श्रीमतीको मृत्युपछि श्रीमानले तुरुन्तै अर्को बिहे गर्न हुने, श्रीमानको मृत्युपछि श्रीमतीले चाही जिन्दगीभर तड्पिदै शोषण र लाञ्छना खेप्नु पर्ने ?
आज त्यो दिन याद आयो, जब बाल्यकालदेखि जीवनका ओकाली ओराली, दुःखसुखमा सहयात्रा गर्दै आएकी एक अति मिल्ने साथी शिलासँगको क्षणहरु, कहिले पुतली खेल्ने त कहिले गट्टा खेल्ने, स्कुलदेखि घरसम्म हामी सधैँ सँगै हुन्थ्यौँ । बिस्तारै समयले कोल्टे फेर्यो । बाल्य अवस्थाबाट हामीलाई जवानीतिर समयले पुरयायो । छोरी जवान हुँदै जाँदा बुबाआमाको टाउकोमा बोझ भएको महसुस हुन थाल्यो । छिटो छोरीको विवाह गरेर टाउको हलुको गरेर बस्ने बुवाआमाको मनसाय भयो । एकाएक गरेर विवाहको कुरा पनि आउँन थाले ! संयोगले शिला र मेरो विवाह पनि एकै गाउँ एकै ठाउँमा भयो । उनको र मेरो घर १० मिनेटको बाटोको फरकमा थियो । उनको विवाह प्रहरीको असईसँग भएको थियो । उनीहरुको वैवाहिक जीवन पनि एकअर्कामा गहिरो प्रेमका साथ बितिरहेको थियो ।
विवाहको छोटो अवधिमा उनीहरुबिच छोरा र छोरी दुई बच्चाको जन्म भयो । श्रीमान जागिरको सिलसिलामा बाहिर रहँदा शिलालाई प्रतीक्षाको घडी अति पट्यार लाग्दो हुन्थ्यो । यस्तै दिनहरु बित्दै थिए ! २०५६ सालतिरको कुरा हो, देशमा सशस्त्र द्वन्द्व चर्किँदै थियो । एक दिन त्यस्तो कालो दिन आयो, माओवादीको एम्बुसमा परी प्रहरी असई सागरको अकस्मात् निधन भयो । शिलाले आफ्नो प्राणप्यारो जीवनसाथी गुमाउन पुगिन् । उनको जीवनमा ठुलो बज्रपातै भयो । असई सागरको पार्थिव शरीर अन्त्येष्टिका लागि श्मसानघाटतर्फ लगियो । शिलालाई घरमा विधवा बनाउन थालियो । उनका चुराहरू फुटाइयो.. उनका सिँदुर पखालियो । गलाको पोते तथा गहनाहरु फुकालियो । उनको रातो पहिरन झिकेर मानौँ सेतै कात्रो अर्थात् सेतो कपडा पहीरायियो । यो समाजले उनलाई विरूप बनाइदियो । उनको त्यो विधवाको दृश्यले मलाई स्तब्ध बनाइदियो । मेरो मन छियाछिया भयो ।उनको जिबनमा परेको बज्रपात आत्मसाथ गर्न पुगे ! त्यो सेतो कपडमा शिलाको मुहार अझ झनै उज्यालो र सुन्दर देखिएको थियो । उनको रूपमा कुनै कमी आएको थिएन । यो समाजले बनाउन खोजेको विरुपले उनलाई कुनै फरक पारेको थिएन । बिडम्बना उनका जीवनमा दैव पनि निर्दयी भइदियो ।
उनका पहाडजस्ता सङ्घर्षका दिनहरुको सुरुवात भयो । उनका अनुहारमा समाजले मुस्कान हेर्न चाहेन, उनलाई यो समाजले सँधै रोएकै हेर्न चाह्यो तर पनि उनले कहिल्यै आँसु देखाएनन् यस समाजका नजरमा । जति-जति उनका पाइलाहरू अगाड़ि बढ्न खोज्थे, पछाडि नै तान्न खोज्थ्यो यो समाजले । शिलाका ती अगाडि बढ्न खोजेका पाइलाहरूले समाजलाई प्रतिकार गरिरहे र अगाडि बढिरहे । उनलाई जताततै तगारा लगादियो समाजले । जेलको बन्दीजस्तो बनाइदियो यो समाजले । ती तगाराहरूलाई पनि तोड्दै हिँडिरहिन् यस समाजका माझमा । उनका त्यस कलिलो यौवनलाई गिद्दे नजर लगाउने यसै समाजका ती कुदृष्टिहरूलाई कडा रूपमा प्रस्तुत तथा चुनौती दिँदै हिँडिरहिन् यस समाजमा । जताततै उनको एक्लोपनलाई मुख खोलेर बोल्नेहरूको मुख बन्द गर्दै हिँडिरहिन् यस समाजमा । उनलाई अबलाको संज्ञा दियो यस समाजले । तर उनी कहिल्यै पनि अबला अर्थात् बिचरी बन्न चाहिनन् यस समाजमा । के आफ्नो अर्धांगलाई गुमाएकी एउटी पीडित नारी किन दोषी हुन्छे ?
उसको के दोष हुन्छ पतिको मृत्यु हुनमा ? यो प्रश्न छ, यस समाजलाई ! किन सबै तिरबाट शोषण हुन्छे निर्दोष नारी ? यो प्रश्न छ, यस समाजलाई । कुनै युगमा एकैपटक जलाइन्थियो विधवा नारीहरुलाई । तर २१ औँ शताब्दीमा किन जिन्दगीभरि जलाइन्छ ? यो प्रश्न छ, यस समाजलाई । कहिलेसम्म अन्धविश्वासको ढोंग ओडेर हिँड्छ यो शिक्षित भनाउँदो समाज ? यो प्रश्न पनि छ, यसै समाजलाई । उनलाई बाँच्नकै लागि पनि समाजसँग प्रतिकार गर्नुबाहेक अरु विकल्प थिएन । शिला एक शाहासी नारी थिईन् समाज संग प्रतिकार तथा चुनौती गर्ने उनिमा हिक्मत आट थियो ! तर हाम्रो समाजमा कयौ तेस्ता बिधवा नारीहरु समाजको अपहेलित एबं शोसणमा जिउदै मरिरहेका छन् !जति परिवर्तन भए पनि हाम्रो समाजमा विधवा नारीहरुलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आएको छैन । पितृसत्तात्मक समाजको साँगुरो मानसिकताभित्र निर्दोष एकल नारीहरुले यस्ता अनेकौँ अमानवीय व्यवहारको सिकार कहिलेसम्म बनिरहने ? हाम्रो धर्मग्रन्थमा पनि उल्लेख गरिएको छ, नारीपुरुष एक रथका दुई पाङ्ग्रा तथा नारी अर्धाङ्गिनी भनेर । तर बिडम्बना व्यवहारमा भने शून्य छ । प्राचीनकालदेखी नारीहरुलाई दाससरहको व्यवहार गर्दै आएको तितो यथार्थ अहिलेसम्म छँदै छ ।
यदि नारीपुरुष समान भइदिएको भए एक श्रीमतीको मृत्युपछि एक श्रीमानले क्रिया पनि बस्नु नपर्ने, जुठो पनि नलाग्ने, तुरुन्तै अर्को बिहे गर्ने अनुमति प्राप्त हुन्छ । श्रीमानको मृत्युपछि श्रीमतीले चाहिँ जिन्दगीभर उही श्रीमानको नाममा तड्पिदै समाजमा शोषण र लाञ्छना खप्दै जिन्दगी बिताउनुपर्ने ? कहाँ छ नारीपुरुष समानता ? नारीपुरुष समानताको चर्को बहस पाँचतारे होटलमा भएका अन्तरक्रिया, गोष्ठी, सेमिनारमा र भाषणमा मात्र सीमित रहेका छन्, तर शिलाजस्ता कैयौँ नारीहरुको दर्दनाक कहाली लाग्दो कथाव्यथा जस्ताको तस्तै कहिलेसम्म ?
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता