको हाउभाउले सोह्रौं शताब्दीका राजा परशुराम र रानी अम्बानीको कथा गीति नृत्यको रूपमा प्रस्तुत गर्दछन् । 
 
पाहुनाहरूको अनुरोध अनुसार यी चिज आफू बसेको घरकै आँगनमा पनि देखाइन्छ । विशेष संस्कार र पर्वमा गरिने धार्मिक सांस्कृतिक नाचगान आज पाहुनाको अनुरोधमा मञ्चन गरिने भएकोले संरक्षण भएको छ । वर्षको एक/दुई दिन गाउँ बार्ने प्रचलन गुरुङ गाउँहरूमा छ । गाउँ बार्ने दिनमा खाना पकाएर खाने कामबाहेक लुगा धुने, घाँस दाउरा काटने माटो खन्ने खोस्रने काम गरिँदैन । सामूहिक रूपमा ढिँडोको थुप्रालाई प्रकृतिको विभिन्न तत्त्वको प्रतीक मानेर पूजा गरिन्छ ।
 
बेसीसहरबाट गाडीमा तीन÷चार घन्टामा घले गाउँ पुगिन्छ । विदेश र नेपालमा लमजुङको घलेगाउँको होम स्टे प्रसिद्ध छ । काठमाडौंबाट उत्तर–पश्चिम तर्फ दुई सय पाँच किलोमिटर र पोखराबाट उत्तर–पूर्वतर्फ एक सय २५ किमि यात्रा गरेपछि घलेगाउँ टेकिन्छ । समुद्री सतहबाट दुई हजार ९५ मिटर माथि रहेको घले गाउँ प्राकृतिक सुन्दरता, मनमोहक हिमाली दृश्य र घरघरमा पाहुना राख्ने होम स्टे प्रसिद्ध छ । 
 
घलेगाउँमा समूहद्वारा सञ्चालित होमस्टेको सुन्दर व्यवस्था छ । अन्नपूर्ण हिम शृंखला, गणेश हिमाल, लमजुङ हिमाल र मनास्लु हिमाललाई आफू बसेकै घरको झ्याल र आँगनबाट आँखाभरि नियाल्न सकिन्छ । घलेगाउँ भन्दा दुई सय मिटर माथि अवस्थित घनपोखरामा जंगली मह संकलन कार्य पनि अनुकूल मौसममा हेर्न सकिन्छ । लमजुङको विभिन्न गाउँमा स्थानीय परम्परागत तालिम प्राप्त गुरुङ पुरुषहरूले सामूहिक रूपमा भीर मौरीको मह संकलन गर्ने कार्य गर्दछन् ।
 
गाउँ नै गाउँले बनेको नेपालमा ग्रामीण पर्यटनको भविष्य सुन्दर सुनौलो छ । निश्चित दिगो अवधारणा र कार्यक्रम लग्न सकेमा ग्रामीण पर्यटनद्वारा अर्थ आर्जनसँगै प्रत्येक नेपाली आत्मनिर्भर हुन सक्छन् । नेपालका विभिन्न ठाउँमा गठन गरिएको आमा समूहले सक्रिय भएर ग्रामीण पर्यटनलाई टेवा पुर्‌याइरहेका छन् । ग्रामीण पर्यटनकै माध्यमबाट आन्तरिक पर्यटनको प्रचारप्रसार गरेर धार्मिक पर्यटनभन्दा फरक धारमा यसलाई ल्याउनुपर्दछ । 
 
ग्रामीण पर्यटनअन्तर्गत होम स्टे अवधारणालाई गुणात्मक प्रतिफल दिन घले गाउँका सम्पूर्ण बासिन्दा र विशेष गरेर महिलाको भूमिका प्रभावकारी रहेको छ । होम स्टेलाई दिगो स्तरीय र सुरक्षित बनाउन गुरुङ महिलाको महत्त्वपूर्ण भूमिका छ । घले र भुजुङ गाउँका महिलाले विशेष अभियान सञ्चालन गरेर प्राकृतिक र सांस्कृतिक सम्पदा बचाउन चेतनामूलक विविध कार्यहरू गरेका छन् । पुरुष र महिलाको परम्परागत भेषभूषा र गरगहनाप्रति पनि पर्यटकहरूको विशेष अभिरुचि भएकाले त्यसको संरक्षण र संग्रहालयमा समेत प्रदर्शनको विशेष व्यवस्था गरिएको छ ।
 
गाउँलेद्वारा गाउँलेहरूकै फाइदाका लागि निश्चित अवधारणाद्वारा सञ्चालित होम स्टेका प्रमुख आधारहरू यस प्रकार छन् ।
 
–पर्यटनका विविध कार्यक्रमहरू ग्रामीण क्षेत्रमै अवस्थित हुनुपर्ने,
–ग्रामीण मापदण्डमै भौतिक निर्माण गर्ने,
–अत्याधुनिक निर्माण कार्यले प्रकृतिलाई कुरूप नबनाउने,
–स्थानीय बासिन्दाका परिवारका सदस्य भएर घरमा एक÷दुई रात बिताउँदा पालन गर्नुपर्ने मर्यादाबारे जानकारी सहज ढंगले दिनुपर्ने,
–नयाँ पुस्तालाई विदेशको रहनसहन, संस्कृति, कर्मठ र स्वावलम्बी जीवनशैलीबारे बेलाबेलामा जानकारी दिने व्यवस्था गर्ने,
–यातायातको सुविधा र स्तरवृद्धि गर्न स्थानीयहरूले राज्यका सम्बन्धित निकायहरूमा दह्रो ढंगले पहल गरिरहने ।
 
ग्रामीण पर्यटनअन्तर्गत होमस्टेमा संलग्न महिला र अन्य सदस्यलाई मर्यादित एवं आत्मसम्मानपूर्वक काम गर्न सक्ने वातावरण बनाउन स्थानीय र राष्ट्रिय स्तरबाटै नियमावली कार्यान्वयन आवश्यक देखिन्छ । 
 
विदेशी र स्वदेशी पर्यटकलाई होम स्टे व्यवस्थाले जसरी आकर्षित गरेको छ, त्यसलाई अझ प्रभावकारी र दिगो बनाउन यातायातको सुविधा र बाटोको स्तरवृद्धिमा तुरुन्तै सुधार आवश्यक छ । स्थानीय समुदायको आर्थिक स्तर वृद्धि गरेर नवपुस्तालाई गाउँमा, देशमा बस्ने वातावरण बनाउन होमस्टेको ठूलो भूमिका हुन्छ ।
 
२०७२ को अन्तिम महिनामा गरिएको भुजुङ र घलेगाउँको यात्राले नेपालको पर्यटन व्यवसाय विकास गर्ने अवधारणाबारे धेरै सकारात्मक कुराहरू उजागर भयो । मन र तनभरि लालीगुँरास, सेतो र गुलाफी गुँरासहरू फुलाएर गुलियो महको स्वादले जिब्रो पड्काएर प्रसन्न मुद्रामा फर्किएको छु । 
 
पर्यटनद्वारा देशको आर्थिक समृद्धि गर्न यस्ता पर्यटकीय स्थलमा आधारभूत स्वास्थ्यकर्मीसहित स्वास्थ्यचौकी र सुरक्षित बाटो निर्माणमा सरकारको चासो आवश्यक छ ।
/annapurnapost.

, ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता