लमजुङको पर्यटकीय सिउरुङ गाउँ सडक सञ्जालमा जोडियो
लमजुङ, जेठ ४ - लमजुङको पर्यटकीय सिउरुङ सडक सञ्जालमा जोडिएको छ । स्थानीयवासिन्दाले चन्दा संकलन गर्नुका साथै श्रमदान गरेरै गाउँमा मोटरबाटो सँग सँगै मोटर पुर्याएका छन् ।
जिल्ला विकास समिति, गाविस र विभिन्न निकाय साथै श्रमदान गरेर पनि गाउँमा मोटरबाटो नपुगेपछि देशविदेशका गाउँलेको सहयोगमा स्थानीयवासिन्दाले गाउँमा मोटर पुर्याउन सफल भएका हुन् ।
लमजुङ सदरमुकाम वेसीशहरदेखि झण्डै २२ किलोमिटरको दुरीमा रहेको सिउरुङलाई सडक सञ्जालमा जोड्न कुनैपनि सरकारी निकायको सहयोग विना स्थानीयवासिन्दाले ४ दशमलब ५ किलोमिटर मोटरबाटो निर्माण गरेका छन् ।
उत्तरी लमजुङको खुदीसम्म ७ बर्षअगाडि मोटर पुगेकोमा २०६४ सालदेखि गाउँमा मोटरबाटो लान सिउरुङका वासिन्दा कस्सिएका थिए । खुदीदेखि १४ दशमलब ८ किलोमिटरको खुदी–सिउरुङ मोटरबाटोलाई जिल्ला विकास समिति, गाविस र स्थानीयवासिन्दाको श्रमदानमा खुदीबाट १० किलोमिटरको तल्मूडाँडासम्ममात्रै बनेपछि मोटरबाटोको निर्माणकार्य गएको बर्ष नै स्थगित भएको थियो ।
बाँकी ४ दशमलव ५ किलोमिटर सडकलाई स्थानीयवासिन्दाले २३ लाख १८ हजार ४ सय ७५ रुपैयाँ खर्च गरि स्थानीयवासन्दाले गाउँमा मोटरबाटो पुर्याएका मोटरबाटो निर्माण उपसमितिका अध्यक्ष गणेशबहादुर गुरुङले वताउनुभयो । मोटरबाटो सवैभन्दा बढी ४ लाख २४ हजार २ सय रुपैँया चन्दा दिनुहुने बयोबृद्धा ७७ बर्षिया सुविनी गुरुङले उद्घाटन गर्नुभएको छ । उहाँले आफ्नो बेलायत र अमेरिकामा भएका छोराहरुको सहयोगमा सवैभन्दा बढी चन्दा दान दिनुभएको थियो । गाउँमा मोटर पुगेको अवसरमा स्थानीयवासिन्दाले नाचगान गर्नुका साथै भोज भतेर समेत गरेका छन् । मोटरबाटो गाउँसम्म पुर्याएको अवसरमा ५ हजारभन्दा बढी चन्दा दिने १ सय १३ जनासहित २ सय २२ जनालाई सम्मान गरिएको थियो । जिल्ला विकास समिति लमजुङ, गाविस लगायतका संघसंस्थाको सहयोग र स्थानीयवासिन्दाको श्रमदानले गाउँसम्म मोटरबाटो पुर्याउन नसकेपछि स्थानीयवासिन्दाले घरैपिच्छे चन्दा संकलन गरि गाउँमा मोटरबाटो पुर्याएका हुन् ।
गाउँमा मोटरबाटो पुगेपछि गाउँमा चाहिने मालसामानहरु ढुवानीमा सजिलो भएको छ । पहिले खच्चड वा मानिसलाई भरिया बनाएर धेरै महंगो हुने गरेकोमा गाउँमै मोटर पुगेपछि सामान ढुवानीमा पनि सजिलो भएको स्थानीयवासिन्दाले वताएकाछन् । अहिले गाउँमा मोटर पुगेपछि स्थानीयवासिन्दाले निकै खुसी भएको महसुस गरेकाछन् ।
गाउँमा मोटरबाटो निर्माणका लागि सिउरुङ घरभई हाल बेलायतमा रहनुभएका नन्दबहादुर गुरुङले २ लाख ५ हजार, सिउरुङ घरभई अमेरिकामा रहनुभएका डिल्लीजङ गुरुङले २ लाख ५ हजार, बेलायतमा रहनुभएका गजे घलेले १ लाख ६१ हजार ६ सय ५०, बेलायतमा रहनुभएका आश गुरुङले १ लाख १० हजार १५, बेलायतमा बसोबास गर्ने दलबहादुर गुरुङले १ लाख १ सय ५०, खड्कबहादुर गुरुङले १ लाख १० रुपैयाँ, सिउरुङ घरभई हाल बेसीशहर बस्ने हवल्दार पद्मबहादुर गुरुङले १ लाख, हाल बेलायत रहनुभएका भिमबहादुर गुरुङले १ लाख, सिउरुङ घरभई फिनल्याण्डमा रहनुभएका बिजयकुमार गुरुङले १ लाख, बेलायतमा रहनुभएका मुक्तिबहादुर गुरुङले १ लाख, खुदी गाविस वडा नम्वर ८ अर्खले बस्ने कमानसिं गुरुङले ५० हजार, ताघ्रिङ कालाघिरिङको खरसनमाया गुरुङले ५० हजार ३१, हाल बेलायतमा रहनुभएका सविन गुरुङ ५० हजार १०, हाल सिंगापुरमा रहनुभएका सुभाष गुरुङले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।
२०६५ सालबाट सडक निर्माण गर्न शुरु गरिएको सो सडकलाई यसअघिको सरकारी रकम र स्थानीयवासिन्दाको सहयोगमा तल्मुडाँडासम्म लगिएको थियो । अहिले सरकारी रकम नपाएपछि स्थानीयवासिन्दाले आफ्नै सक्रियतामा सडक निर्माण गरेका हुन् ।
समुद्री सतहदेखि १ हजार ८ सय ५४ मिटरको उचाईमा रहेको सिउरुङ गाउँमा मोटर पुगेपछि सिउरुङमा पर्यटकको संख्यामा बृद्धि हुने र स्थानीयस्तरमा उत्पादित अर्गानिक वस्तुहरुले समेत बजार पाउने अपेक्षा गरिएको सिउरुङ पर्यटन ब्यवस्थापन समितिका सचिव उमरबहादुर गुरुङले वताउनुभयो ।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता