गायनमा नलागेको भए यति बेला म दुराडाँडामा घैया मकै गोडि रहेको हुन्थें–बिमा कुमारी दुरा
लोक गायिका बिमा कुमारी दुराको गाेंगबु स्थित घरमा पुगें । २४ बर्ष देखी निरन्तर नेपाली लोकगितमा योगदान पुर्याउँदै आउनु भएकी गायिका दुराका ‘सरर पानी घट्टमा’, ‘लमजुङ दुर्लुङकोट ‘, ‘बनको काफल बनकै चरीलाई’, ‘खैरेनीमा गेट’ जस्ता कयौं कर्ण प्रिय गितहरु नेपाली संगितका सम्पत्ती हुन् । तिनै गायिका बिमा कुमारी दुराका जिवन भोगाई र संगीत यात्रा आजको ………..।
२०२८ साल बैशाख ९ गते लमजुङको दुराडाँडामा किसान परिवारमा मेरो जन्म भयो । दुराहरुको बाक्लो बस्ति भएको दुराडाँडा गाउँमा त्यो बेला सम्म छोरीलाई पढाउनु पर्छ भन्ने चेतना थिएन । खेती किसानी गरेर हात मुख जोर्नु पर्ने अवस्थाको दुरा समुदायकी छोरी मैले स्कूल जाने रहर भएर पनि पढन पाईन ।
बुझ्ने भएबाट नै घरको काममा सघाउन थालें । बिहान घाँस काट्न गयो, घरमा जे पाक्छ त्यही खायो, दिउसो गाई बाख्रा चराउन गयो, हिलो, मैलो धुलोमा खेल्यो, साँझमा घर फक्र्यो, यस्तै थियो मेरो बाल्यकाल । ११–१२ बर्षको भएपछि खेती पातीको लागि मेला जान थालें । गाउँ तिर पर्म लगाएर घैयाा मकै गोड्ने चलन हुन्छ । सँगैका साथिहरु सँग असारे गीत गाउँदै झम्के झरीमा खेत रोप्न हिड्थें ।
लमजुङतिर चाडबाड अनुसार जात्रा जाने, सत्यनारायणको पुजा लगाउने चलन हुन्छ । गतिलो लुगा हुन्थेन, थाङ्ने लुगा लगाएर भएपनि जात्रा जान भनेपछि हुरुक्क हुन्थें । कतिपटक त घरमा थाहै नदिई भागेर गाउँको पुजा हेर्न जान्थें । सानैबाट गीत गाउन खुब रहर लाग्थ्यो । गीत सुन्ने माध्यम रेडियो मात्र थियो । गाउँमा सबैको घरमा रेडियो पनि हुन्थेन । रेडियो नेपालबाट बजेका लोकगित सुन्दा कसरी गाउँछन होला भन्ने मान्छेहरु जस्तो लाग्थ्यो ।
हुर्कदै गएं, त्यतिबेला महेन्द्र क्लवले जिल्ला स्तरीय र अञ्चल स्तरिय लोकगित प्रतियोगिता राख्ने गर्दथ्यो । त्यहाँ गएर प्रथम भईयो भने बिरेन्द्र शिल्ड पाईन्थ्यो । यो हल्ला मेरो गाउँ सम्म पनि आईपुग्यो । परिवारले मलाई गाउन पठाउने भयो, म जिल्ला स्तरिय लोक गायनमा सहभागि भएर प्रथम भए । त्यसपछि अञ्चल स्तरिय गायन पनि जितें । अब मैले राष्ट्रिय लोक गायनमा भाग लिन पाउने भए । जित्दै त गएँ, तैपनि म पनि गायिका हँुदै छु अब भन्ने सम्म पत्तो थिएन मलाई । काठमाण्डौं आईपुगें । मेरो मामा माईजु लगायत केहि आफन्त हुनुहुन्थ्यो काठमाण्डौंमा । उहाँहरु सँगै बसें ।
त्यो बेला रेडियो नेपालबाट चौतारी, प्रतिभा साँझ र रोदि नामका कार्यक्रम प्रश्तुत हुन्थे । पाण्डव सुनुवार, युक्त गुरुङ, बम बहादुर कार्की दाईहरुले ति कार्यक्रमहरु चलाउनु हुन्थ्यो । त्यसमा गाउँ गाउँबाट आएर गीत गाउँथे मान्छेहरु । त्यो कार्यक्रममा गाउनेहरुले स्वर परिक्षा पास गर्नु पर्थेन । मैले पनि सुरुमा ति कार्यक्रमहरुमा गाएंं । गाउँबाट काठमाण्डौं आएको म यहाँको वातावरणमा अलमल पर्थें । कम बोल्ने बानी मेरो, त्यसमा पनि कोहि नचिनेको । कस्तो हुन्छन आफै सोचौं न । नपढेको, गाउँमा मेला पात गरेर हिड्ने सोझो केटी त हँु म ।
मैले राष्ट्रीय लोकगीत गायनमा पनि स्थान हात पारें । त्यो बेला पहिलो पटक रेडियो नेपालबाट आफ्नो नाम सुन्दा अनौठो र रमाईलो दुबै लाग्थ्यो । स्वर परिक्षा पनि पास गरें त्यो साल । यो २०४७ सालको कुरा हो । रेडियो नेपालबाट पहिलो पटक रेकर्ड भएको पहिलो गीत, ‘दिन गयो, रात पर्दै आयो, कर्कलाको पानी झैं मन भयो’ । आफ्नै शब्द संकलनमा यो गीत गाएर मैले २०४७ सालबाट औपचारिक गायन यात्रा सुरु गरे ।
यता म गायिका भएं, उता गाउँका मान्छेहरु कुरा काट्न थाले । लौ फलानोको छोरीले डाँडा काटि अब बिग्रन्छे भन्नेहरु निस्किए । तर कति मान्छेले चाँहि रेडियोमा मेरो गित बज्न थाले पछि हाम्रो चेली हो भन्दै वल्लो पल्लो गाउँमा पनि सुनाउँदै हिडे । बुवा आमाले मलाई पढाउन नसके पनि गायन क्षेत्रमा साथ दिनु भयो । तँ गीत न गा भनि दिनु भएन । त्यसमा म मेरा वुवा आमाप्रति सँधै ऋणी छु ।
रेडियो नेपालको त्यो बेलाको वातावरण साह्रै आत्मिय थियो । हामी गाउँबाट आएका गायक गायिकालाई अग्रजहरुले माया गर्नु हुन्थ्यो । मेरो स्वर सबैले मन पराउनु हुन्थ्यो । ‘ल बहिनी यो गीत यसरी गाउनु भनेर सिकाउनु हुन्थ्यो । एउटा परिवार जस्तो थियो रेडियो नेपाल भित्रको वातावरण । अहिले जस्तो कसैले कसैलाई वास्ता नगर्ने जमाना त्यो बेला भएको भए म लमजुङ ं नै फर्कन्थे होला । गाउन त म सक्थें साथै त्यो समय जुन हौषला मिल्यो अग्रजबाट, म संधै उहाँहरुप्रति आभारी छु ।
त्यो बेला रेडियो नेपाल जाँदा सबैले सोध्थे, दुरा भनेको के जात हो भनेर ? त्यो समय सम्म कोहि पनि दुराहरु अगाडि आएको थिएन । जति पनि दुराहरु थिए, गाउँमै थिए । त्यसैले दुरा थर अनौठो लाग्थ्यो सबैलाई । मैले गाउन थालेपछि दुरा थर सबैल चिन्न थाले । दुरा थरको ईतिहास थाहा नभएपनि दुरा थर भन्नासाथ गायिका बिमा कुमारी दुरा सबैले सम्झनु हुन्छ ।
बिचमा मैले गायनबाट सन्यास लिने अवस्था आयो । दुःख गरेर कलाकार भएको मैले विवाह पछि गायनमा श्रीमानको साथ कहिल्यै पाईन । म घर सम्हालेर कार्यक्रममा पुग्थें । सबैलाई मेरो श्रीमान यस्तो छ भन्दै हिडनु पनि भएन । छोरी छ, यसकै भविष्यकोलागि पनि सोच्नु पर्यो । सबै श्रोताले माया गरेर आज म बिमा कुमारी दुरा भएको हुँ । कार्यक्रममा बोलाएपछि जानै पर्यो । कहिले काँहि घर आईपुग्न ढीला पनि हुन्छ । श्रीमान जहिले पनि यहि कुरामा झगडा गर्न सुरु गर्ने । सक्दा सम्म घर न बिग्रियोस भनेर नै सोचिरहें । म एउटा लमजुङको सानो गाउँबाट आएको, नपढेको मान्छे । कति मेहनत र दुःखले सबैको मन पर्ने गायिका भए हुला ?
दिउँसो गित गाएर आयो रातभरी घरमा झगडा । अति नै भएपछि ल अब घर बचाउन मैले गाउन छोडनै पर्ने भयो भन्ने सोचें । श्रीमान रोज्ने कि गायन, कुरा यहिँ अड्कियो । एक मन सोचे, छोरी छ, यतिका बर्ष सँगै बसियो, के गर्ने यति नै रहेछ गाउन जस्तो लाग्यो । गाउन छोड्दै छु भन्ने सोच्दा म कति कति रात एक्लै रोए । अन्ततः नगाउने निर्णय गरें ।
जब मैले नगाउने कुरा सञ्चार माध्यममा आयो, देश बिदेशबाट फोन आउन थाल्यो । त्यो बेला मोबाईल पनि थिएन । ल्याण्डलाईन फोन थियो घरमा । दिदि गाउन नछोडनु हामी साथ दिन्छौं भन्नु भयो श्रोताहरुले । मैले राम्रो गाएको रहेछु भन्ने त्यति बेला महशुष गरें ।
सञ्चार माध्यममा चर्को रुपमा मेरो गायकी र गायनबाट सन्यास लिने कुरा उठेपनि घर सम्म आएर मलाई भेटने काम कसैले गरेन । पछि ‘ललितपुर सम्पूर्ण तमु समाज’ नामक संस्थाका साथिहरु आएर ल तपाईले गाउन छोड्नै पाउनु हुन्न, तपाई परिवारको मात्र होईन देशको सम्पत्ति हो भनेपछि मैले फेरी गाउने निर्णय गरें । त्यो बेला माओवादी सरकार थियो । स्थानिय बिकास मन्त्री देब गुरुङले एउटा कार्यक्रममा प्रमुख अतिथी बनाएर बोलाउनु भयो र टिका लगाईदिएर ‘ल बिमा जी आज बाट गाउन सुरु गर्नु फेरी’ भन्नु भयो । केहि समय रोकिएको गायन यात्रा फेरी सुरु भयो मेरो ।
सञ्चार माध्यममा चर्को रुपमा मेरो गायकी र गायनबाट सन्यास लिने कुरा उठेपनि घर सम्म आएर मलाई भेटने काम कसैले गरेन । पछि ‘ललितपुर सम्पूर्ण तमु समाज’ नामक संस्थाका साथिहरु आएर ल तपाईले गाउन छोड्नै पाउनु हुन्न, तपाई परिवारको मात्र होईन देशको सम्पत्ति हो भनेपछि मैले फेरी गाउने निर्णय गरें । त्यो बेला माओवादी सरकार थियो । स्थानिय बिकास मन्त्री देब गुरुङले एउटा कार्यक्रममा प्रमुख अतिथी बनाएर बोलाउनु भयो र टिका लगाईदिएर ‘ल बिमा जी आज बाट गाउन सुरु गर्नु फेरी’ भन्नु भयो । केहि समय रोकिएको गायन यात्रा फेरी सुरु भयो मेरो ।
जुन समस्या मैले भोगे, त्यो नेपालको घर–घरको समस्या हो । मेरो नाम सबैले सुन्नु भएको थियो, त्यसैले मेरो अवस्था बाहिर आयो तर कयौं नेपाली नारीहरु मेरो जस्तै समस्याबाट पिडित छन् । बाहिरबाट हेर्दा फलानोको श्रीमानले साथ दिएको छ, श्रीमान बुझ्ने भएर त्यो केटीले प्रगती गरेको छ जस्तो देखिए पनि हाम्रो समाजमा श्रीमानले श्रीमतीमाथि गर्ने ब्यवहार मेरो भन्दा फरक छैन कतिपय घरमा । भन्नलाई सजिलो हुन्छ, मन नमिले छुटेर बस्नु पर्छ तर बैवाहीक जिवन टुंग्याउनु भन्दा सम्भव भए सम्म मिलेरै जाओस भन्ने हरेक महिलाको चाहना हुन्छ । अन्ततःमैले नचाहंदा नचाहंदै श्रीमान र म छुटियौं । म छोरी लिएर बस्न थालें । मैले श्रीमान त्यागेर गायन नै रोजें ।
विदेशका धेरै कार्यक्रममा गएको छु,, नेपालबाट अर्काको देशमा गएर, रगत पसिना बगाएर श्रमीक भएर कमाएको पैशा उठाएर बिमा कुमारी दुरालाई निम्ता गर्ने प्रवासमा रहेका नेपाली श्रोताहरुको ऋण म कहिल्यै तिर्न नसकुंला ।
विदेशका धेरै कार्यक्रममा गएको छु,, नेपालबाट अर्काको देशमा गएर, रगत पसिना बगाएर श्रमीक भएर कमाएको पैशा उठाएर बिमा कुमारी दुरालाई निम्ता गर्ने प्रवासमा रहेका नेपाली श्रोताहरुको ऋण म कहिल्यै तिर्न नसकुंला ।
काठमाण्डौंको शहरी वातावरणमा रहेपनि लमजुङको बाल्यकाल, त्यहाँका साथिसंंगी, मेलापात, असारे झरी, जेठमा घैया गोडेका बारीहरु सबै–सबै मेरो सम्झनामा कहिल्यै मेटिदैनन् । चाडबाड, पुजा आजा ति भागेर जात्रा जाने गाउँले चलन, हिलो मैलो र थोत्रा लुगा, त्यो सुन्दर दुराडाँडा गाउँ र गाउँलेहरु मेरो मनबाट टाढा छैनन् । परिस्थितीले काठमाण्डौंबाट लमजुङ जान नपाएपनि मैले दुराडाँडा बिर्सेको छैन ।
म गायिका भएं, आज पढे लेखेका कयौं युवा विदेशी भूमिमा श्रम बेचि राख्नु भएको छ । म शिक्षाबाट बञ्चित एउटा पहाडमा जन्मिएकी छोरी, आज केहि गर्न नसकेपनि देशको माटोमा बसेर संगीतको सेवा गरेको छु । भाग्यमानी ठान्छु आफुलाई, म सँगै खेलेका, एउटै थालमा भात खाएका साथिहरु आज पनि दुराडाँडामा घाँस दाउरा गर्दै छन् । म राजधानीमा बस्न पाएको छु, सुःखि नै ठान्छु आफुलाई । गायनमा न लागेको भए यति बेला म दुराडाँडामा घैया मकै गोडि रहेको हुन्थें ।
नेपाली लोकगीतको बिकास सँगै बिकृति पनि बढेको देख्छु । हामी संस्कृतिमा धनी छौं, हामी सँग तिज गित, सोरठी, झ्याउरे, धिमाल आदि थुप्रै नितान्त नेपाली भाकाहरु छन् । तिनको जर्गेना मात्र गर्न सके पनि विश्वमा हाम्रो अलग पहिचान हुन सक्छ । संस्कृतिको नाममा छाडा शब्द प्रयोग गर्ने र हेर्न अप्ठेरो लाग्ने म्युजिक भिडियोहरु बन्नु कमाईको हिसावले राम्रो भएपनि नेपाली संस्कार, सोच र मौलिकता भन्दा बाहिर भएकोले यसलाई हामी सबै कलाकार र कलाप्रेमीले बुझनु जरुरी छ ।
हाम्रो पालामा जस्तो गाह्रो छैन अहिले गित गाउन, धेरै सञ्चार माध्यम र स्टुडियोहरु छन् । कति भाई बहिनीहरु दिदि मलाई नि गाउन मन छ सहयोग गर्नु भन्नु हुन्छ, सहयोग गर्न मन भएर पनि सक्ने अवस्था छैन म सँग । नयाँ भाई बहिनीले म सँग सहयोग माग्दा मैले गायन क्षेत्रमा प्रवेश गर्दाका दिनहरु सम्झन्छु । पहिले जस्तो ४–५ जना एकै ठाउँमा बसेर गाउने रेडियो नेपालको जस्तो वातावरण भएको भए राम्रो स्वर हुने लाई आफ्नै छेउमा राखेर पनि गाउने मौका दिन सक्थें होला तर अहिले त्यो जमाना रहेन । त्यसैले जो गाउन भनेर आउँदै हुनुहुन्छ उहाँहरु संगीतको अध्ययन गरेर आए साह्रै राम्रो र सजिलो हुन्छ तर भन्न जस्तो सजिलो छैन् ।
गाउँ गाउँमा अझै पनि छोरीलाई गीत गाउन अनुमती छैन । हामी शहरमा छौं, समाज अगाडि पुगी सक्यो जस्तो लाग्छ तर अझै कयौं नेपाली ग्रामिण भेग शिक्षा र चेतनामा पछाडि नै छ । सबैलाई यहि भन्छु, मेहनत, लगनशिलता, धैर्यता र अनुशासन लिएर संगितमा प्रवेश गर्नु, ढिलो चाँडो सफल भईन्छ ।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता