श्रीलंकाबाट बुद्धको अस्थि धातु आइपुग्यो


budha
काठमाडौ, वैशाख ३१ - तीन वर्षको पहलपछि श्रीलंकाको एक गुम्बाबाट गौतम बुद्धको अस्थि धातु नेपाल ल्याइएको छ । बौद्धनाथ क्षेत्र विकास समितिले काठमाडौंस्थित श्रीलंकाली राजदूतावासको सहयोगमा उक्त अस्थि धातु ल्याइएको हो । शाक्युमुनि बुद्ध जन्मिनुभन्दा अघि नै निर्माण भएको मानिने बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल बौद्धमा अहिलेसम्म बुद्धको अस्थि धातु थिएन ।
क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाका अनुसार श्रीलंकाको क्यान्डीस्थित 'टेम्पल अफ टुथ' बाट उक्त धातु ल्याइएको हो । बुद्धको दाँत सुरक्षित रहेको विहार 'टेम्पल अफ टुथ' संसारमा प्रसिद्ध छ । 'अघिल्ला राजदूत थोसा पाला हेवागेको समयमै पहल थालिएको थियो,' लामाले भने, 'बल्ल सम्भव भयो ।'
यस कामका लागि अहिलेका श्रीलंकाली राजदूत डब्लु एम सिने विरथाना र विहारकै भन्ते शिलारत्न थेरोको सहयोग रहेको उनले जनाए । कुशीनगरमा बुद्धको महापरिनिर्वाणपछि अनुयायीले बुद्धको दाँत र अस्थि विभिन्न थलो लैजाने क्रममा श्रीलंका पुर्‍याएको मानिन्छ ।
अस्थि धातु लिन सम्पूर्ण लामासँगै बौद्ध घ्याङ गुठीका चिनियाँ लामा शेरव दोर्जे, सोनाम लामा र अनुवादक टीका शेर्पाको टोली श्रीलंकाको क्यान्डी पुगेको थियो । नेपाल ल्याएपछि बुद्धको अस्थि धातु बौद्धस्थित गुरु ल्हाखाङ गुम्बामा प्रतिस्थापन गरिएको छ । बुद्ध जयन्ती २५५८ का अवसरमा उक्त धातु बुधबार बिहान ९ बजेदेखि गुम्बामा सार्वजनिक प्रदर्शनीमा राखिने समितिका कार्यकारी निर्देशक फुबु याङजी लामाले जनाइन् ।
'संसारभरका बौद्धमार्गीको पवित्रस्थल बौद्धमा बल्ल अस्थि धातु आइपुग्यो,' अध्यक्ष लामाले भने, 'अब हरेक वर्ष यसको सार्वजनिक प्रदर्शनी गर्नेछौं ।' शताब्दीऔं पुरानो बौद्ध ग्रन्थ 'पेमा कथाङ' अनुसार बौद्ध स्तूपाको निर्माण कश्यप बुद्धको समय सकेर शाक्यमुनि बुद्धको समय सुरु हुने बेलामा भएको हो ।
श्रीलंकाको क्यान्डीस्थित टेम्पल अफ टुथबाट कमलको फूलको बुट्टामा राखी नेपाल ल्याएको बुद्धको अस्थि धातु ।     तस्बिर सौजन्य: सुरज रुम्बा
 

प्रकाशित मिति: २०७१ वैशाख ३१ ०८:४०

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता